|
फोटो : शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली १५ दिनदेखि गायब छन्। 

बरबरिया र नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ। मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैनन्। 

स्रोतका अनुसार मेयर बरबरिया काठमाडौंमा छन् भने लेखापाल नेपाली कहाँ छन् भन्ने विषयमा कर्मचारीहरु अनभिज्ञ छन्। अधिकृत धीरेन्द्र कर्णले मेयर बरबरिया कार्यालय नआएको विषयमा जानकारी नभएको बताए। उनले भने, ‘मेयर साहब काठमाडौं गएका जानकारी पाएको छु। तर आधिकारिक जानकारी छैन।’ 

यता उपमेयर शिला कापरले मेयर बरबरिया १५-१६ दिनदेखि कार्यालय नआएको बताइन्। उनले भनिन्, ‘उहाँ (मेयर) काठमाडौं जानुभएको छ। कहिले आउनुहुन्छ भन्ने कुरा थाहा छैन।’ 

मेयर कार्यालयमा सात दिनभन्दा बढी अनुपस्थित रहनुपरेमा उपमेयरलाई निमित्तको जिम्मेवारी दिनुपर्ने प्रावधान छ। तर मेयर बरबरियाले उपमेयरलाई निमित्त दिएका छैनन्। उपमेयर कापरले पनि निमित्तको जिम्मेवारी नदिएको प्रतिक्रिया दिइन्।

लेखापाल नेपाली पनि अनुपस्थित हुँदासमेत प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएका छैनन्। अधिकृत कर्ण भन्छन्, ‘लेखापाल कहाँ छन् मलाई केही थाहा छैन। अनुपस्थित भएको लामो समय बित्दा पनि कुनै जानकारी गराउनुभएको छैन।’ तर उपमेयर कापरले लेखापाल नेपाली बिरामी परेका कारण बिदा लिएको बताएकी छन्। 

अधिकृत कर्णले मेयर र लेखापाल अनुपस्थित हुँदा दैनिक कैयौं सेवाग्राही कार्यालयबाट फर्किने गरेका बताए। उनले भने, ‘मालपोत कटाउन र विभिन्न दस्तुर तिर्न आउने सेवाग्राहीहरु फर्किने गरेका छन्।’

मेयर र लेखापाल कार्यालय नआउँदा बाँकी रहेका असारका योजना पनि फर्छ्योट हुन नसकेको उनको भनाइ छ। यस्तै वडा नम्बर ३ का अध्यक्ष नागेन्द्र मण्डलले मेयर, उपमेयर र लेखापाल कार्यालय नआउँदा सामाजिक सञ्जाल फेसबुकमै गुनासो गरेका छन्। 

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर,’ वडाध्यक्ष मण्डलले लेखेका छन्, ‘सन्दर्भ शहिदनगर नगरपालिकाका मेयर, उपमेयर लेखा। जनताको कामकाज छाडेर काठमाडौं गई सरुवा–बढुवामा व्यस्त। हामी जनप्रतिनिधिका काम काज के हो कहिले बुझ्ने कुनी।’

स्रोतका अनुसार अधिकृत कर्ण र अन्य केही कर्मचारीसँग कुरा नमिल्दा उनीहरुको सरुवा गराउन मेयर बरबरिया काठमाडौं पुगेका छन्। उनी नेकपाबाट निर्वाचित मेयर हुन्।

अहिले नेकपाकै नेतृत्वमा संघीय सरकार रहेको छ। सोही कारण मन्त्रीसँग हारगुहार गरी अधिकृत र कर्मचारीको सरुवा गराउन काठमाडौं पुगेका हुन्। ‘मेयर बरबरियाले गर्न नहुने कामका लागि पनि अधिकृत र कर्मचारीलाई दबाब दिने गर्छन्’, एक कर्मचारीेले भने, ‘तर हामीले गलतको साथ नदिँदा हामीलाई सरुवा गराइदिने धम्की दिनुभएको छ। सरुवा गराउनकै लागि उहाँ काठमाडौं पुग्नुभएको छ।’ यस विषयमा मेयरसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा हुन सकेन। लेखापाल नेपाली पनि सम्पर्कमा छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.