जिप बगाउँदा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

|

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोइली नदीले विद्युत प्राधिकरणको जिप बगाउँदा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। जिपसँगै बेपत्ता परेका फ्युज शाखा प्रमुख कृष्ण पौडेलको शव शुक्रबार फेला परेको छ।

शुक्रबार दिउँसो ३ बजे बुद्धभूमि नगरपालिका २ कुटीस्थित वाणगंगा नदीमा फेला परेको छ। वनमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाणगंगा नगरपालिकाका स्थानीयले शवको पहिचान गरेका छन्। पौडेल शितगंगा ३ स्थायी ठेगाना भई हाल बाणगंगा २ जितपुर बस्दै आएका थिए।

शव फेला परेको स्थल घटना स्थलदेखि १० किमि दक्षिण रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति धुव्र बहादुर कार्कीले बताए। बाणगंगा नदी किनारमा रहेका ढिस्कोमा शव अड्किएर रहेको थियो।

बुधबार दिउँसो ४ बजे विद्युत् मर्मत गरी फर्किँदै गरेको बेला बा१ञ १०८९ नम्बरको जिपलाई कोइली खोलाले बगाएको थियो। बाणगंगा नगरपालिका वडा नं ७ र ९ को सिमाना पर्ने मोतीपुर कजवे तर्ने क्रममा जिप बगाएको थियो। जिपमा ६ जना सवार रहेका थिए। तीमध्ये ३ जना बँच्न सफल भएका थिए। विद्युतका २ कर्मचारीसहित ३ जना जिपसँगै बेपत्ता भएका थिए।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विद्युत् प्राधिकरणका गोताखोर टोली प्रयोग भएको थियो। सवारी चालक माधव पाण्डेको शव बुधबार घटनास्थलमा फेला परेको थियो। शितगंगा १३ सिमलपानीका केशव भाट क्षत्रीको शव घटना स्थलदेखि ६ किमि टाढा बाणगंगा ६ सुठौलीमा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.