भद्रपुर : झापा कारागार भद्रपुरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। शुक्रबारमा जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये कारागारका सात कैदी बन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जना, झापा गाउँपालिकाका दुई जना स्थानीय र बिर्तामोड, शिवसताक्षीका एक एक जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरिएको थियो।
मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा १७ जनामध्ये एक महिला र ९ पुरुष गरी १० जनाको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।
कारागारका ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदी बन्दी र प्रहरी रहेका छन्। कारागारभित्र कोरोना फैलिएपछि स्वास्थ्यकर्मीको टोलीले जाँच कार्यलाई तीव्रता दिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। भेटघाट बन्द राखिएको कारागारभित्र कसरी कोरोना फैलियो भन्ने विषयमा हामीले पनि अनुसन्धान गरिरहेको उनले बताए।
संक्रमण पुष्टि भएका कैदी बन्दी र प्रहरीलाई मेची अस्पतालको कोभिड अस्पतालमा पठाइएको छ। त्यस्तै बिर्तामोड नगरपालिका ५ बस्ने ६० वर्षीया स्थानीय महिलालाई कोरोना देखिएको छ।
त्यस्तै शिवसताक्षी नगरपालिका १ बस्ने ७१ वर्षीय पुरुष वृद्ध र झापा गाउँपालिका ६ बस्ने १७ र ५२ वर्षीय स्थानीय पुरुषमा कोरोना देखिएको हो। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ८ सय ३६ पुगेको छ। जसमध्ये ७ सय ५७ जना उपचारपछि घर फर्किसकेका छन्। कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।