|

बागलुङ : गाउँ नै पहिरोको जोखिममा परेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटमा दूध उत्पादन घटेको छ। किसानले घरगोठनै छोडेर हिँडेका छन्। भदौ २८ र २९ गते बिहान वर्षासँगैको पहिरोले टुनिबोट गाउँका ८ घर पुरिएका छन्।

विस्थापित परिवारले पालेका गाईभैसी धमाधम बिक्री गरिरहेका छन्। बागलुङ कुश्मीशेरा सडकको टुनिबोट खण्डमा मात्रै दर्जन बढी पहिरो खसेका छन्।सडकभन्दा तल्लो भागमा रहेका सबै घरमा बस्ने सर्वसाधारण घर छोडेर आफन्तकोमा शरण लिएर बस्न थालेपछि दूधको उत्पादन घटेको स्थानीय केदार पौडेलले बताए।

टुनिबोटका किसान बागलुङ नगरपालिका–१२ अमलाचौरको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएर व्यवसायिक रूपमा दूध उत्पादन गर्दै आएका थिए। टुनिबोटमा रहेको सहकारीको दूध संकलन केन्द्रमा मात्रै हरेक दिन ३ सय लिटर दूध संकलन हुने गरेको थियो।

‘मान्छेकै ज्यान कसरी जोगाउने भन्ने अवस्था आयो, गोठ खाली गरेर पालेका चौपाया बेच्न थालेका छन्’, दूध संकलन केन्द्रका व्यवस्थापक विकास पौडेल भन्छन्, ‘सारा गाउँ नै हिँडेपछि रोजागरीसमेत खोसिने चिन्ता छ।’ पहिरोले पुरिएका घरका सबै गाईभैंसी बिक्री भैसकेकाले अहिले दैनिक एक सय लिटर दूध घटेको छ। 

आसपासमा जोखिममा रहेका घरहरुले समेत गाईभैंसी बिक्री गरेर घर छोड्ने तयारीमा रहेको स्थानीय अर्जुन पौडेल बताउँछन्। 

‘दूध टुनिबोटका लागि स्वरोजगार बनाउने गतिलो माध्यम थियो, एक दुईवटा गाईभैंसी पाल्नेले समेत घर खर्च चलाउँथ्यौं’ पौडेल भन्छन्, ‘ऋणै काडेर भए पनि ज्यान जोगाउनुप¥यो, पहिरोमुनि बस्न सकिन्न, गोठ खाली गरेर सुरक्षित बासस्थानको खोजीमा लाग्दैछौं।’ 

तत्कालका लागि वर्षा रोकिए अर्को वर्षाको समयसम्म यहाँको दूध उत्पादन ३ सय लिटरबाट घटेर ५०÷६० लिटरको हाराहारीमा आउने व्यवस्थापक पौडेल बताउँछन्। टुनिबोटमा अन्य पेसा व्यवसायमा रहेकाले समेत दूध उत्पादनमा निकै उत्साहपूर्ण सहभागिता जनाउँदै आएका थिए। टुनिबोटबाट बिक्री हुने दूधबाट मासिक ८ लाख रुपैयाँ गाउँ भित्रिने गरेको थियो। 

ढुवानी, संकलन र व्यवस्थापनमा तीन जना युवाले रोजगारी पाएका थिए। दूधको उत्पादन घटेसँगै आम्दानी र रोजगारी दुवै गुम्ने पौडेल बताउँछन्। यहाँका किसानले नगरपालिकाको सहायतमा बनाएको कृषि उपज संकलन केन्द्रमा पनि पहिरोले क्षति पु¥याएको छ। पाँच लाख रुपैयाँ खर्चेर बनेको भवनमा क्षति पुगेपछि किसान चिन्तामा छन्। 

जैमिनी नगरपालिकाले पहिरोका कारण किसानलाई परेको मर्काको मूल्यांकन गरेर मात्रै राहत दिने जनाएको छ। ‘हामी अध्ययन गरेर राहत दिन्छौं’, नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘क्षतिको आधारमा हाम्रो स्रोत परिचालन हुन्छ।’ 

भदौ २८ को पहिरोमा स्थानीय ६० वर्षिया लक्ष्मी पौडेल र भदौ २९ गतेको पहिरोले घर पुर्दा ६५ वर्षीया हरिकृष्ण पौडेलको मृत्यु भएपछि गाउँ नै शोकमग्न छ। पहिरोले टुनिबोटको खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको छ भने सडकभन्दा माथिको भाग ठाउँ ठाउँमा धाँजा फाटेकाले सडकमुनिका घरहरु विस्थापित हुने अवस्थामा छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.