|

गुल्मी : इश्मा गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा एक हप्तादेखि कांग्रेसले ताला लगाएको छ।

 विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति गर्दा गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेर मनपरी तरिकाले गाउँपालिकाअध्यक्ष लक्ष्मण विष्टकी बुहारीलाई नै प्रध्यानाध्यापक बनाएको भन्दै त्यसैको विरोधमा कांग्रेसले ताला लगाएको हो। 

विद्यालयमा प्रअका रुपमा काम गर्दै आएका निरबहादुर विष्टले भदौ १४ गते अवकाश पाएसँगै उक्त विवाद ​उत्पन्न भएको हो। गाउँपालिकाले गाउँपालिका अध्यक्षकी बुहारी शोभा विष्टलाई सीधै प्रध्यानाध्यापक नियुक्त गरेकोले आफूहरुले त्यसको विरोधमा तालाबन्दी गरेको कांग्रेस इश्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताए।  

विद्यालयमा पटक पटक  ताला 

सुन्तलादेवी निमाविमा तीन पटक ताला लागेको छ।  सुरुमा असोज २ गते कांग्रेसले विद्यालयको तालामाथि ताला लगायो। त्यसपछि ३ गते कांग्रेसले लगाएको ताला अभिभावकहरुले तोडेका थिए। त्यसको अर्को दिन ४ गते कांग्रेसले उक्त ताला तोडेर अर्को ताला लगाएको छ। 

शैक्षिक योग्यताको आधारमा नियुक्ति : अध्यक्ष विष्ट

​गाउँपालिका अध्यक्ष लक्ष्क्ष्मण विष्टले आफ्नी बुहारी मात्र नभएर शैक्षिक योग्यताका आधारमा प्रअ नियुक्त गरेको बताए। अर्का शिक्षक जिसी एसएलसी मात्र उत्तीर्ण भएका र शोभा विष्ट स्नातक उत्तीर्ण भएकोले शैक्षिक योग्यताको आधारमा विष्टलाई नै गाउँकार्यपालिकाले प्रअ नियुक्त गरेको बताए। 

न्यून योग्यता भएको व्यक्तिलाई प्रअ बनाउने कांग्रेसको एजेण्डा गाउँपालिकालाई मान्य नहुने उनले बताए। विद्यालयको ताला तोडेर कांग्रेसले ताला लगाएको भन्दै अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को मुद्दा दर्ता भएको छ। 

यता प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यसअघि बोलाएको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व नभएको र अर्को बैठक आइतबार बोलाइएको जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.