बलात्कारसहित तीनवटा अभियोग लागेको थियो

|

काठमाडौं : रामेछापको लिखु-तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन्। 

शरीर बन्धक, बलात्कार र ठगीको अभियोगमा एक महिनाअघि पक्राउ परेका अध्यक्ष खड्कालाई थुनछेकको बहस सकिएपछि  जिल्ला अदालत रामेछापले शुक्रबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको स्रेस्तेदार रामचन्द्र मण्डलले जानकारी दिए। 

अदालतले बलात्कार अभियोगमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने आदेश दिएको हो। अदालतले ठगी मुद्दामा ५० लाख रुपैयाँ र शरीर बन्धक मुद्दामा २ लाख रुपैयाँ धरौटी पनि खड्कासँग माग गरेको छ।

खड्काको पक्ष र विपक्षमा आज नौ जना वकिलहरूले थुनछेक बहसमा भाग लिएका थिए। पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो। अदालतमा दुवै पक्षको बयान गरिएसँगै जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

जिल्लाकै धोबी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले अध्यक्ष खड्काविरुद्ध शरीर बन्धक तथा अपहरणको उजुरी दिएका थिए।

त्यसपछि उनलाई गत साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो। त्यससँगै गाउँपालिकाकै एक स्थानीयले जग्गा ठगीको उजुरी दिएका थिए। खड्काविरुद्ध गाउँपालिकाकै एक युवतीले आफूलाई १० महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.