|

जनकपुरधाम : प्रदेश २ सरकारले अबिलम्व प्रहरी समायोजन गर्न संघीय सरकारलाई पत्र पठाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई पत्र पठाएका हुन्। 

ऐन निर्माण भए पनि प्रहरी समायोजनतर्फ संघीय सरकारले चासो नदिएको भन्दै शुक्रबार मन्त्री यादवले गृहमन्त्री थापालाई पत्र पठाएका छन्। ऐनबमोजिम प्रदेश प्रहरीको परिचालन, खटनपटन लगायतका कार्य प्रदेश सरकारमार्फत गराउन पत्रमार्फत माग गरिएको छ। ऐन बनेको ८ महिना बितिसक्दा पनि प्रहरी समायोजन गर्नेतर्फ चासो नदिएको पत्रमा आरोप लगाइएको छ।

पठाएको पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा १२ (१) मा प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण प्रदेश सरकारले गर्ने छ भन्ने स्पष्ट व्यवस्था गरेको छ।’ 

सोही ऐनको दफा १२ (२) मा प्रदेशको आन्तरिक शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुने व्यवस्था रहेको पनि पत्रमा उल्लेख गरिएको छ।

प्रहरी समन्वय ऐन राष्ट्रपतिबाट २०७६ माघ २८ गते नै प्रमाणीकरण भइसकेको छ। उक्त ऐन कार्यान्वयनमा आएको पनि झण्डै आठ महिना बितिसक्यो। तर कानुनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुन नसकेको पत्रमा भनिएको छ। प्रहरी परिचालन तथा खटन पटनको सम्बन्धमा पनि समन्वय हुन नसकेको पनि पत्रमा उल्लेख छ।

प्रदेशमा प्रदेश प्रहरी ऐन समेत विद्यमान रहेको र प्रहरी समायोजन ऐन, २०७६ समेत कार्यान्वयनमा गइसकेको अवगत संघीय सरकारलाई पत्रमार्फत गराएको छ। कोभिड १९ को कारणले प्रहरी समायोजनमा केही ढिलाइ हुन गए पनि प्रदेश प्रहरीको संरचना कार्यान्वयनमा आइसकेको पत्रमा लेखिएको छ।

‘संविधानको अनुसूची ६ को क्रम संख्या १ ले प्रदेशको शान्ति सुरक्षा प्रदेशको एकल सूचीमा राखेको अवस्था छ,’ मन्त्री यादवले पठाएको पत्रमा भनिएको छ, ‘अतः नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ कार्यान्वयनको सन्दर्भमा दफा १२ (१) र १२ (२) बमोजिम प्रदेश प्रहरीको परिचालन, खटनपटनलगायत कार्य प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत गर्न गराउन आवश्यक व्यवस्थापन तथा हस्तान्तरण यथाशीघ्र गर्नु हुन अनुरोध छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.