चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन

|
फाइल फोटो

काठमाडाैं : सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ बढाएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो। साधारणतया विभागले ४/५ वटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको छ।

विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन्। चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकी छँदै विभागले अनुगमनलाई सक्रिय रुपमा बढाएको हो।

विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताए।

त्यस्तै विषयत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिति बढाउन निर्देशन दिएको उनले बताए। यस्तै, सबै प्रदेश र स्थानीय तहलाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको बताए। 

बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले स्पष्ट पार्नुभयो। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने उनकाे भनाइ थियो। 

विभागले चाडपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यसपछि क्रमशः सबै प्रदेशहरुमा बजार निरीक्षण अधिकृतहरुलाई प्रशिक्षण दिन लागिएको उनकाे भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.