बैतडी :युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्दै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको हो। यता, महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइको प्रतियोगितामा लगातार दोस्रो हार हो। दिल्लीसँग पनि हार ब्यहोरेपछि चेन्नई यतिखेर तालिकाको पाचौं स्थानमा झरेको छ।
दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो। उसका लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाए। दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो। बलियो शुरूवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए। टिमको स्कोर १०३ रन पुग्दा पृथ्वी पनि व्यक्तिगत अर्धशतकीय पारी खेलेर ६४ रन बनाउँदै पेभेलियन फर्किए।
त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे। टिमको स्कोर १६१ रन हुँदा ऐयर २६ रन बनाएर आउट भए। ऋषभ पन्त ३७ रनमा नटआउट रहे। चेन्नाईका पिउस चावलाले दिल्लीको २ विकेट लिए।
शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।