|

भक्तपुर : मध्यपुर थिमिको विभिन्न स्थानमा केही समय यता श्रृंखलावद्ध रुपमा अमेरिकी डलर देखाई विभिन्न व्यवसायी, व्यापारी र विदेशबाट आएका व्यक्तिहरुलाई लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित पाँचजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ छन्। त्यसैगरी बाह्रबिसे–६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन्।

उनीहरुको साथबाट दुई लाख ४२ हजार ९३५ रुपैयाँ, विभिन्न कम्पनीका पाँच थान मोबाइल, दुई थान मोटरसाइकल र डलर भनी झुक्काउन तयार गरिएको कागजको बिटो दुई बण्डल समेत बरामद गरेको छ। उनीहरुले व्यापारी, व्यवसायी र विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र डलर सस्तोमा साटिदिन्छु भनी बहाना बनाएर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ। 

सोही क्रममा गत भदौ ८ मा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिक काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई पाँच लाख रुपैयाँ लुटपाट गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए। उक्त घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार साँझ मध्यपुर थिमि–९ बाट प्रहरीले आठजनालाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा तीनजनाको लुटपाटको घटनामा संलग्नता नदेखिएपछि तत्काल छाडिएको प्रनाउ गिरीले बताए।

प्रहरीले घटनामा संलग्न अन्यको खोजी गरिरहेको जनाएको छ। यसअघि भक्तपुरमा गत साउन ८ मा मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा नम्बर ५ मा साउन १९ मा चार लाख, वडा नम्बर २ मा भदौ ३१ मा पाँच लाख, वडा नम्बर ९ बोडेमा असोज ६ मा नौ लाख ८० हजार रुपैयाँ लुटपाट भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.