|

सल्यान : सल्यानको सामुदायिक विद्यालयका शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन्। शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदानका शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गत आर्थिक वर्षको साउनदेखि अहिलेसम्म पारिश्रमिक नपाएको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालयका शिक्षक ओमप्रकाश बुढाथोकीले बताए। शून्य तथा एक मात्र दरबन्दी भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले गत शैक्षिक सत्रको साउनदेखि पारिश्रमिक नपाएको उनको भनाइ छ। एक वर्षदेखि पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन निकै समस्या भएको उनले बताए।

एक वर्षदेखि तलब नपाउँदा पारिश्रमिक पाउने नपाउनेमा आफूहरु अन्योलमा परेको शारदा आधारभूत विद्यालय केउरेनीका गणित शिक्षक चन्द्रबहादुर बिसीले बताए। उनले भने, ‘छाडेर जाने हो पहिले विद्यार्थीको भविष्य अन्योल पर्ने नछोडाँैं आफ्नो भविष्य अन्योलमा परिरहेको छ।’

पारिश्रमिक आउने नआउने बारेमा मन्त्रालयले हालसम्म कुनै जानकारी नगराएको शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति जिल्ला संयोजक दीपेन्द्रप्रकाश वलीले बताए। सूचना माग्दा समेत सूचना नदिएर मन्त्रालयले सूचनाको हकमाथि समेत ठाडो उल्लंघन गरेको उनको भनाइ छ। उनले भने, ‘अनुदान शिक्षकहरुलाई पारिश्रमिक दिन पटकपटक मन्त्रालयमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ भएको छैन।’ 

सल्यानमा दश स्थानीय तहका विभिन्न विद्यालयमा ९७ शिक्षकले एक वर्षदेखि तलब नपाएको वलीको भनाइ छ। माध्यमिक तहमा पढाउने शिक्षकले चालु आर्थिक वर्षदेखि पारिश्रमिक नपाए पनि प्रावि र निमावि तहका शिक्षकले एक वर्षदेखि पारिश्रमिक नपाएको उनले बताए। वलीका अनुसार मावि तहमा २९, निमावि तहमा ६० र प्रावि तहमा आठजना शिक्षक रहेका छन्।
 
एक वर्षदेखि रोकिएको शिक्षकहरुको तलब कात्तिकभित्र आउने मन्त्रालयले जानकारी गराएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लालबहादुर घर्तीले बताए। ‘उहाँको पारिश्रमिक मन्त्रालयले सिधै स्थानीय तहको खातामा पठाउने गर्छ,’ उनले भने, ‘असोजको अन्तिम देखि कात्तिकसम्म पठाउने तयारी गरेको जानकारी पाएको छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.