विराटनगरका मेयर भन्छन्, ‘पुल हाल्नुपर्ने ठाउँमा भारतले ड्याम बनायो’

|

विराटनगर : एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित रूपमा बाँध बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ।

सामान्य वर्षाको पानी समेत निकास हुन नसक्ने गरी बाँध बनाउँदा विराटनगर-१३, १४, १५, १६, १७ र १८ वडाका सबैजसो क्षेत्र डुबानमा परेको हो। वर्षामा जमेको पानी जाने निकास नहुँदा तीन वर्षयता स्थानीयले डुबान समस्या झेल्दै आएका छन्‌।

​‘भारतले आइसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला बाँध बाँध्यो। तर निकासका लागि नाला राखिदिएन,’ विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादव भन्छन्‌, ‘निर्माण गर्दा हामीसँग सल्लाह पनि गरिएन।’ विराटनगर-१८ भारतसँग सीमा जोडिएको क्षेत्र हो।

आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन्।

स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुबानमा परेको अध्यक्ष यादवले बताए। ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं, प्रशासनलाई गुहार्‍यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्‌, ‘हाम्रो कुरा कसैले सुनेन, अहिले डुबान भोग्दैछौं।’

डुबानका कारण खेतीयोग्य जमिन जलमग्न भएको छ। रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए। भारतले अघोषित रूपमा बनाएको बाँधका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा पर्ने गरेको छ।

बुधनगर क्षेत्रमा डुबानको समस्या धेरै पुरानो होइन। भारतले ड्याम बनाएपछि तीन वर्ष यतामात्रै स्थानीयले डुबान भोग्‍न थालेका हुन्‌‌। निकास नाला नहुँदा असारको पानी असोजसम्म जमेर बस्छ। ‘यहाँ असोजसम्म डुबान हुन्छ,’ स्थानीय अशोक यादव भन्छन, ‘हाम्रो समस्या कसले सुनिदिने?’

किशोर मण्डल बुधनगरमा पसल सञ्चालन गर्दै आएका छन्। उनको पसल डुबानमा परेपछि सडकबाट पसलसम्म पुग्न आफैंले बाँसको पुल बनाएका छन्‌। ‘मेरो दोकान पहिले डुब्दैन थियो,’ उनले भने, ‘आइसीपीसम्म जाने सडक र रेल्वे लिकको बहानामा ड्याम बनाएपछि पसल डुब्न थाल्यो।’

मेयर भन्छन्, ‘आइसीपीका नाममा भारतले ड्याम बनायो’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले आइसीपी र रेल्वे लिकका नाममा ड्याम बनाएका कारण बुधनगर क्षेत्र डुबानमा परेको बताउँछन्‌।

​उनले आइसीपी निर्माण गर्दाको समयमा भारतले सो क्षेत्रका पुल बनाउने ठाँउमा ड्याम बनाएकाले डुबानको समस्या देखिएको बताए। ‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘हामीले निकासका लागि पुल बनाउन भन्दैछौँ, संघीय सरकारले पहल गरेको छैन।’

सीमा क्षेत्रमा निर्माण गरेको आइसीपीसम्म पुग्न लिङ्क रोड बनाइएको छ। करिब चार किलोमिटर लिङ्क रोडमा निकासका लागि बनाइएको नालामा पानी कट्न मुस्किल पर्छ। रेल्वे लिकका लागि ड्याम बनाइएको छ। ड्याममा बनाइएको निकास नाला पनि उच्च स्थानमा छ।

 

रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकासका लागि पुल नबनाएसम्म विराटनगर- १८ मा डुबान समस्या समाधान नहुने उनले बताए। ‘प्रदेश सरकार र संघीय सरकारलाई भनेका छौं,’ उनले भने, ‘डुबानको समस्या समाधान गर्न सरकारले पुल बनाइदेओस्।’

आइसीपी क्षेत्रमा पुल नबनाएसम्म डुबानको समस्या समाधान नहुने बताउँदै उनले तत्काल संघीय सरकारले पुल बनाउन पहल गर्नुपर्ने बताए। ‘विराटनगरको अन्य क्षेत्रमा समस्या छैन,’ उनले भने, ‘आइसीपीका कारण बुधनगरमा डुबानको समस्या हो।’

२५ सय घर परिवार डुबानबाट प्रत्यक्ष प्रभावित

सामान्य वर्षा हुँदा पनि पानीको निकास नहुँदा महानगरका दक्षिणी क्षेत्रका  १३, १४, १५, १६, १७ र १८ वडाका २५ सय घर परिवारले डुबानको समस्या झेल्दै आएका छन्‌।

​चार वर्षयता आफूहरु बसोबास गरिरहेको क्षेत्र डुबानमा परिरहेको र समस्या समाधान निम्ति सम्बन्धित निकायसँग आग्रह गर्दा चासो नदिएको स्थानीयको गुनासो छ।

असोज लागेसँगै शुरू भएको झरीले घर र सडक डुबाएपछि विस्थापित भएका स्थानीयले बिहीबार रानी-विराटनगर सडक खण्डमा चक्काजाम गरेका थिए। स्थानीयबासी सडकमा उत्रिएपछि स्थानीय निकायका प्रमुख प्रभावित क्षेत्रमा पुगेका थिए।

‘सामान्य वर्षा हुँदा पनि डुबानको समस्याले हामी बसाइँ सर्ने अवस्थामा पुगेका छौं,’ स्थानीय रामवीर शर्माले भने, ‘चुनाव ताका जनताको समस्या सुल्झाउने बाचा गरेका नेताहरुले चुनाव जितेपछि सबै बाचा झुल्ने गरेका छन्‌, डुबानको समस्या भोग्न थालेको चार वर्ष भयो,अहिलेसम्म कुनै पनि व्यवस्था गरिएको छैन।’

विराटनगर- १५ का अध्यक्ष असलम आलमका अनुसार पछिल्लो समय ६ लेनको सडक परियोजना र एकीकृत भन्सार जाँच चौकीको निर्माण शुरू भएसँगै सो क्षेत्रमा समस्या देखिन थालेको हो। बस्तीभन्दा माथि सडक छ। पानी निकासीका लागि ६ लेन सडक परियोजना र आइसीपीको लिङ्कको रोडमा पर्याप्त साइफन नहुँदा डुबान भएको उनले बताए।

अध्यक्ष आलमले कोशी राजमार्गमा पहिले पानी निकासीका लागि १० वटा साइफन थियो। तर सडक परियोजनाले चार वटामात्र साइफन बनाएका कारण समस्या भएको छ।

‘पश्चिमी क्षेत्रबाट निकासी हुनुपर्ने पानी भित्री सडकको नालाको उचाई अग्लो भएको कारण नाला हुँदै बग्न पाउँदैन,’ अध्यक्ष आलम भन्छन्‌, ‘जमेको पानी बग्नलाई ६ लेन सडकमा साइफन नभएका कारण डुबानको समस्या देखिएको हो।’

शुक्रबार अपरान्ह डुबान क्षेत्रमा पुगेका विराटनगरका मेयर भीम पराजुली पनि यस विषयमा सहमत छन्। महानगर क्षेत्रभित्रका नाला सफा नहुनु र ६ लेन सडक खण्डमा भएको प्राविधिक त्रुटीका कारण महानगरका विभिन्न वडा डुबानमा परेको उनले बताए।

‘जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अघिदेखि नै समस्या रहिआएको छ, हाम्रो तर्फबाट समस्या समाधान गर्न सक्दो प्रयास गरिरहेका छौं,’ मेयर पराजुलीले भने, ‘प्राविधिक त्रुटी भएका कारण र हाम्रो मातहतमा यो सडक नपर्ने भएकाले सम्बन्धित निकायमा पहल गरिरहेका छौं।’ पहिले नौवटा साइफन भएको सडकलाई ६ लेनमा विस्तार गर्दा अध्यनन नगरी थोरै मात्र साइफन राखिएको उनले बताए। उनले ६ लेन सडक परियोजनाका प्रतिनिधिलाई बोलाएर दुईवटा साइफन थप गर्न आग्रह गरिसकेको पनि जानकारी दिए।

विराटनगर १५ र १६ को बीचमा ६ लेन सडक निर्माणका लागि छुट्टै परियोजना सञ्चालनमा छ। 

सीडीओ भन्छन्‌, 'केन्द्रमा जानकारी  गराइएको छ'

डुबानको अवस्था हेरेका मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले स्थानीयस्तरबाट तत्काल केही गर्न नसक्ने बताउँछन्।

‘बुधनगरलगायत धेरै स्थान डुबानमा छ, अवस्थाबारेमा केन्द्रमा केन्द्रमा जानकारी गराएका छौं,' उनले भने, ‘आइसीपी उद्योग मन्त्रालयमातहत पर्छ, अध्ययन गर्न प्राविधिक टोली आउला।’

अन्य विषयमा प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गरेर समस्या समाधानतर्फ स्थानीय प्रशासन लाग्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.