|

म्याग्दी : झन्डै ५ दशक निधारमा नाम्लो र पिठ्यूँमा भारी बोकेर ज्यान पाल्दै आएका ‘मुदी लातुु’ भनिने एक वृद्धाको भीरबाट लडेर घाइते भइ उपचारका क्रममा पोखरामा मृत्यु भएको छ। 

बेनी नगरपालिका–१ रत्नेचौरको रानीवन जंगलको पहिरोमा चिप्लिएर करिब २५ मिटर तल खसेर अचेत भेटिएका उनको रत्नेचौर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पताल हुँदै गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रसम्म भारी बोक्ने भरियाको रुपमा चिनिएका वृद्ध यस क्षेत्रमा सबैका प्रिय व्यक्ति थिए। उनी मंगला गाउँपालिका–२ बाबियाचौरका रहेका मृत्युपछि मात्र खुलेको छ।

पसलका सामान बोकेर ग्राहकको घरमा पुग्ने, विवाहमा दुलाहा पक्षबाट भारी बोकेर जन्तीसँगै जाने, अन्य विभिन्न काममा भारी बोकेरै पेट पाल्ने गरेका उनी घाइते अवस्थामा भेटिएका थिए। उपचारमा समेत आर्थिक अभाव हुन नदिन धेरैले प्रतिबद्धता जनाएका थिए।

उपचारको क्रममा पोखरामा मृत्यु भएपछि म्याग्दी, पर्वत र बागलुङबाट उनलाई चिनेकाहरु अस्पतालसम्म पुगेका थिए। धेरैले सामाजिक सञ्जालमा उनका पुराना तस्वीरहरु समेत पोष्ट गरेका थिए।

‘मेरो विवाहमा पनि भारी बोकेर जानुभएको थियो, उपचारमा आवश्यक सहयोगका लागि पोखराका डाक्टरलाई पनि सहयोग मागें’, बागलुङका जिल्ला समन्वय अधिकारी राजु पौडेलले भने।

गाउँघरमा भारी बोकेर हिँड्ने भए पनि धेरैले उनलाई आफ्नो गाँस समेत काटेर खुवाउने गरेको पौडेलको भनाइ छ। ‘निधारमा नाम्लो र ओठमा हाँसो कहिल्यै टुटेन’, फेसबुकमा श्रद्धाञ्जलि दिँदै बागलुङ शिवनगर टोलका सुमन शर्माले लेखेको छन्। शर्मासँगै धेरैले मृत्यु भएको खबरले दुखी भएको बताएका छन्।

यता म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले एउटा समान्य भरियाका बारेमा सामाजिक सञ्जाल, फोनमा समेत धेरै चासो व्यक्त भएकै कारण आफन्तको पहिचान भएको बताए।

‘बोल्न नसक्ने भरियाका लागि बोलिदिने धेरै भेटिनुभयो, शब आफन्तले लैजानुहुन्छ’, कुँवरले भने। शव लिन मंगला गाउँपालिका–२ बावियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षत्री पोखरामा गएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.