ज्यानको पर्वाह नगरी शव व्यवस्थापन र निर्मलीकरणमा खटिरहेका छन् युवा

|

विराटनगर : पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको छ विराटनगर। प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर। कोरोनाका संक्रमण बढेसँगै प्राय मानिस घरभित्रै छन्। तर यो संकटको समयमा एक युवा समूह भने सधै संक्रमितहरुको घर–घरमा भेटिन्छन्।

स्वयंसेवी युवा चार महिनादेखि आफनो ज्यानको पर्वाह नगरी संक्रमितको घरसँगै अफिसलाई निर्मलीकरण गरिरहेका छन्। यतिमा मात्र ती स्वयंसेवी युवाहरुको काम समिति छैन।

यो संकटको समयमा उनीहरुको समूहले कोरोनाका कारण मृत्यु भएका संक्रमितको शव व्यवस्थापनसँगै दाहसंस्कारको काममा पनि गरिरहेको छ। विराटनगर बगरगाछीका १६ देखि ३० वर्ष उमेर समूहका ती युवाले ‘कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिम नै गठन गरी संकटको यो घडीमा अन्तरमनबाटै सामाजिक सेवामा सक्रिय भएका छन्। 

यही टिमका स्वयंसेवी युवा ठूलो साहस र हिम्मतका साथ सावधानी अपनाउँदै संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्दै आएका छन्। स्थानीय प्रशासनले पारिवारिक सदस्यहरुबाट समेत संक्रमितको शव व्यवस्थापन गर्न सक्ने बाटो खोलिदिएपछि उनीहरु संक्रमितको शव व्यवस्थापनमा सक्रिय  हुन थालेका हुन्।

उनीहरुको टिमले कोरोनाका कारण मृत्यु भएका विराटनगरका दुई संक्रमितको शव व्यवस्थापनसँगै दाहसंस्कार गरेका कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिम अभियन्ता राम नेपालले बताए।

‘संकटको समयमा राज्यको मुखमात्र ताकेर बस्ने परिपाटीले समस्या अझ चुलिन्छ’, अभियन्ता नेपालले भने, ‘अहिलेको समयमा कोरोना संक्रमणको लडाइँमा हामी सबै मिलेर राज्यले गरेको कामलाई साथ दिनुपर्छ।’ 

अहिले नागरिकको तर्फबाट कोरोना संक्रमण लडाइँमा राज्यको सहयोगीका रुपमा आफूहरुले काम गरेको नेपालले बताए। कोरोनाविरुद्धको लडाइँमा सबैले आ–आफनो तहबाट राज्यलाई सहयोग र साथ आवश्यक रहेको बताए।

कोभिड-१९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिमले सुरुवाती दिनमा नगर क्षेत्रभित्रै कोरोना संक्रमित बढेँसगै ती युवाको समूहले कोरोनाप्रति सचेत र सजग भई सुरक्षित हुन नगरबासीलाई चेतना जनाउने अभियानको सुरुवात गरेका थियो। त्यही काम गर्ने क्रममा उनीहरु धेरै ठाउँबाट हाैस्याउने काम भयो।

उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री यहीबीचमा दाताहरूबाट प्राप्त भयो।  त्यसपछिका दिनमा उनीहरुको कामले अझ गति लिँदै गयो।

टिमका अर्का अभियन्ता रवीन काकी संक्रमितको शव व्यवस्थापनमा सक्रिय बनेपछि अहिले उनीहरुले यही कामबाट वाहीवाही पाइरहेका छन्। समाज र परिवारको साथ र सहयोगले अझ उनीहरुलाई काम गर्ने प्रेरणा मिलेको छ।

‘कोरोना संक्रमणको भयको अन्त्य नभएसम्म हाम्रो टिम स्वयंसेवी रुपमा जुनसुकै काम गर्न तयार छ,’ कार्कीले भने, ‘राज्य तहबाट पनि हामीलाई कुनै जिम्मेवारी दिइन्छ भने हाम्रो टिम स्वय‌ंसेवी भएर जिम्मेवारी वहन गर्न तयार छ।’

कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टिमले अहिले प्रदेश सभासद् वृन्दा कार्की, संजीव चापागाईं, उद्यागी प्रकाश मुन्दडालगायत सामाजिक संघ संस्थाको साथ पाएका छन्। उनीहरुको टिमलाई सहयोगी मनहरुले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदै आएका छन्।

टिमले दुई महिना अघिदेखि विराटनगरमा रहेका कोरोना संक्रमितहरुको घरमा सेनिटाइजरको काम गर्दै आएका थिए।

सोही समयदेखि उनीहरुको टिमले खाद्यान्न अभाव भएका विपन्नलाई खाद्यान्न उपलब्ध गराउने कामसमेत गर्दै आएको छ। विषम परिस्थितिमा नागरिकलाई सचेत, सुरक्षित र सजग बनाउन दिनरात नभनी निरन्तर सेवामा खटिरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउने अभियानमा पनि यो टोली सक्रिय छ। मास्क खरिद गर्न नसक्ने र महानगर क्षेत्रमा मास्क नलगाई हिँड्ने मानिसलाई मास्क वितरण गर्ने काम पनि गरिरहेको छ।

युवाहरु अन्तरमनबाटै सामाजिक सेवामा सक्रिय छन्। संक्रमितहरुको शव व्यवस्थापनमा धेरैलाई हारगुहार गर्नुपर्ने भएपछि उनीहरुको टिम शव व्यवस्थापन र दाहसंस्कारमा जुटेको थियो।

कोरोना कहरमा समाजसेवामा जुटेका उनीहरु तीन पटक क्वारेन्टाइनमा बसिसकेका छन्। कोरोना संकटको यो समयमा सबैले आआफ्नो ठाउँबाट हुने र सक्ने सहयोग गर्न सके कोरोना कहरको यो संकटलाई चाँडै परास्त गर्न सकिने स्वयंसेवी युवा संयोजक गौतमले बताए।

कोरोना संक्रमणका कारण ज्यान गुमाउने मानिसको शव व्यवस्थापन गर्न जुनसुकै बेला युवाको टोली तयारी अवस्थामा छ। संक्रमण रोकथाम गर्न आआफ्नो घर वरपर स्यानिटाइज गर्ने योजनासहित सुरु भएको यो समूहले तीन सय ५० घर, स्थानीय तहका कार्यालय र ६० कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइज गरिसकेको छ। योबीचमा तीन पटक पिसिआर परीक्षण गराएका छन्। युवाहरुको रिपोर्ट नेगेटिभ आएको छ। 

यो काम सामान्य नभए पनि युवाहरुले हिम्मत गरे कुनै पनि काम गर्न सकिन्छ भन्ने उदाहरण युवाले गरेर देखाइदिएका छन्। संकटको समयमा राज्यको मात्र मुख ताक्नेभन्दा पनि आफनो ठाउँबाट सबैले सचेत र सुरक्षित भएर कोरोनाविरुद्ध लडाइँमा जुट्नुपर्ने उनीहरुले सन्देश दिएका छन्। 

टिममा राम नेपाल,संजोग गौतम, रवीन कार्की, अनुराग भण्डारी, सुयोग चापागाईं र दृष्यमान शाक्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.