|

काठमाडौं : लेखक सञ्‍जीव उप्रेतीले पद्मश्री सम्मान मोदनाथ प्रश्रितसँग एकै मञ्‍चमा बसेर लिन नसक्ने बताएका छन्। 

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री  साहित्य पुरस्कार आफूलाई दिने निर्णयबारे जानकारी पाएपछि उनले अर्का साहित्यकारसमेत रहेका प्रश्रितसँगै एकै मञ्‍चबाट उक्त पुरस्कार लिन नसक्ने बताएका हुन्। 

प्रतिष्ठानले आइतवार गरेको निर्णयानुसार पद्मश्री साधना सम्मान मोदनाथ र उप्रेतीलाई दिने निर्णय गरेको थियो। 

'मैले महिला अधिकार र दलित अधिकारबारेमा लेख्दै आएको छु', उनले थाहाखबरसँग भने, 'दलित र महिलाको पक्षमा लेखनमार्फत वकालत गर्दै आएको छु। मलाई उहाँ (मोदनाथ) सँग एकै मञ्‍चमा बसेर उक्त पुरस्कार लिन उचित लागेन।'​

मोदनाथमाथि सूचनाको हक तथा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेकी शारदा भुसालले आफूमाथि मोदनाथले यौन हिंसा गरेको आरोप सार्वजनिक रुपमै लगाएकी थिइन्। उनले आफ्नो पुस्तकमा नै मोदनाथले पटक पटक यौन हिंसा गरेको कुरा उल्लेख गरेकी छन्। 

पीडित भनिएकी महिलाले सार्वजनिक रुपमै यौन हिंसाको आरोप लगाइरहेको अवस्थामा उक्त पुरस्कार मोदनाथसँगै लिन नसक्ने उनले बताएका हुन्।

'आयोजक संस्थालाई अफ्ठेरो पार्ने मेरो नियत होइन, उहाँहरुले पनि यसबारेमा कुरा गर्दै हुनुहुन्छ', उनले अगाडि भने, 'म यस्ता कुरामा विवादमा आउने पक्षमा छैन, अरुलाई पनि विवादित बनाउने उद्धेश्य होइन। तर सार्वजनिक रुपमै गम्भीर आरोप लागेका व्यक्तिसँगै यो पुरस्कार लिन उचित ठानिनँ।'

यसबारेमा आफूले आयोजकलाई जानकारी गराइसकेको उप्रेतीले बताए। 'आयोजकले मलाई जवाफ दिनुहुनेछ', उनले भने, 'त्यसपछि मात्रै यो पुरस्कार लिने नलिने निर्णय गर्नेछु।'

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री साहित्य पुरस्कार आख्यानकार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्‍मश्री साधना सम्मान साहित्यकारसमेत रहेका प्रश्रितलाई दिने निर्णय गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.