|

मुगु : नेपालकै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याडखोला आसपासका बासिन्दा जलाधार क्षेत्र संरक्षणमा सक्रिय हुन थालेका छन्‌।

रारा ताल र यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी र जलचर प्राणी र आफूहरूको जीवनयापनका विभिन्न आयामबीच सम्बन्ध रहेको शिक्षा पाउन थालेपछि यी सबैको संरक्षणका लागि स्थानीयहरू संगठित हुन थालेका हुन्‌।

सदियौंदेखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरूको उपभोग गदै आएका यहाँका स्थानीयहरूले यसअघि यो क्षेत्रमा प्राकृतिक स्रोत दोहन  मनलाग्दी गर्दै आएका थिए। 
वनमा पासो हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छी हालेर माछा मार्ने र जंगल कटान गर्ने जस्ता प्रकृति विरुद्धका क्रियाकलाप गर्दा प्राकृतिक सौन्दर्यमा ह्रास आउने, वन्यजन्तु, चरा, जलचर र थलचरहरू लोभ हुँदै जान थालेको थियो।

पछिल्लो समयमा पानी परियोजनाको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी) मुगुले रारा खत्याड जलाधार क्षेत्रमा जैविक विविधता सम्वर्द्धन, प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोग,आवश्यकता र सम्बन्धबारे जनचेतना दिन थालेपछि स्थानीयहरू जलाधार क्षेत्रको संरक्षणमा जुटदै गएका छन। 

जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्चा, झयारी, मुर्मा र निगाली भोट बस्तीमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहहरू गठन गरिएका छन्‌। ती समूहका सदस्यहरूले हप्ताको एकपटक आफ्नो क्षेत्रमा पर्ने जलाधार क्षेत्र ,मध्यवर्ती र निकुन्ज सिमानासम्म गस्ती गर्ने गरेका छन्‌।

​विगतमा जानी नजानी चोरी सिकारी गरेपनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाइने जलचरहरूको कसैले चोरी सिकारी नगरोस् र यहाँका महत्वपूर्ण, लोपोन्मुख जडिबुटी, वन्यजन्तु र वन जंगलको संरक्षण होस्‌ भनेर हप्तामा एक दिन गस्ती गर्ने र संरक्षण विरोधी कार्य गर्ने कोहि भेटिए कानुनअनुसार कारवाहीका लागी रारा राष्ट्रिय निकुञ्जमा बुझाउने ताल्चचोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष दीपेन्द्र भाम बताउँछन्‌।

​चोरी सिकारी नियन्त्रणका साथै निकुन्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु, वनजंगल, ताल र जलाधार क्षेत्रमा रहेका जलचर र वन जंगलमा रहेका बोटबिरुवा तथा वन्यजन्तुलाई पर्ने असरबारे पनि सचेतना दिने काममा समूह लागिपरेको समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष विष्णु रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.