|

सर्लाही : केही दिनको अविरल वर्षाका कारण सडक नै क्षत्विक्षत् भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दिचर्या कष्टकर बनेको छ।

वर्षाले लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने बाटोहरु नराम्रोसँग भत्काइदिएका छन्। जसका कारण एकबाट अर्को बस्तीमा जानसमेत मुस्किल परिहेरहेको स्थानीले गुनासो गर्दै आएका छन्। 

निषेधाज्ञा खुलेसँगै यातायातका साधनहरु चल्न थाले पनि बस्तीसम्म जाने बाटो भने बाढीले बिग्रिएकाले अहिले नै गाडी चल्ने अवस्था नरहेको ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताए। 

उनका अनुसार वडाकै विकट गाउँ गुइडुङ लगायत गाउँसम्म जाने बाटो ठाउँठाउँमा भत्किएका छन्। मानिसलाई किनमेल गर्न हाटबजार, अस्पतालसम्म आउन जान समस्या भएको छ। वर्षाको पानीले कुवानै बगाएपछि पिउने पानीको समेत अभाव भएको छ। 

लालबन्दी, हरिवन, बागमती नगरपालिकाको उत्तरी क्षेत्रमा अहिले सवारीसाधन चल्ने अवस्थामा नरहेकाले स्थानीय चिन्ता गरेका छन्। दैनिक उपभोग्य सामग्री भने ट्याक्टरबाट मुस्किलले ढुवानी भइरहेको लालबन्दी–१२ जियाजोरका वडाध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिए। पानी पर्न रोकिए खोलाको बाटो मर्मत गरी जसोतसो दसैंसम्मा यातायतका साधन चल्न सक्ने उनले बताए।

कोरोना सङ्क्रमण त्रास बढ्दै गएपछि सर्लाही र सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाका मानिसको आवागमन हुन नदिन बाटो अवरुद्ध गरिएको थियो।
त्यहाँको अवरोध केही दिनअघि नै हटिसकेको भए पनि बाटो बिग्रिएकाले त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या भइरहेको पत्थरकोटका स्थानीय नारायण गुर्मछानेले जानकारी दिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.