सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

|

बैतडी :  कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो। 

बैठकले आजकै मितिदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए।

उनले भने, ‘सबै प्रकारका व्यापार,व्यवशाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएका छौं।'

भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए। मृत भेट्टिएका ती पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो। कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरि स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ।

६ दिन अगाडी बैंग्लोरबाट हिडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका बताइएको छ।  गौरीफण्टादेखि मृत भेट्टिएको स्थानका सम्म ती पुरुषको सम्पर्कमा आएका र उनी  चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ। 

पुर्चौडीमा अहिलेसम्म २० जनामा संक्रमण पुष्टि हुँदा ८ जना अझै सक्रीय संक्रमित रहेका छन्।  मृत भेट्टाएका व्यक्तीमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताए। उनले भने, ‘भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको छ’

विद्यालयहरु पुनः बन्द

बैतडीको पुर्चौडी नगरपालिका विद्यालयहरु पुनः बन्द भएका छन्।  लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए।  असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए। उनले भने, ‘नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्।  आज पनि विद्यालय सञ्चालनमा आएका भएपनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौं।’ 

पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो।

विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाई रहेको छ।  शिक्षण सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए। उनले भने, 'यसअघि नगरपालिका कोरोना संक्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौं। अब नगरपालिकाले अर्को  निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन्।’

पुर्चौडीमा नगरपालिकाका ७५ ओटा सामुदायिक विद्यालय मध्ये ३९ वटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका थियो। नगरका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन्। 

बैतडी जिल्लाभरी हालसम्म ४ सय ३ जनाका कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।  संक्रमितमध्ये २५ जनामात्रै सक्रिय संक्रमित रहेका छन्। जिल्लामा गत जेठ ९ गते पहिलोपटक एक युवकमा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.