|

म्याग्दी : पहिरोको उच्च जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानी र वडानं ३ फगामका ३६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।शनिबार (हिजो) कोप्चे पानीका २३ परिवारलाई स्थानान्तरण गरी भालेबासमा र फगामका १३ परिवारलाई नजिकको सुरक्षित स्थानमा सारिएको हो। 

कोप्चेपानीको बस्ती कालीगण्डकी नदीको किनारमा छ। बस्ती माथिको भीरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबासमा सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए।

अध्यक्ष पुनले भने, ‘असारदेखि नै खस्न थालेको पहिरो पछिल्ला केही दिनयता भयानक रुपमा खस्न थालेपछि बस्ती नै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो।’ 

अध्यक्ष पुनका अनुसार स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। सबै परिवारलाई एक÷एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ। जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ।

गाउँपालिकाले प्रतिपरिवार एक÷एक वटा कम्बल सहयोग गर्ने र सार्वजनिक शौचालय बनाइदिने भएको छ। घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण सामान टहरामा सारेका छन्।

२०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको भवन, खेलमैदान र स्थानीयको खेतीयोग्य जमिन बगाएको थियो। 

अन्नपूर्ण गाउपालिकाले पहिरोको उच्च जोखिममा रहेको वडा न. ३ फगामका १३ परिवारलाई पनि अस्थायी टहरा बनाएर अन्यत्र सारेको छ। कालीगण्डकीको तिरदेखि गाउँको शिरसम्मको जमिन चिरा चिरा परेर पहिरो बग्न थालेपछि करिब ४० घरको बसोबास भएको फगाम उच्च जोखिममा छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.