‘पैसा होइन सेवा ठूलो हो’

|

डडेल्धुरा : धेरैजसो विशेषज्ञ चिकित्सकहरूले सुगम ठाउँ नै रोज्छन्। सरकारले दुर्गम पठाएपनि केही समय मात्रै बस्छन्। पछि सरुवा मिलाएर सुगम वा घर नजिकै रोज्छन्। तर, केही यस्ता पनि चिकित्सक छन् : जो दुर्गममा बिरामीहरूको सेवामा दिनरात खटिइरहेका छन्। 

तीमध्येका एक हुन् : डाक्टर राजन शाह। उनी ८ महिनायता डडेल्धुरा अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन्। उनको घर प्रदेश नं. २ को जनकपुर उपमहानगरपालिका–१४ धनुषा हो।

सन् २०१६ मा जानकी मेडिकल कलेज जनकपुरबाट एमबीबीएस पढाइ पूरा गरेका राजनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रसूति तथा स्त्री रोगमा २०१९ मा स्नातकोत्तर तह (पिजी) को अध्ययन सकाए। उनी गत माघ २ गतेदेखि डडेल्धुरा अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत छन्। 

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुराका जनतालाई राजनले सेवा दिइरहेका छन्। दुर्गमका बिरामीहरूको मन जितिरहेका छन्‌।

‘प्रदेश नम्बर २ को मान्छेलाई सुदूरपश्चिम टाढा नै हो। मान्छेहरू घरतिर वा सेन्टरमै काम गर्न खोज्छन्। तर, म यहीँ आएँ। शुरूमा अस्पताल आउँदा यहाँको वातावरण त्यति उत्साहजनक थिएन। अस्पतालप्रति बिरामीलाई त्यति धेरै विश्वास पनि थिएन,’ उनी भन्छन्,‘पाठेघरको शल्यक्रिया त परै जाओस्, शल्यक्रिया गरेर प्रसूति गराउँदा पनि बिरामीहरूलाई धेरै नै कन्भिन्स गर्नुपर्ने थियो।’ 

शुरूवातमा सीएस (शल्यक्रिया गरेर बच्चा जन्माउने) सेवाबाट बिरामीहरूको मन जित्न आफूहरू सफल भएको उनको भनाइ छ। प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा अस्पताल निमित्त मिडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्ट र डा. शाहले अस्पतालमा उक्त सेवा दिइरहेका छन्। डडेल्धुरा अस्पताल संघीय सरकार मातहतको देशकै ‘विशिष्ट विशेषज्ञ अस्पताल’ हो।

उनले सिएस सेवाबाट बिरामीहरूको मन जितेपछि पाठेघरको शल्यक्रिया शुरू गरे। ‘डा. जगदीशचन्द्र र मैले अहिले महिनामा १५–२० जनाको पाठेघर अप्रेसन गरिरहेका हुन्छौँ,’ उनले भने, ‘सिएस त महिनामा ५० जति पुग्छ। हामीले बिरामीहरूको मन जित्दै गएपछि अहिले कैलाली धनगढीबाट पनि यहाँ शल्यक्रिया गराउन आएका छन्।’

सुदूरमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने डाक्टर

शाह सुदूरपश्चिम प्रदेशमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने पहिलो डाक्टर हुन्। यस विधिबाट सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरा अस्पतालमा अपरेसन गरिएको थियो। उक्त अप्रेसन डा. शाहको टीमले गरेको थियो।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शाह, एनेस्थेसियोलोजी र क्रिटिकल केयर डा. शम्भु अधिकारी नेतृत्वको चिकित्सकको टोलीले हालसम्म चारजनाको ल्याप्रोस्कोपिक प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेको छ। 

प्रसूति गराउने शल्यक्रियाबाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब यसै प्रविधिबाट सम्भव भएको डा. शाहले बताए। बिरामीका लागि ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्नु  स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ।

पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा. शाहको भनाइ छ। उनका अनुसार दुई–तीन दिनमा अस्पताल बसाइँ सकेर बिरामी एक सातामा आफ्नो नियमित काममा फर्किन सक्छन्‌। यस विधिबाट अपरेसन गरेपछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको उनको भनाइ छ।

‘हाम्रो आँखाले नदेख्ने कतिपय कुरालाई दूरबीनले अझै स्पष्ट गरेर देखाउँछ,’ उनले भने, ‘शल्यक्रियामा दूरबीन प्रविधि सबैभन्दा उत्कृष्ट हो।’ 

परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा काटेर गरिने अपरेसनको साटो पेटमा स–साना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो। यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको अपरेसन गरिन्छ। 

‘पेटको कुन भागको अपरेसन गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ,’ डा. शाहले भने, ‘पेट चिरेर गरिने अपरेसनको तुलनामा यो प्रविधि बढी सुरक्षित मानिन्छ। यस प्रविधिबाट शल्यक्रियापछि बिरामीले कम समय अस्पतालमा बसे पुग्ने, छिटो दैनिक काममा फर्किन सक्ने, सानो घाउ हुनाले दुखाइ खासै नहुने तथा औषधि पनि खासै प्रयोग गर्नुपर्ने हुँदैन।’

नयाँ ठाउँ आइसकेको नयाँ काम गर्ने उनको सानैदेखिको सोच थियो। त्यहीँ अनुसार उनी अघि बढिरहेका छन्। ‘मेरो शुरूदेखि नै सपना थियो, नयाँ ठाउँमा गएर नयाँ काम गरूँ र सबै बिरामीले मलाई चिनून्। उनी भन्छन्, ‘यहाँ सुदूरपश्चिममा ल्याप्रोस्कोपिक विधि भनेको एकैदमै नयाँ कुरा हो। यहाँका मान्छेलाई प्रायः थाहा नै छैन। के हो कस्तो हुन्छ भनेर अप्ठ्यारो मान्छन्।’

सरकारी अस्पतालमा दूरबिन विधिबाट काठमाडौंमै पनि सीमित अस्पतालमा मात्रै हुने गरेको उनले जनाए। काठमाडौं हरेक किसिमको अप्रेसन दूरबिन प्रविधिबाट हुने गरेको उनी बताउँछन्।

‘यो अप्रेसन महँगो हुन जान्छ, तर हामीले यहाँ अरू अप्रेसन गर्दा जति नै शुल्क लिने गरेका छौँ। एकदमै गरिब बिरामीहरूलाई निःशुल्क पनि गरिरहेका छौँ,’ उनले भने। 

२९ वर्षीय डा. राजन ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने नेपालकै आफू कान्छो डाक्टर भएको दाबी गर्छन्। ‘नेपालमा यो किसिमको शल्यक्रिया गर्ने ३० वर्ष मुनिको अरु कोही डाक्टर हुनुहुन्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन्, ‘यसरी शल्यक्रिया गर्न पाउँदा र बिरामी निको भएर घर जाँदा मलाई एकदमै खुसी लागेको छ।’

डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुराका बिरामीलाई यहाँ नै दूरबिन विधिबाट अप्रेसन हुन थालेपछि सहज भएको छ। 

बैतडीको सिगास गाउँपालिका–१ का उद्धव भूल यहाँ नै ल्याप्रोस्कोपिक विधिबाट श्रीमतिको पाठेघरको सफल अप्रेसन भएपछि खुसी छन्। ‘म गरिब घरको मान्छे हुँ, यहाँ नै उपचार हुँदा म खुसी छु। भारत, काठमाडौं जान पैसा हुँदैन। यहाँ नै उपचार भयो।’ उनले भने, ‘डाक्टर सा’प (राजन) ले राम्रोसँग उपचार गरिदिनुभयो।’

कोरोनाबीच पनि अप्रेसन

कोरोना महामारी फैलिएको बेलापनि उनले काम गर्न छोडेनन्। उनी यहाँ आएको ९ महिना भएको छ, तर उनी विगत सात महिनादेखि घर भएका छैनन्। उनी महामारीकाबीच पनि बिरामीको सेवामा खटिरहेका छन्।

‘यहाँ हरेक किसिमका बिरामीहरू आउँछन्। स्त्रीरोग विशेषज्ञ भएपछि प्रसूति भनेको इमर्जेन्सी हुन्छ। कुनै महिलालाई ब्यथा लगेको र छ बच्चाले दिसा गरिरहेको छ भने म पहिले पीसीआर गर्छु र रिपोर्ट आइसकेपछि मात्रै शल्यक्रिया गर्छु भन्ने हुँदैन,’ उनले भने, ‘कोरोना महामारीका बेला हामीले निरन्तर रुपमा सेवा दिइरहेका छौँ। हामीले कोरोना संक्रमित गर्भवतीको समेत डेलिभरी गराएका थियौँ।’

‘पैसा होइन, सेवा ठूलो हो’

गरिब तथा अति विपन्न परिवारका बिरामीको निःशुल्क पनि उपचार गरेको उनी बताउँछन्।

‘धेरैलाई निःशुल्क पनि उपचार गरेको छु, निःशुल्क उपचार गर्दा डाक्टरलाई पनि केही घाटा हुन्छ नै, किनकी अप्रेसन गरेपछि लिने शुल्कबाट हामीले केही प्रतिशत पाउँछौं।’ उनले भने, ‘मलाई पैसा चाहिँदैन। म चाहन्छु कि बिरामी मेरो सेवाबाट खुसी होउन्‌ र मलाई सम्झिरहुन्‌।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.