|

भद्रपुर (झापा) : झापा कारागार भद्रपुरका कैदीबन्दीमा कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको छ। कारागारका सात कैदीबन्दी, एक भान्से कर्मचारी र दुई प्रहरी कर्मचारी गरी एकै पटक १० जनामा कोरोना देखिएपछि कैदीबन्दीमा संक्रमण फैलिने त्रास बढेको हो।

कारागारमा ज्येष्ठ नागरिक र दीर्घरोगी कैदीबन्दी धेरै भएकाले कारागार प्रशासनले उच्च सतर्कता अपनाउँदै कारागारभित्रै छुट्टै आइसोलेसन बनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाको अनुमित लिएर कारागारभित्र आइसोलेसन बनाउने काम सुरु गरिएको बताइएको छ।

कारागारभित्र कैदीबन्दी बस्ने भवनको छतमाथि बनाइएको ट्रस्टलाई सदुपयोग गर्दै कारागार प्रशासनले सोही ट्रस्टलाई वरिपरि जस्तापाता र त्रिपालले घेरेर दुई क्षमता भएको अस्थायी आइसोलेसन बनाएको जेलर राजेन्द्रकुमार गौतमले जानकारी दिए। आइसोलेसन बनाउने काममा कैदीबन्दी शनिवारदेखि जुटेका छन्। उक्त आइसोलेसनमा नियमित औषधि सेवन गर्ने वृद्ध र दीर्घरोगी कैदीबन्दीलाई मात्र राखिनेछ।

‘साढे तीन सय क्षमता भएको कारागारमा तीन गुणा बढी कैदी एकै ठाउँमा बसेका छन्,’ जेलर गौतमले भने, ‘अत्यन्तै सानो ठाउँ त्यसमाथि साँघुरो कोठा, त्यसैले यहाँ जोखिम धेरै छ।’

कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ जना कैदीबन्दी छन्। त्यसमध्ये दमका १००, क्षयरोगका २०, मिर्गौलाका आठ, मुटुका १२, मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ६८ जना कैदीबन्दी छन्।

कोरोना संक्रमण नेपालमा देखा परेदेखि नै कारागारमा हालसम्म भेटघाट बन्द गरिएको छ। फलफूल र औषधिबाहेकका अन्य सामग्री समेत तत्काल आयात गर्न रोक लगाइएको जनाइएको छ। 

स्वाब संकलनको तयारी

कारागारमा कैदीबन्दी, कर्मचारी र प्रहरी गरी १७ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको थियो। कारागारमा कोरोना पुष्टि भएपछि अहिले दिनहुँ स्वास्थ्यकर्मीको टोली नियमित आउन थालेको जेलर गौतमले बताए।

 ‘स्वास्थ्यकर्मीको टोली कारागारमा रहेका अन्य कैदीबन्दीको पनि स्वाब सङ्कलनको तयारी जुटेको छ,’ जलेर गौतमले भने, ‘कोरोना भाइरसको संक्रमण कम्तीमा १४ दिनपछि देखिने भएकोले ५ देखि ७ दिनभित्र स्वाब संकलन गर्न स्वास्थ्यकर्मीले बताएको छ। त्यही भएर अहिले स्वाब संकलन गरिएको छैन, गर्ने तयारीमा छौं।’ 

कारागारबाहिरको आइसोलेसनबाटै कोरोना सरेको आशंका

प्रहरीले सात दिनअघि एकजना फरार अभियुक्तलाई पक्राउ गरी अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार पठाएका थिए।

कारागारमा नयाँ कैदीबन्दी आएपछि कारागार प्रशासनले उनलाई भित्र प्रवेश नगराई बाहिरै बनाइएको आइसोलेसनमा राखेर स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाउने गर्दै आएको थियो। फरार अभियुक्तको पनि बाहिरको आइसोलेनसमा राखेर स्वाब संकलन गरी परीक्षण गर्न पठाएको दुई दिनपछि उनलाई कोरोना पुष्टि भयो।

त्यसपछि एकजना २२ वर्षीय बिरामी कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं पठाउनु पर्ने थियो। कारागारले ती बिरामी कैदीसहित १७ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भयो।

‘पहिले नै आइसोलेसनमा बसेका कैदीबाटै कोरोना सरिसकेको हुनुपर्छ,’ जलेर गौतमले भने, ‘असोज ६ गते अघिसम्म कारागारमा संक्रमण फैलिएको थिएन, एकजनामा देखिएको र त्यसपछि अन्यलाई संक्रमण पुष्टि भएको हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.