|

विराटनगर : विराटनगर महानगरपालिकाले जेष्ठ र अशक्त नागरिकहरूको स्वाब घरमै पुगेर संकलन गर्न ‘मोबाइल घुम्ती सेवा’ सञ्चालन गरेको छ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरभित्र हिँडडुल गर्न नसक्ने र दीर्घरोगीहरूका लागि 'मोबाइल स्वाब भ्यान'मार्फत स्वाब संकलन गर्न थालिएको हो। संक्रमणदर बढेसँगै पछिल्ला दिनमा जेष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गर्न समस्या पर्दै आएको थियो।

महानगरले कोरोनासँग मिल्दोजुल्दो शंकास्पद स्वास्थ्य समस्या भोगिरहेका जेष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गर्न  भ्यानसहित स्वास्थ्यकर्मीहरूलाई घरमै पठाउन थालेको छ। महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की नेतृत्वको टीमले कोरोना परीक्षणका लागि वृद्धा र अशक्तहरूको स्वाब संकलन गर्न थालिसकेको छ। महानगरले शनिबार १६ जना ज्येष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएको कार्कीले जानकारी दिए।

आइतबार पनि विराटनगरस्थित वडा नं १० र वडा नं ३ मा रहेको मानव सेवा आश्रममा रहेका ५५ जनाको स्वाब संकलन गरिएको छ। मोबाइल भ्यानमा मानव सेवा आश्रममा पुगेर उनीहरूको स्वाब संकलन गरिएको हो।

संकलन भएको स्वाब मोबाइल भ्यानमा राखेर ल्याबमा पठाइने गरिएको छ। यो सेवा अब महानगरका सबै ज्येष्ठ नागरिक र अशक्त वडाबासीले प्राप्त गर्ने महानगरले जनाएको छ।

अहिले बिरामी भएर अस्पताल जानेहरूलाई उपचार गर्नुभन्दा अगाडि पीसीआर रिपोर्ट माग्ने गरिएको छ। ज्येष्ठ नागरिक, दीर्घरोगी र अशक्तहरूलाई स्वाब दिन विराटनगरस्थित जैन भवनसम्म पुग्न असहज पर्छ। अहिले महानगरपालिकाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुईवटा टीम खटाएको छ।

एउटा टीमले दुई साता स्वाब संकलन गरी परीक्षणमा पठाएपछि त्यो टिम क्वारेन्टाइनमा बस्छ। त्यसपछि अर्को टीम खटिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.