|

विश्वभरका सञ्चारमाध्यममा यतिखेर आर्मेनिया र अजरबैजानबीच लडाईं शुरु भएको खबर प्राथमिकतामा छ। 

आइतबार भएको भिडन्तमा आर्मेनियाले अजरबैजानका हेलिकोप्टर र ट्यांक ध्वस्त पारिदिएको तथा अहिलेसम्म २३ जना सैनिकको हताहती भएको बुझिएको छ।  दुवै देशले एक-अर्कालाई ठूलो क्षति पुर्‍याइदिएको दाबी गरिरहेका छन्‌। तर, धनजनको क्षतिबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। 

यी दुई देशले सीमाक्षेत्रमा आइतबार भारी हातहतियार प्रयोग गरेका र अहिलेसम्मकै झडप भएको बीबीसीमा उल्लेख छ। 

किन भयो लडाईं ?

अजरबैजान र आर्मेनियाबीच विवादित भूमि नागोर्नो काराबाख इलाकाको क्षेत्र ४,४०० वर्ग किलोमिटर छ। यहाँ आर्मेनियाली र ईसाई तथा मुस्लिम तुर्कहरू बसोबास गर्छन्। 

सोभियत संघ अस्तित्वमा आएपछि पनि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो। अन्तरराष्ट्रिय रुपमा यो क्षेत्रलाई अजरबैजानकै मानिएपनि त्यहाँ आर्मेनियाली मुलका मानिसहरूको बाहुल्यता छ।

तत्कालीन सोभियत संघका यी दुई गणराज्यबीच लामो समयदेखि सीमा विवाद कायम छ। ​सोभियन संघबाट स्वतन्त्र हुनासाथ सन् १९९० मा यी दुई मुलकबीच युद्ध भएको थियो।


नागोर्नो-काराबाख क्षेत्र । (स्रोत : अलजजिरा ।)

सन् १९८९ को अन्त्यदेखि १९९० को दशकसम्म चलेको युद्धमा यहाँ ३० हजारभन्दा धेरै मानिस मारिएका थिए। झण्डै १० लाख मानिस विस्थापित हुनुपरेको थियो। 

सन् १९९४ मा युद्धविराम भएपनि यहाँ दुई देश र पृथकतावादी समूहहरूबीच हिंसात्मक झडप हुने गरेको छ। हरेक वर्षजसो सैन्य हताहति निम्तने गरेको छ।

मध्यस्थता पहल

दुई देशका बीच सशस्त्र लडाईं छेडिएपछि विश्वभरबाट शान्ति कायम राख्न दबाब आएको छ।

केही मुलुकले मध्यस्थता प्रयास गरिरहेका छन्‌ भने टर्कीले अजरबैजानलाई सघाउने घोषणा गरेको छ। टर्कीका रक्षामन्त्रीले गत अगस्टमै पवित्र भूमि फिर्ता गर्न अजरबैजानका सेनालाई सघाउने बताएका थिए। 

रूसले आर्मेनिया र अजरबैजानलाई तत्काल युद्धविराम गर्न र संयम भई वार्ता गर्न भनेको छ। अमेरिकाले पनि दुवै देशलाई तुरुन्त लडाईं रोक्न तथा विवादित वयान र कारबाही नगर्न आग्रह गरेको छ। विवाद सल्ट्याउन आग्रह गरिरहेको रूस परम्परागत रुपमा आर्मेनियाको मित्रराष्ट्र हो।

आर्मेनियाई मुलका धेरै मानिस बसोबास गर्ने फ्रान्सले संघर्षविराम र वार्ताका लागि आग्रह गरेको छ। अजरबैजान र आर्मेनियासँग सीमा जोडिएको इरानले जारी द्वन्द्व समाधान गर्न मध्यस्थता प्रयास गरिरहेको छ। 

आ-आफ्नै दाबी

युद्धको स्थिति निम्तनेगरी कुन पक्षले पहिले गोली चलायो भन्ने अहिलेसम्म खुलेको छैन। 

अजरबैजानका राष्ट्रपति इल्हाम अलियवले नागोर्नो काराबाख क्षेत्र पुनः नियन्त्रणमा लिइछाड्ने बताएका छन्।​ ​नागोर्नो काराबाखमा आर्मेनिया अधिनस्थ क्षेत्र खाली गरिदिएको अजरबैजानले दाबी गरेको छ।

तर आर्मेनियाली अधिकारीहरूले यो दाबी झुठो रहेको बताएका छन्। पछिल्लो लडाइँबाट अजरबैजानलाई निकै नोक्सानी पुगेको आर्मेनियाले दाबी गरेको छ।

लडाईं शुरु भएसँगै अजरबैजानले देशभर इन्टरनेट सेवा प्रयोगमा प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जाल पनि प्रयोग गर्न दिइएको छैन। ​

आर्मेनियाका रक्षामन्त्रीले आइतबार बिहान सवा ८ बजे नागोनो काराबाखको राजधानी स्टेपनेकर्टसहित कयौं बस्तीमा हमला भएको बताएका थिए। 

त्यसपछि अन्य अधिकारीहरूले एक महिला र बालकको मृत्यु भएको जानकारी दिएका थिए। यो क्षेत्रमा रहेका पृथकतावादी समूहहरूले पनि १६ जनालाई मारिदिएको र झन्डै एक सय जना घाइते भएको बताएका थिए। 

झडपलगत्तै आर्मेनिया सरकारले नागोर्नो काराबाख क्षेत्रसहित देशभर मार्सल ल लागु गर्दै सेना खटाएको छ। 

आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियनले अजरबैजानमाथि सुनियोजित हमला गरेको आरोप लगाएका छन्। साथै उनले आफ्ना नागरिकहरूलाई पवित्र मातृभूमिको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। 

यो क्षेत्र ठूलो युद्धको संघारमा रहेको भन्दै पासिनियनले टर्कीमाथि आक्रमण व्यवहार गरेको आरोप पनि लगाएका छन्। साथै, अन्तराष्ट्रिय समुदायलाई यस क्षेत्रको अस्थिरता रोक्न एकजुट हुन पनि उनले आग्रह गरेका छन्। 

अरबैजानका रक्षामन्त्रीले आफ्नो देशको एक हेलिकोप्टरमा क्षति पुगेको र पाइलट जीवितै रहेको बताएका छन्। आफूहरूले आर्मेनियाका १२ वटा मिसाइल डिफेन्स सिस्टमलाई ध्वस्त पारिदिएको अजरबैजानले दाबी गरेको छ। तर आर्मेनियाले अजरबैजानको दाबीलाई खण्डन गरेको छ। 

ठूलो हमलाको आदेश 

अजरबैजानका राष्ट्रपति अलियेवले देशबासीका नाममा सम्बोधन गर्दै आमेर्नियालाई जवाफ दिन व्यापकस्तरमा जवाफी कारबाही गर्न आदेश दिएका छन्। 

उनले भनेका छन्, 'आर्मेनियाले कब्जा गरेको अजरबैजानको परम्परागत क्षेत्र अब मुक्त भएको छ, ३० वर्षदेखि हामीले सहिरहेको अन्याय अब अन्त्य हुनेछ।'

आर्मेनियाले अस्वीकार गरेपनि नागोर्नो काराबाखका राष्ट्रपति अराइक हरतुन्यानले अहिले केही क्षेत्र अजरबैजानको नियन्त्रणमा पुगेको पुष्टि गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.