सातै प्रदेशनमा अक्सिजन प्लान्ट व्यवस्था गरिँदै

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ।

मन्त्रालयले भदौको पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित संख्या लगभग ४० हजार पुग्ने अनुमान गरेको थियो। यस्तै‚ असोजको अन्तिमसम्म एक लाखको हाराहारीमा पुग्ने पूर्वानुमान गरेको छ। यही अनुमानअनुसार मन्त्रालयले कोरोना परीक्षणका लागि आवश्यक पिसिआर किटदेखि अन्य स्वास्थ्य सामग्री व्यवस्थापन गर्दै आएको छ।

हाल मन्त्रालयले जस्तोसुकै जटिल परिस्थिति आए पनि असोज अन्तिमसम्म पुग्ने पिसिआर किट मौज्दात रहेको बताएको छ। कोरोना संक्रमण हुने क्रम बढ्दै जाँदा सरकारले यसअघि चार पटकसम्म परीक्षणका लागि अत्यावश्यक किट खरिद गरिसकेको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्था शाखाकाअनुसार हाल असोजसम्मलाई जस्तोसुकै जटिल परिस्थिति आए पनि परीक्षणका लागि आवश्यक किट मौज्दात रहेको बताएको छ।

व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलका अनुसार हाल आरएनए एक्ट्रासन किट दुई लाख, पिसिआर किट तीन लाख रहेको छ। उनले भने‚ ‘यसअघि सरकारले असोज महिनासम्म हुने सम्भावित संक्रमित संख्या अनुमानअनुसार हामीले सामग्री खरिद गरेका हौँ, त्यसैले यो महिनासम्म परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुँदैन।'

असोजपछि कोरोना संक्रमणबारे सरकारले गर्ने पूर्वानुमान संख्या अनुमानअनुसार थप स्वास्थ्य सामग्री खरिद गर्ने डा. खरेलले बताए। उनले भने, ‘धरै सामग्री खरिद गरेर राखे त्यसै खेर फाल्ने कुरा भएन, त्यसैले हाल एक महिनालाई पुग्ने सामग्री मौज्दात छ।'

उनले थपे, 'हाल लक्षणसहितका संक्रमित बढ्न थालेका छन्, यस्तो अवस्थामा आइसियू र भेन्टिलेटरको आवश्यक धेरै पर्न सक्छ, अब पिसिआर परीक्षण किटभन्दा पर्याप्त अक्सिजनको व्यवस्थापनतिर हामी लागिपरेका छाैं।'

यसअघि मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था खराब हुँदै गए असोज अन्तिमसम्म एक लाख ८० हजार व्यक्ति संक्रमित हुने प्रक्षेपण गरेको थियो। गत असारको पहिलो सातादेखि असोज अन्तिमसम्म १६ सातामा आइसियू र भेन्टिलटर आवश्यक पर्ने संक्रमितको संख्या २० हजार हाराहारीमा पुग्ने अनुमान थियो। 

हाल देशका ४० बढी प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ। यी प्रयोगशालाको क्षमता दैनिक २० हजार बढी भए पनि अहिलेसम्म एक दिनमा परीक्षण १४ हजार नाघेको छैन। आपूर्ति व्यवस्था शाखाले भने गत असारदेखि नै दैनिक १५ हजार परीक्षण हुने अनुमानका साथ सामग्री व्यवस्थापन गरेको जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत ठाउँमा लक्षणसहितका संक्रमण व्यापक फैलिरहेको छ। जसले गर्दा संक्रमितहरु आइसियू र भेन्टिलेटरमा जाने क्रम बढ्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.