|

डडेल्धुरा : राजस्थान रोयल्सबाट आइपिएल खेलिरहेका राहुल तेवटिया अहिले चर्चाको शिखरमा छन्। गएराति सम्पन्न खेलमा किंग्स इलावेन पञ्जाबविरुद्ध शानदार पारी खेलेसँगै उनको चर्चा चुलिएको हो।

तेवटियाले आफ्नो टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। सुरुवातमा निकै संघर्ष गरिरहेका उनले टिमलाई खाँचो परिरहेका बेला अविश्वसनीय प्रदर्शन गरे।

टिमका कप्तान स्टिभ स्मिथ आउट भएपछि राहुल मैदान प्रवेश गर्दा धेरै क्रिकेट समर्थकका साथ कमेन्टेटर केही अचम्ममा परेका थिए। उनलाई धेरैले स्पिनरको भूमिकामा देखेकाले अचम्ममा पर्नु स्वाभाविक पनि थियो।

क्रिकेट कमेन्टटेरले पनि राजस्थानले राहुललाई तेस्रो नम्बरमा पठाउनु राम्रो निर्णय नभएको सुनाइरहेका थिए। तर, उनले कमेन्टेटरको बोली ब्याटिङबाट बन्द गरिदिए। तेवटियाले खेलको १८औँ ओभरमा शानदार ब्याटिङ गरे।

सेल्डेन कोट्रेलले बलिङ गरेको यो ओभरमा राहुलले लगातार चार छक्का हिर्काए। उनले यो ओभरको पाँचा बल डटे खेले। तर, अन्तिम बलमा फेरि उत्कृष्ट छक्का प्रहार गरे। एकै ओभरमा ३० रन बटुलेका तेबटियाले टिमलाई जित नजिक पुर्‍याए।

उनले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रनको शानदार पारी खेले। यो प्रदर्शनका कारण तेवटिया र उनको परिवारलाई अहिले बधाइको ओइरो आइरहेको छ।

को हुन् तेवटिया?

उनी भारतको हरियाणाको औद्योगिक नगरी फरीदाबादका हुन्। पञ्जाब विरुद्धको उनको प्रदर्शनबाट अहिले उनको परिवारमा खुसीको सीमा छैन। 

टिमका लागि अहम् पारी खेलेपछि उनका बुबा र हजुरबुबाले फोन गरेर बधाईसमेत दिइसकेका छन्। साथै, उनको परिवारले छिमेकीबाट बधाई थाप्दै मिठाइसमेत बाँडेको छ। राहुलका बुबा जिल्ला अदालतमा वकिल छन्।

उमेरले २७ वर्ष पुगेको तेबटियाले हालसम्म भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न नपाए पनि घरेलु प्रतियोगिता भने निरन्तर खेलिरहेका छन्। उनले यसअघि दिल्ली क्यापिटल्स, किंग्स इलावेन पञ्जाबबाट आइपिएल खेलिसकेका छन्।

तेबटियाले आइपिएल डेब्यु २०१४ मा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध गरेको थिए। उनले डेब्यु म्याचमा दुई ओभर बलिङ गर्ने मौका पाएका थिए।

तेबटियाले आफ्नो दुई ओभरमा बिनाविकेट १८ रन खर्चिएका थिए। उनले महँगो बलिङ गरे पनि राजस्थानले भने सो म्याचमा केकेआरलाई १० रनले हराएको थियो।

पहिलो २० बल जीवनकै खराब’

किंग्स ११ पन्जाबविरुद्धको विशाल लक्ष्य पछ्याउने क्रममा उनले सुरुवातमा सुस्त ब्याटिङ गरेका थिए। उनले सुरुवाती २३ बलमा मात्रै १७ रन बनाएका थिए। 

राजस्थान हारेको भए र उनी त्यही अवस्थामा आउट भएका भए तेवटिया खेलको ‘भिलेन’ बन्न सक्थे। तर, अर्को किनारमा उत्कृष्ट ब्याटिङ गरेका सन्जु स्यामसन आउट भएपछि उनले आक्रमक पारी खेले। र, टिमलाई अविस्मरणीय जित दिलाए।

खेलपछि उनले इनिङ्सको क्रममा खेलेको पहिलो २० बल आफूले खेलेको जीवनकै खराब २० बल रहेको प्रतिक्रिया दिएका छन्।

‘पहिलो २० बल मैले जीवनमा खेलेको अहिलेसम्मकै सबैभन्दा खराब थियो। म नेटमा राम्रोसँग बल हिर्काइरहेको थिएँ। त्यसैले मलाई आफूमा विश्वास थियो र अघि बढिरहें,’ उनले भने, ‘सुरुवातमा म बल राम्रो हिर्काउन सकिरहेको थिइनँ। मैले डग आउटमा हेरे सबै मैले लामो सट हान्न सक्छु कि सक्दिन भनेर चासो मानिरहेका थिए। मैले सोचे मैले आफूलाई विश्वास गर्नुपर्छ।’

‘एउटा छक्काको कुरा थियो, जब त्यो लग्यो त्यसपछि म रोकिइनँ। एकै ओभरमा ५ वटा अद्भूत थियो। कोचले मलाई लेग स्पिनरलाई छक्का हान्न पठाउनुभएको थियो तर दुर्भाग्य मैले उनलाई हान्न सकिनँ। तर, ठूलो कुरा मैले अरु बलरलाई हान्न सकें।’ उनले खेलपछि भनेका थिए।

राहुल चम्किएपछि राजस्थानको कीर्तिमानी जित

राहुल चकिँएपछि रोयल्सले कीर्तिमान जित निकाल्यो। २ सय २४ रनको लक्ष्य पन्छाएको राजस्थानले  किंग्स इलावेन पञ्जाबलाई ४ विकेटले हरायो। ​पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो।

उसका लागि सञ्जु स्यामसमले ८५, स्टिभ स्मिथले ५०, राहुल तेबटियाले ५३, रोबिन उथप्पाले ९ र जोफ्रा आर्चरले अविजित १३ रन बनाएका थिए। बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले सर्वाधिक २ विकेट लिएका थिए।

योजितसँगै राजस्थानले नयाँ कीर्तिमान बनाएको छ। हालसम्म आइपिएलमा २२४ रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन। यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो।

उसका लागि मंयक अग्रवालले शतक बनाए। उनले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए। आइपिएलमा अग्रवालको यो पहिलो शतक हो। त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए। अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए।

राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो। उनी दुईबीचको यो साझेदारी आइपिएल इतिहासको तेस्रो ठूलो साझेदारी हो।

पञ्जाबका लागि ग्लेन म्याक्सवेलले अविजित १३ र निकोल पूरनले नटआउट २५ रनको योगदान दिए। बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक–एक विकेट लिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.