भन्छन्‌, 'विदेशमा घोटिनुभन्दा स्वदेशमै श्रम गर्दा फाइदा'

|

बागलुङ : जापानमा बसाइ, विश्वविद्यालयमा पढे बचेको समय जोगाउँदै सरकारले तोकेको बेलामात्रै काम गर्न पाइन्थ्यो। थोरै समय काम गरेर कमाएको पैसाले धेरै अभावहरू टार्नुपर्ने!

प्रवासमा सीमित समयमा काम गर्दा खर्च पुग्दैनथ्यो। घरमा मागौं भनेपनि आफू जापानमा भएको, सक्दा आफैंले पठाउनुपर्ने हो। खर्च कटाएर १०/२० हजार रुपैयाँ पठाउँदा पनि घरमा निकै खुशीयाली छाउँथ्यो।

पर्वतको जलजला गाउँपालिका–६ का पुरुषोत्तम सुवेदी जापानमा यसैगरी पाँच वर्ष बसे। अध्ययन भिसामा जापान पुगेका उनले उतै समाजशास्त्रमा स्नातकोत्तर गरे। पाँच वर्षको योजना बनाएर जापान पुगेका सुवेदीले पढाइ र जापान बसाइलाई सँगै टुङ्ग्याए।

​जापान बसाई, पढाइ अनि कमाई। परिवार र गाउँलेलाई लागेको थियो : अब पुरुषोत्तम जापानमै जम्छन्। व्यापार, व्यवसाय वा राम्रो जागिर गर्लान्। निकै कमाउलान र बुढ्यौलीमा देश फिर्लान् ! 

गाउँले र परिवारको कल्पना विपरीत पुरुषोत्तम नेपाल फर्किए। बाल्यकालमा आफ्ना बाबुले गरेको पशुपालन व्यवसायबाट उनी निकै प्रभावित थिए। उनको आँखा मा कृषिका जागिरे बाबुले घरमै बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गरेको घुमिरहन्थ्यो। जापानमा काम गर्दाको दुःख, त्यहाँबाट हुने आम्दानी, खर्च र नेपालमा पशुपालनबाट बाबुले गरेको आम्दानी तुलना गरिरहेका थिए।

पढाइ सकिएपछि पुरुषोत्तम कुनै जागिर वा व्यवसायका लागि होइन, आफ्नै पुर्ख्यौली पेशा गर्नेगरी घर फर्किए।

जापानमा बसेको, स्नातकोत्तर पढेको व्यक्तिले बाख्रा पाल्छन् भन्दा अहिले पनि हाम्रो समाजले जिब्रो काड्छ। तर पुरुषोत्तमले भने पसिनाको मूल्य आफ्नै माटोमा खोज्न थालेका छन्। ‘युवालाई यहीँको माटोमा सुन फलेको देखाउनु छ,’ उनी भन्छन् ‘अर्काको मुलुकमा जस्तो मेहनत गरे आम्दानी यहीँ छ।’ आफ्ना बाबु कूलप्रसाद सुवेदीको पुर्ख्यौली व्यवसायबाट प्रभावित भएर व्यवसायिक बाख्रापालन थालेको सुवेदी बताउँछन्।

सुवेदीले गाउँमा स्थानीय जातका बाख्राको फार्म खोलेका छन्। सुट बुटमा सजिएर जागिर खान जाने योग्यता भएपनि उनी लौरो समातेर बाख्राको पछि दौडिन्छन्। ‘पशुपालन, कृषिका काम गर्ने भनेकै पढेकाले हो, तब पो उपलब्धि हात पार्न सकिन्छ,' सुवेदी भन्छन्‌, ‘आफ्नो घरमा बसेर बाख्रा पालनबाट हुने आम्दानीले मलाई सन्तुष्टि दिएको छ।’

गाउँघरमै मिहिनेत गरी आटोपीठो खाई परिवारसँग रमाएर पनि कमाउन र बचाउन सकिन्छ भन्ने उदाहरण हुन्‌ उनी। उसो त उनका बाबु सेवानिवृत्त कर्मचारी हुन्‌। जेठो दाजु जापानमै व्यवसाय गर्छन्‌ भने माइलो दाजु शिक्षण पेशामा आवद्ध छन्‌। श्रीमतीको पनि सरकारी जागिर छ। तर, उनी परिवारले कमाएको सम्पत्तिमा रमाउनुभन्दा पनि आफूले पनि थप परिश्रम गर्नुमा रमाइरहेका छन्‌।

​सुवेदीले स्थानीय खरी र जमुनापारी जातका बाख्रा पालेका छन्। उनले गत वर्षबाट बाख्रा फार्म सञ्चालनमा ल्याएका हुन्‌। बाख्रापालनबाट आम्दानी हुन थालिसकेको छ। 

सुवेदी भन्छन्‌, ‘जापानमा बचाउने जति त मैले यहाँ पनि कमाउँछु,व्यवसायिक लक्ष्य राखेर बाख्रापालन गरिरहेको छु, वर्षमा चार/पाँच लाख कमाउँदा पुग्छ।’ उनले बाख्रापालनका लागि आफ्नो पुर्ख्यौली सम्पती र छिमेकीको जग्गा भाडामा लिएर सात रोपनीमा पोसिलो घाँस लगाएका छन्। पाँच लाख रुपैयाँ खर्चेर स्थानीय जातका २५ वटा माउ बाख्रा खरिद गरेका छन्। 

‘बाख्राको जुत्तो खेतिपातीका लागि अति नै उत्तम मल हुन्छ, त्यहि मलको प्रयोग गरेर खेतिपातीमा पनि परिवर्तन गर्नुछ’ उनले भने ‘तरकारी, फलफूल, खाद्यान्न र घाँस खेतीलाई समेत व्यवसायिक गर्ने योजना छ।’ व्यवस्थित खोर, घाँसको व्यवस्थापन, बाख्राको मलको उपयोग र आम्दानीका लागि मेहनत उनको फार्मबाट सिक्नुपर्ने विषय हुन्। उनले अहिलेसम्म कसैको सहयोग वा अनुदान लिएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.