प्रतिकार्य योजना बनाएर तत्काल काम थाल्न आग्रह

|

काठमाडौं : सोमबार बेलुकीसम्म मुलुकभर कोरोना संक्रमित संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। १९ हजार ६ सय २४ जनामा संक्रमण निदान भइसकेको छैन।

संक्रमितको संख्या २५ हजार नाघे सरकारले फेरि लकडाउन गर्ने बताइसकेको छ। तर, यसबीचमा कोभिड उपचार केन्द्र र आइसोलेसन भने थपेको छैन। यतिखेर लामो दूरीमा यातायात सेवा सञ्‍चालन भएको छ। मानिसको जमघट र भेटघाट बढेसँगै मुलुकभर संक्रमण दर बढिरहेको छ।

यो समाचार तयार पार्दासम्म पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्। सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै संक्रमित संख्या २२ हजार ३ सय २४ पुगेको छ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न अहिलेसम्म विशेष संयन्त्र बनाइएको छैन। स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको भूमिका पनि प्रभावकारी देखिएको छैन।

अत्यधिक जनघनत्व रहेको र देशभरको सम्पर्क केन्द्र संघीय राजधानी काठमाडौंमा कोरोना नियन्त्रण गर्न अब प्रतिकार्य योजना नै आवश्यक भएको विज्ञहरु बताउँछन्। दैनिक ६ सय भन्दा धेरै संक्रमित भेटिइरहेकाले तत्काल नियन्त्रणका लागि पहल नगरे स्थिति भयावह हुनसक्ने उनीहरू बताउँछन्।

​सरकारी प्रयोगशालामा रातभरि लाइन लागि कोरोना परीक्षण गर्ने गरेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिकजसो ५ सयदेखि ६ सय मानिसको परीक्षण हुने गरेको छ। लकडाउन खुलेपछि रोजगारीका लागि मानिसहरू काठमाडौं आएसँगै संक्रमित संख्या पनि बढेको हो।

कोरोना परीक्षणको गर्नका लागि केन्द्र सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ। स्थानीय सरकार र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छन्।

कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका कन्ट्याक्ट ट्रेसिङको हुन्छ। तर, कन्ट्याक्ट ट्रेसिङ पनि प्रभावकारी रुपमा हुन सकेको छैन। संघीय सरकार र स्थानीय सरकारको बीचमा तालमेल हुन नसक्दा काठमाडौं उपत्यका कोरोना संक्रमणको हब बन्दै गएको छ।

संघीय सरकारको कोरोना नियन्त्रणमा भूमिका देखिएन

केन्द्र सरकारले कोरोना नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दै गएको मध्यपुर ठिमी नगरपालिका तथा उपत्यका नगरपालिका फोरमका सचिव मदन सुन्दर श्रेष्ठ बताउँछन्। लकडाउन खोलेपनि सार्वजनिक यातायात खोल्न नहुने उनले बताए। 'लकडाउन खोलेर कोरोनालाई जिस्क्याएको जस्तो भएको छ,' उनले भने, 'उपत्यकामा लामो दूरीको यातायात खोल्नु कोरोना भित्र्याएको जस्तो भएको छ।'

केन्द्र सरकारले सीमित आइसोलेसन र उपचार केन्द्र बनाएको उनको ठहर छ। केन्द्र सरकारको अविवेकी निर्णयको कारण काठमाडौंमा कोरोना थपिएको उनको दाबी छ। स्थानीय तहमा अझै पनि कन्ट्याक्ट ट्रेसिङ हुन नसकिरहेको उनले बताए।

कन्ट्याक्ट ट्रेसिङलाई पहिलो प्राथमिकता

काठमाडौंमा सबैभन्दा बढी कोरोना देखिएको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ बढाइएको काठमाडौं स्वास्थ्य कार्यालयका प्रवक्त पार्वती विष्टले बताइन्। काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमित रहेकोले त्यस क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ बढाइएको उनले जानकारी दिइन्।

'आइसोलेसन सेन्टरमा संक्रमितलाई लगेर राख्ने काम भइरहेको छ,' उनले भनिन, 'स्थानीय सरकारले आइसोलेसनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। स्वास्थ्य कार्यालयले पनि स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउनलाई निर्देशन दिइरहेको छ।' हरेक स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको कामलाई बढाइरहेको उनले सुनाइन्।

कोरोना नियन्त्रणको लागि नीति बनाउँ

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेकाले कोरोना प्रतिकार्य योजना ल्याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी बताउँछन्। कोरोना नियन्त्रण गर्नलाई छुट्टै नीति नबनाए काठमाडौंमा संक्रमणको दर बढेर संकट बढन सक्ने उनले बताए। कोरोना हटस्पट भएको क्षेत्र पत्ता लगाई परीक्षण दायरा बढाउनुपर्ने उनको भनाइ छ।

डा. तिवारीले भने, 'आइसोलेसन सेन्टर बनाउनुपर्छ, कोभिड उपचार केन्द्र थप्दै जानुपर्छ। अहिलेको अवस्थामा कोरोना संक्रमितलाई सुरक्षित तरिकाले उपचार र परीक्षण दायरा बढाउनुपर्छ।‘

काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमित संख्या २५ हजार पुगे पनि उपचार गर्नका लागि निजी र सरकारी अस्पतालसँग क्षमता रहेको उनको भनाइ छ। परीक्षण दायरा बढाएर संक्रमित पहिचान गरी आइसोलेसनमा राख्न उनी सुझाउँछन्‌।

​सरकारले सक्रिय संक्रमितको संख्या २५ पुगेमा लकडाउन गर्छु भन्ने धारणा सार्वजनिक गर्नु अवैज्ञानिक रहेको उनले स्पष्ट पारे। केही ठाउँमा दुई सयको संख्यामा संक्रमित रहेका छन्। 

आइसोलेसन सेन्टर र उपचार केन्द्र स्थापना गर्नुपर्ने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.