अमेरिकामा महिना दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा लाखौं मतदाताले स्यमं सामेल भएर वा हुलाकमार्फत भोट खसाल्दैछन्। तर, तीमध्ये एक अमेरिकीले अन्तरिक्षबाटै चुनावी प्रक्रियामा भाग लिने पक्का भएको छ।
नासा वैज्ञानिक तथा हवाई इन्जिनियर केट रबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने भएकी हुन्। अमेरिकामा चुनावी प्रक्रिया चलिरहँदा उनी पृथ्वीबाट ३०० किलोमिटरको दूरीमा हुनेछिन्। उनले त्यहीँबाट भोट खसाल्ने र सम्पूर्ण प्रक्रिया मिलाइसकिएको नासाले जनाएको छ। अमेरिकामा सन् १९९७ देखि नै अन्तरिक्षबाट भोट खसाल्न पाइने कानुनी व्यवस्था छ।
चुनावको केही दिनअघि दुई रुसी वैज्ञानिकसँगै रबिन्स ६ महिनाका लागि अन्तरिक्षमा प्रवेश गर्दैछिन्। त्यहाँ रहँदा उनीहरूले लेजरमार्फत चिसिएका परमाणुहरूको अध्ययन तथा कार्डियोभास्कुलर परीक्षणसमेत गर्नेछन्। रबिन्सले सन् २०१६ मा अन्तरिक्षमा डिएनए सिक्वेन्सिङ गर्ने कार्यमा सफलता प्राप्त गरी रेकर्ड कायम गरेकी थिइन्।
नासाले जनाएअनुसार, रबिन्सको मतदाता नामावली दर्ता भएको काउन्टी क्लर्कको कार्यालयले एउटा सुरक्षित इलेक्ट्रोनिक मतपत्र स्पेस–मिशन नियन्त्रण केन्द्रलाई उपलब्ध गराउनेछ। उक्त मतपत्र स्पेस सेन्टरका वैज्ञानिकहरूले रबिन्ससमक्ष पुर्याउनेछन्। रबिन्सले आफ्नो मत प्रकट गरी फिर्ता पठाएको मतपत्रलाई पुन: गोप्य रुपमा काउन्टी क्लर्कको कार्यालयमा पठाइनेछ। यसरी उनको मत गणना हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।