|

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले पुरुष १८ औं शताब्दीमै रहेकाे बताएकी छन्। उनले हरेक महिला एक पाइला अघि बढ्दा दुई पाइला पछि हट्नु पर्ने अवस्था रहेको बताइन्। 

नेपाल महिला संघले  आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै देउवाले पुरुष प्रधान समाजमा अझै पनि महिलालाई अघि बढ्न धेरै गाह्रो रहेको बताइन्। महिलालाई अधिकार दिने पार्टी नेतृत्व नै १८ औं शताब्दीमै रहेकाे बताउँदै उनले यसलाई रोक्नुपर्ने धारणा राखिन्।  उनले भनिन् ‘महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्, महिला अन्तरिक्षमा पुगिसके पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्छन् तर पुरुष भने महिलालाई नेतृत्वमा जान दिँदैनन्।'

नेपालको संविधान र कांग्रेस पार्टी विधानमा पनि महिलाको बारेमा धेरै कुरा लेखिएको भए पनि व्यवहारिक कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। कांग्रेस पदाधिकारीमा एकजना मात्र महिला हुनु विडम्बनापूर्ण अवस्था रहेको उनको टिप्पणी छ।

अब जुन पार्टीले महिलालाई अघि बढाउँछ सोही पार्टी अघि बढ्ने देउवाको विश्लेषण छ। क्षमता राख्ने महिलालाई अघि बढाउन पार्टी नेतृत्वलाई उनको सुझाब छ। 

नेपालका राजनीतिक महिलालाई पार्टीले अवसर दिने हो भने महिला आफ्नै खुट्टामा टेकेर अघि बढ्न सक्ने देउवाको भनाइ छ। ‘पुरुष हुँदैमा जन्मँदै क्षमता लिएर आउने होइन, सबैकुरा समाजले नै स्थापित गर्ने हो, महिलालाई नेतृत्वमा जान पार्टीले नै छेकेको छ’, देउवाले भनिन्। 

पार्टी संगठनमा कम्तिमा ३३ देखि ४० प्रतिशत सदस्यता पुर्याउन पनि उनले सुझाव दिइन्।   महिलाको पहिचान स्थापना हुने गरी पार्टीमा स्थान स्थापित गर्न पनि उनले आग्रह गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.