|

अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ। सरकारले प्रतिशोध साधेका कारण यो स्थिति आएको एमनेस्टीको ठहर छ।

विदेशी चन्दासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाउँदै भारत सरकारले एमनेस्टीको बैंक खाता रोक्का गरिदिएपछि यो स्थिति आएको हो। बैंक खाता रोक्का भएका कारण संगठनको अघिकांश काम ठप्प भएको एमनेस्टीले जनाएको छ।

भारत सरकारले मानवाधिकारवादी संगठनहरूविरुद्ध अभियान नै सञ्चालन गरेको आरोप लगाउँदै एमनेस्टीले सरकारले नियतवश आधारहीन आरोप लगाएको दाबी गरेको छ।

‘भारतमा हामीले अभूतपूर्व परिस्थितिको सामना गरिरहेका छौं। भारत सरकारले हामीमाथि सुनियोजित रुपमा आक्रमण गर्ने‚ अपमान गर्ने र दु:ख दिने काम गरिराखेको छ’‚ एमनेस्टी भारतका वरिष्ठ अधिकारी रजत खोसलाले भनेका छन्‚ ‘हामी मानवाधिकारको क्षेत्रमा क्रियाशील छौं। तर‚ सरकार हामीले उठाएका प्रश्नको जवाफ दिन चाहँदैन। चाहे त्यो दिल्लीको दंगाबारे हामीले गरेको अनुसन्धानको सवालमा होस् वा जम्मु कास्मीरमा दवाइएका आवाजका बारेमा होस्।’

गतमहिना जारी एक रिपोर्टमा एमनेस्टीले दिल्लीमा भएको पछिल्लो हिन्दु–मुस्लिम दंगामा प्रहरी र सरकारको भूमिकामाथि चर्को प्रश्न उठाएको थियो।

सन् २००९ मा पनि भारतमा एमनेस्टीको गतिविधि केही समयको लागि रोकिएको थियो। कांग्रेस आई नेतृत्वको गठबन्धन सरकार भएको समयमा एमनेस्टी भारतको विदेशी चन्दासम्बन्धी अनुमतिपत्र पटकपटक रद्द गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.