युवा उमेरमै बढ्दैछन् रोगी
युवा उमेरमै बढ्दैछन् रोगी
काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेसँगै हरेक समूहका मानिसले यसबाट बच्न सावधानी अपनाउन थालेका छन्।
विश्व स्वास्थ्य संगठनले ६० वर्ष उमेर कटेका वृद्धवृद्धा, दीर्घ रोगी, मुटुका रोगी, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास आदिका बिरामी कोरोनाको उच्च जोखिमको समूहमा राखेको छ।
जसमध्ये मुटुका रोगी पनि उच्च जोखिममा पर्छन्। उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले कोरोना संक्रमणको उच्च जोखिममा पर्ने चिकित्सक बताउँछन्। कोभिड संक्रमणबाट हाल सम्म जति मानिसको मृत्यु भएको छ त्यसमा धेरै मुटु लगायतका दिर्घ रोगी रहेका छन्।
मुटु रोगीमा यसकारण कोरोनाको संक्रमणको उच्च जोखिम
कोरोना संक्रमणले मुटुको स्वाथ्यमा प्रत्यक्षण अप्रत्यक्ष प्रभाव पार्ने गर्छ। कोभिड संक्रमण भइसकेपछि श्वासप्रश्वासमा समस्या आउने हुँदा यसको प्रत्यक्ष प्रभाव मुटुको चालमा पर्ने गर्छ।
जसलाई चिकित्सकीय भाषामा माइयोकायोटेक भनिन्छ। कोभिड संक्रमणले मुटुको चाल गडबड गराउने, मुटुको मांशपेशी कमजोर गराउँछ। अप्रत्यक्ष रुपमा मुटु रोगीहरूले कोभिड संक्रमणबाट जोगिन सजगता अपनाउनुपर्ने हुन्छ। कोरोना संकटमा नियमित अस्पतालमा गरिने परीक्षण, खानुपर्ने औषधि बीचमै छोड्दा प्रेसर, कोलेस्टेरोल बढेर उच्च जोखिम हुने गर्छ।
आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । ‘मन लगाऊँ, मुटु बचाऊँ’ भन्ने नाराका साथ यो वर्षको विश्व मुटु दिवस मनाइँदैछ। नेपालमा यो दिवस विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइने गरिएको छ।
प्रत्येक वर्ष विश्वभर नै मुटुरोगीहरूको संख्या बढ्दै गएको पाइन्छ । विश्वमा बर्सेनि १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन्। यसमध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५५ छ। सन् २०३० सम्ममा यो संख्या बढेर ३५५ पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागि ठूलो चिन्ताको विषय हो ।
स्वस्थ जीवनशैली नै मुटुमा ऊर्जा भर्ने एक मात्र उपाय हो । यसबाट शरीरको प्रतिरक्षात्मक शक्तिमा बृद्धि भई कोरोना लगायतका संक्रमणसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । मुटु ऊर्जावान भए जीवन सशक्त बन्छ। मुटु स्वस्थ राख्नका लागि हामी आफैले काम गर्न सक्छौं ।
पौष्टिक खाना खाने, धुम्रपान मद्यपान नगर्ने, बढी चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने, सकेसम्म सागसब्जी फलफूल प्रयाप्त मात्रामा खानामा सामेल गर्ने र नियमित व्यायाम गर्ने गरियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसंख्याको २५५ अर्थात करिव ७५ लाख मानिस मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ,। यसैगरी २० प्रतिशतलाई कोलेस्टेरोलको समस्या छ ।
१० प्रतिशतलाई मधुमेह छ भने १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ। वर्षेनी १ हजार बालबालिकाको बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मृत्यु हुने गर्छ। उता बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनि बाथ–मुटुरोग कै कारण मृत्यु भइराखेको छ।
अध्ययनका अनुसार ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । यी कारणहरूले पनि नेपालमा मुटुरोग बढिरहेको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलसँग गरिएको कुराकानीमा आधारित
तपाईंको ईमेल गोप्य राखिनेछ ।