|

दार्चुला : दार्चुलामा सशस्त्र प्रहरीको एक थप बिओपी स्थापना गरिएको छ। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो। 

भारतसँग सीमा जोडिएको क्षेत्र दत्तुमा सशस्त्रको बिओपी राख्न स्वीकृत प्राप्त भएसँगै आइतवार दत्तुमा सशस्त्र प्रहरीको बिओपी उद्घाटन गरिएको सशस्त्र प्रहरी बलका ४४ नम्बर गुल्मपति नरेन्द्र बमले जानकारी दिएका छन्‌।

सीमा सुरक्षामा सशस्त्र खटाउन थालेपछि बैशाख ३१ गते नै त्रिदेशीय सीमा क्षेत्र नजिक व्यासको छाङरुमा बिओपी स्थापना गरिएको थियो। त्यहाँ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र टोली खटाइएको थियो भने अहिले उक्त क्षेत्रमा सशस्त्रको गुल्म उद्घाटन गरिएको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेको सशस्त्रको ५० नम्बर गुल्म छाङरुको नेतृत्व  डिएसपी धीरेन्द्र शाहले गरिरहेका छन्। असोज ९ गते मात्रै बिओपी रहेकै स्थानमा गुल्म स्थापना गरिएको हो।

छाङरुमा गुल्म उद्घाटन गरेको तेस्रो दिन भारतसँग सीमा जोडिएको क्षेत्र दत्तुमा पनि सशस्त्रको बिओपी स्थापना गरिएको हो। सुदूरपश्चिम सशस्त्र बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले दत्तु बिओपी उद्घाटन गरेको सशस्त्र प्रहरी ४४ नम्बर गणले जनाएको छ।

महाकाली नगरपालिका वडा नम्बर ९ कोे बेत, उडै, चुच्चै सकार तथा धाप क्षेत्रसम्मको इलाका रहने गरी सशस्त्र बिओपी राखिएको हो। सशस्त्र प्रहरी नायब निरीक्षक शंकर सिंह धानुकको नेतृत्वमा बिओपीमा सशस्त्र टोली खटिएको छ।

असार १८ गते एकैदिन सीमा क्षेत्रमा तीन ओटा बिओपी स्थापना गरिएको थियो। व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजीवि र लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा बिओपी उद्घाटन गरिएको थियो। त्यसैगरी कौवा र सुन्सेरामा पनि सशस्त्र बिओपी राख्ने तयारी भइरहेको छ। यसरी नियमित रुपमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाइदै लगिएको छ।

दत्तु बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले सीमा सुरक्षा र व्यवस्थापनमा इमानदार भएर कर्तव्य पालना गर्न निर्देशन दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.