|

काठमाडौं : मानिसहरुले ठगीका अनेक उपाय जानेका हुन्छन्। यस्तै ठगीको एउटा तरिकाको प्रहरीले मंगलबार खुलासा गरेको छ। काठमाडौंको कलंकीस्थति एक पोल्टी फर्ममा छापा मारेर प्रहरीले ब्रोइलर कुखुराका चल्लालाई रंग दली 'लोकल' बनाउनलेलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार यसरी रंग दलेर ब्रोइलरलाई लोकल भन्दै बेच्‍न लागेको अवस्थामा चारजना भारतीय नागरिक पक्राउ गरेका हुन्।

कलंकीस्थित जैसवाल पोल्ट्री फर्ममा छापा मारेर प्रहरीले ४५ वर्षीया चन्दा साह, ४२ वर्षीया प्रेमशिलादेवी जैसवाल, वकिल खान र सुनिता जैसवाललाई पक्राउ गरेको हो। उनीहरुले चलाएको पोल्ट्री फर्मबाट २८ सय ब्रोइलर कुखुराका चल्ला पनि बरामद गरिएको छ।

'उनीहरुले चितवनका दुई पोल्ट्री फर्मबाट लेयर्सको भन्दै चल्ला ल्याएको बताएका छन्', प्रवक्ता राठौरले भने, 'तर हाम्रो टोलीले बरामद गरेका सबैजसो चल्ला ब्रोइलरका भेटिएका छन्।'

राठौरले सुरुवाती अनुसन्धानबाट ती चल्ला उनीहरुले चितवनबाट नभइ भारतबाट लुकिछिपी छिराएको खुलेको बताए। भारतबाट नेपालमा पशुपंक्षी आयात निषेध गरिएको छ। 

पक्राउ परेकाविरुद्ध प्रहरीले ठगी र कालोबजारीमध्ये एक मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयसँग परामर्श गरिरहेको जनाएको छ। 'बरामद भएका चल्लालाई पोल्ट्री फर्ममै राखिएको छ', उनले भने, 'यो ठगीमा संलग्‍न अन्यबारे पनि अनुसन्धान गरिरहेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.