एउटै समीकरण बनाउन भेटघाट, पौडेल र देउवा गुट अप्ठ्यारोमा

|

काठमाडौं  : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई यतिबेला शीर्ष नेता भेट्न भ्याइ-नभ्याइ छ। यो सातामात्रै उनले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी उपसभापति विमलेन्द्र निधिसँग भेटघाट गरे। 

सभापति देउवासँग गत शनिबार ​भएको भेटमा महाधिवेशन कार्यतालिका हेरफेर र पार्टीभित्रको द्वन्द्वको विषयमा उनले छलफल गरेका थिए। सिटौलाले आफू पार्टीभित्रको अन्तरविरोध अन्त्य गरी कांग्रेसलाई चलायमान बनाउने योजनामा रहेको बताउँछन्।

‘म पार्टीको सबै अन्तरविरोध अन्त्य होस् भन्ने चाहना लिएर अघि बढेको छु,’ सिटौलाले थाहाखबरसँग भने, ‘मैले शनिबार सभापति ज्यूलाई, आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूलाई भेटेर यही विषयमा छलफल गरेँ।’ १३ औँ महाधिवेशनबाट आफ्नो छुट्टै गुट स्थापना गरेका सिटौला १४ औँ महाधिवेशनमा पनि आफ्नो छुट्टै समूह बनाएर जाने तयारीमा छन्।

सोमबार पार्टी उपसभापति विमलेन्द्र निधिसँग सिटौलाको भेटवार्ता भयो। सिटौलालाई भेट्न निधि आफैँ सिटौला निवास चण्डोल पुगे। करिब १ घण्टा चलेको छलफलमा १४ औँ महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो। ‘हामी दुई जनाबीच पार्टीको हालका गतिविधि र विवाद कसरी सल्टाउने भन्नेबारे छलफल भएको हो,’ निधिले भने। 

सिटौला र निधिबीच आगामी महाधिवेशनमा एकजुट भएर जाने विषयमा पनि छलफल भएको थियो। ‘उहाँहरू दुवै जना पार्टीको लागि दु:ख गरेर आएको मान्छे हो,’ कांग्रेसमा निधिनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘१४ औँ महाधिवेशनमा दुई नेताको समूह बन्ने सम्भावना छ। हिजोको (सोमबार) भएको छलफल त्यसमै केन्द्रित थियो। समीकरणका अरू कुराहरू पनि छलफलबाटै टुङ्ग्याउने कुरा भएको छ।’ 

'तपाईं त देउवाको गुटको भनेर चिनिनु भएको, अब सिटौला गुटमा मिल्न लाग्नु भएको हो?' भन्ने प्रश्नमा निधिले भने, ‘यस विषयमा मैले भन्नुपर्ने केही छैन, बिस्तारै समयले बताउँछ। हाम्रो छलफल सकारात्मक नै छ।’

सिटौला र निधि दुवै १४ औँ महाधिवेशनमा सभापति उठ्ने दाबीका साथ अघि बढिरहेका छन्। सिटौला त १३ औँ महाधिवेशनमा सभापतिमा पराजित उम्मेदवारसमेत हुन्। कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। यद्यपी, सदस्यता नवीकरण, क्रियाशिल सदस्यता वितरण, साङ्गठानिक संरचना समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन हुने सम्भावना लगभग अन्त्य भएको छ।

असोज १९ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सम्भावना पनि छ। कृष्णप्रसाद सिटौलाले साउनमै फागुनमा महाधिवेशन सम्भव नभएको र बैशाख या जेठमा गर्नुपर्ने सुझाव दिएका थिए। 

पौडेल समूहले सोमबार सभापति देउवा विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गरेको छ। पौडेलले आइतबार सिटौलासँगको भेटमा विरोधपत्रमा हस्ताक्षर गर्न आग्रह गरेपनि सिटौलाले गरेनन्। पौडेल पक्षका २७ नेताले हस्ताक्षर गरेको उक्त विरोध पत्रमा केन्द्रीय कार्यसमितिको बैठकअघि सभापतिले विधान विपरित गरेका सबै कामहरू खारेज गर्न माग राखिएको छ। ​

सिटौला–निधि मिले के हुन्छ ?  

‘उहाँहरू दुवै जना सभापतिको आकांक्षी हुनुहुन्छ। एउटै गुट बनाएर अघि बढ्न सक्ने अवस्था देखिँदैन,’ देउवा निकटका एक नेता भन्छन्।

निधिले साउन २९ गते देउवालाई भेटेर सभापतिमा लड्न लागेकाले सहयोग गर्न भनेका थिए। पछिल्लो समय निधिले हरेक जिल्लाका नेतृत्वसँग सम्पर्क गर्ने र आफूले नभ्याए आफू निकटका नेतालाई सम्पर्क गर्न लगाउने गरेका छन्।

‘सिटौलाजीसँग मात्रै हैन, शशांक, शेखरजीहरूसँग पनि छलफलको तयारीमा निधि हुनुहुन्छ,’ उनी निकटका एक नेताले भने, ‘उहाँ (निधि) प्रकाशमान सिंहलाई पनि एउटै समीकरण बनाउन आग्रह गर्ने मनस्थितिका साथ अघि बढ्नु भएको छ।’

कांग्रेसका १४ औँ महाधिवेशनमा झण्डै एक दर्जन नेता सभापतिका आकांक्षी छन्। सिटाैला-निधिकाे समूह बनेमा पाैडेल र देउवालाई ठूलै धक्का पुग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.