जनजीवन सामान्य तर काठमाडौं हटस्पट बन्दै

|

काठमाडौं : देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको बताए। उनका अनुसार मंगलबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ। 

सरकारले पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गर्दा संक्रमित पनि बढेका छन्। मंगलबार ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ। उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ। 

संक्रमितको संख्या ह्‍वात्तै बढिरहँदा डिस्चार्ज हुने क्रम पनि घटेको छ। एक महिनाअघि एकै दिन २१ सय जना डिस्चार्ज भएका थिए। तर मंगलबार ७ सय ३१ जना मात्रै कोरोनालाई जितेर घर फर्किएका छन्। साता अघिसम्म डिस्चार्ज हुनेको संख्या दैनिक हजारभन्दा माथि थियो। 

काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ।  यही दरमा सक्रिय संक्रमित बढ्दै गएमा सरकाले तेश्रो चरणको लकडाउन गर्नुपर्ने तर्फ बढेको छ। 

मंगलबार मात्रै संस्थागत आइसोलेसनमा ९ हजार जना संक्रमित रहेका छन्। त्यस्तै होम आइसोलेसनमा १० हजार ९ सय ९१ जना बसेका छन्। संक्रमण फैलिएसँगै गम्भीर बिरामी पनि बढिरहेका छन्। 

संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन्। ​

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन्। 

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र  सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन्।

प्रवक्ता गौतमका अनुसार देशभरका अस्पतालको आइसियुमा मात्रै २ सय १३ जनाको उपचार भइरहेको छ। जस अनुसार प्रदेश १ मा १६ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा ११० जना, गण्डकीमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णालीमा १७ जना र सुदूरपश्‍चिममा २ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।

उता कोरोनाले अत्यन्त गम्भीर अवस्थामा पुगेकामध्ये ३४ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. गौतमले जानकारी दिएका छन्। आइसियु र भेन्टिलेटरमा पुग्‍ने बिरामीको संख्या बढेसँगै डिस्चार्ज हुने दर पनि घट्दै गएको छ। 

मंगलबारसम्म मोरङ, सिरहा, ललितपुर, भक्तपुर, काठमाडौं, रुपन्देही र चितवन जिल्लामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। उनीहरुमा ५० प्रतिशतभन्दा धेरै होम आइसोलेसनमै बसिरहेका छन्। लक्षण देखिएकालाई मात्रै सरकारले अस्पतालमा भर्ना गरेको छ। 

स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना फैलिने दर तीव्र भएको जनाउँदै सबै सार्वजनिक सेवा तथा कार्यालय बन्द गर्न मन्त्रिपरिषद्‍मा सिफारिस पठाइसकेको छ। तर अहिले दैनिक जीवन पूरै सहज भए जस्तै देखिएको छ।

सरकारले यसअघि चैत ११ गते पहिलो पटक करिब चार महिना लामो लकडाउन गरेको थियो। त्यसक्रममा कोरोना संक्रमणको दर एकदमै कम थियो। संक्रमितहरु पनि भारत र तेस्रो देशबाट आएकाहरुमा मात्रै थिए।

लकडाउन खुलेसँगै स्थानीय संक्रमण देखिएपछि सरकाले काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। तीनवटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा मात्रै कोरोना नियन्त्रणमा आउने भन्दा थप ९ हजार संक्रमित काठमाडौंका तीन जिल्लामा थपिएका थिए। 

निषेधाज्ञाले कोरोना नियन्त्रण हुन नसकेपछि जनदबाबमा परेर सरकारले यसलाई हटाइदिएको थियो। यो हटेसँगै काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिँदैछ भने जनजीवन सामान्य अवस्था जस्तै देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.