|

काठमाडौं :  रूसले परीक्षणको तेस्रो चरणमा पुर्‍याएको कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। ​रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो।

परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन्‌। परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले थाहाखबरलाई  बताए।

उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ। खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ। एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो।

परीक्षण क्रममा रहेको खोपलाई 'बुक' गरेको अधिकारीले बताए। 'बुक गरेको खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ,' अधिकारीले भने, 'अहिले कम्पनी र रसियन फन्डसँग सम्झौता मात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा सहमति गरिएको हो।'

खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.