ठेक्का लागेको नौ वर्षमा बल्ल ६० प्रतिशत निर्माण

|

विराटनगर : रानी-विराटनगर-इटहरी-धरान सडकखण्ड व्यापारिक मार्ग विस्तारको काम ६० प्रतिशत पूरा भएको छ। सम्झौताअनुसार उक्त ६ लेनको सडकखण्ड आर्थिक वर्ष २०७५/७६ सम्म निर्माण गरिसक्नु पर्ने थियो।

सडक विस्तारको क्रममा विभिन्‍न भागमा विवाद भएर काम रोकिँदा निर्माण सुरु भएको नौ वर्षमा ६० प्रतिशत मात्र काम सकिएको हो।

आयोजनाका अनुसार अहिलेसम्म विभिन्न प्याकेजमा २२ किलोमिटर सडक कालो पत्रे गर्ने काम पूरा भएको छ भने विभिन्न प्याकेजमा नाका निर्माणसँगै सडक पेटी निर्माणको काम पनि भइसकेको छ।

२०६९ सालमा ठेक्का सम्झौता भएर उक्त सडकखण्डको स्तरोन्‍नतिको काम सुरु भएको थियो। कुल ४९ किलोमिटर सडक विस्तारको काममा अझै  पनि केही ठाउँमा विवाद कायम रहेकाले विस्तारका लागि ठेक्का लाग्‍न सकेको छैन।

सुनसरीको दुहबी र धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा घरहरु नहटाइएका कारण यी दुई खण्डमा ठेक्का लाग्न नसकेको उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनाको कार्यालयले जनाएको छ।

आयोजनका प्रमुख बद्री शर्माका अनुसार कुल लागत १० अर्ब रुपैयाँको आयोजनामा विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म सडक विस्तारका लागि पुलसहित १७ प्याकेजमा कुल ४४ किलोमिटरमा ६ लेनको सडक विस्तार गर्ने काम भइरहेको छ।

सुनसरी र मोरङको सिमानामा पर्ने बुढीखोलाको पुलको विस्तारका लागि २० करोड लागतमा पुल निर्माण भइरहेको छ। त्यसैगरी रानीदेखि सुनसरीको तरहरासम्म ३४ किलोमिटरको सडक विस्तारको काम चालु आर्थिक वर्षभित्र सम्पन्‍न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका प्रमुख शर्माले बताए।

‘सडक विस्तारको काम विभिन्न चरणमा विभिन्‍न कारण रोकिन पुगेको छ’, शर्माले भने, ‘रानीदेखि तरहरासम्मको प्याकेजको काम यही आर्थिक वर्षभित्र सम्पन्‍न गर्ने लक्ष्य राखेका छौं। दुहबी बजारमा रहेको समस्यालाई सुल्झाउने प्रयास भइरहेको छ।’

कोरोना महामारीका बेला पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम जारी रहेको शर्माले बताए। लकडाउनको अवधिमा धेरै ठाउँमा नाली निर्माणदेखि कालोपत्रे गर्न काम सम्पन्‍न भएको उनले बताए।

पहिलो चरणको विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म सडक विस्तारका लागि कञ्चनजघारपी एस गीताञ्जली जेबी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिष एपेक्स रोशन, कालिका कान्छा राम जेबी, तुक्जी रमन जेबी निर्माण कम्पनीलाई विभिन्न खण्डखण्ड गरेर नाली र सडक निर्माणसम्मको काम गरिरहेका छन्। 

अवरोध नै अवरोध

राष्ट्रिय गौरवको योजनाको रुपमा लिइएको यस सडक विस्तार गर्दा धेरै स्थानमा आवश्यक मापदण्ड अपुगको समस्या देखिएको छ। अर्कोतर्फ सडक विस्तारको क्रममा सरकारी निकायबीचको समन्वय अभावले उत्पन्न समस्या पनि उत्तिकै छ। परियोजना प्रमुख शर्माले बजेट अभावको समस्यासँगै रानीदेखि इटहरी हुँदै तरहरासम्मको ३४ किलोमिटर सडक विस्तारमा बिजुली, खानेपानी र टेलिफोन स्थानान्तरणको काम समयमै नहुँदा पनि समस्या भएको बताए।

‘सडक विस्तारको काममा सरकारी निकायबीचबाट पनि आयोजना सहयोग पाएको छैन,’ आयोजना प्रमुख शर्माले भने, ‘पटक–पटक सडकमा भएको बिजुलीको पोल, टेलिफोन लगायतका हटाउनुपर्ने संरचनाका लागि सम्बन्धित निकायलाई भनेका छौं। तर सडक विस्तार भइसकेको धेरै स्थानमा अहिले पनि सडकमै बिजुलीको पोल ठहरिएका छन्। सडक विस्तारमा स्थानीयको अवरोध छिचोल्न यतिकै गाह्रो छ।’ 

विराटनगरको रानीदेखि इटहरीसम्म नाली र फुटपाथ निर्माणसहितको पुल निर्माणबाहेक १६ प्याकेजमा काम भइरहेको छ। तर ठेक्का लागेको र काम भइरहेको रानीको भन्सार क्षेत्रमा सडक विस्तारका लागि आवश्यक जमिन उपलब्ध नहुँदा १७५ मिटर लम्बाइमा सडक विस्तारको काम अघि बढ्न नसकेको शर्माले बताए।

नहरदेखि एसलाल पम्पसम्म टेलिफोन र बिजुलीको पोल स्थान्तान्तरण गर्न काम भर्खरै पूरा भएको छ। त्यस क्षेत्रमा टेलिफोन र बिजुलीको पोलका कारण सडक कालोपत्रे गर्ने काम रोकिएको थियो।

विराटनगर महानगरले निर्माण गरेको विराटनगर प्रवेशको ढाटमा रहेको प्रवेशद्वार हटाउन पटक–पटक महानगरलाई पत्राचार गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको आयोजनाले जनाएको छ। दुई लेनको सडक हुँदा निर्माण भएको प्रवेशद्वार सडक ६ लेनमा विस्तार गर्दा भत्काउनुपर्ने अवस्था आएको हो।

सबैभन्दा पहिलो ठेक्का लागेर निर्माण भएको बरगाछी-एसपोर्ट सडक कालोपत्रे गर्न काम पूरा भए पनि रेलिङ र फुटपाथको काम अलपत्र छ। त्यसैगरी दुहबी बजार क्षेत्रको ६०० मिटर क्षेत्रमा सडकका लागि आवश्यक ३० मिटर चौडाइको मापदण्ड आवश्यक पर्ने भए पनि त्यस क्षेत्रमा १६ दशमलव ५ मिटर मात्र जग्गा उपलब्ध भएकाले ठेक्का पक्रियो रोकिएको छ।

बजार क्षेत्रमा पर्ने करिब ६० वटा घर सडक विस्तार आयोजनाभित्र पर्ने भए पनि अहिलेसम्म हटाउन सकिएको छैन। आयोजनाले सडक विस्तारभित्र पर्ने घरको क्षतिपूर्ति दिने बताए पनि पनि घरसहित जग्गाको मुआब्जाको विषयसमेत स्थानीय उठाएका कारण समस्या समाधान हुन नसकेको हो।

इटहरी बजार ट्यांग्रा खोलादेखि तरहरासम्म ५० मिटर चौडा सडकको मापदण्ड तय गरी ठेक्का लागे पनि धेरै घर भत्काउनु पर्ने भएपछि स्थानीयले अवरोध गरेकाले काम रोकिएको छ।

त्यस क्षेत्रको सडकको दुवैतर्फ पर्ने करिब २०० वटा घर हटाउनुपर्ने छ। घर हटाएर जमिन प्राप्तिका लागि आयोजनाले गत फागुन २० मा सार्वजनिक सूचना निकाले पनि अहिलेसम्म घर खाली गरेका छैनन्। त्यसैगरी धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा पनि सडक विस्तारको काम हुन सकेको छैन।

एक किलोमिटर भएको त्यहाँ बजार क्षेत्र भएकाले धेरै छन्। स्थानीयले अवरोध गर्दै आएकाले ठेक्का समेत लाग्न सकेको छैन। व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँबायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदैछ।

आँपगाछीदेखि तीनकुनेसम्म काम सुरु

आँपगाछीदेखि धरानको तीनकुनेसम्म वन क्षेत्रमा सडक विस्तारको काम चालु आर्थिक वर्षदेखि भइरहेको छ। नौ किलोमिटर दूरीको यस क्षेत्रमा वन परेकाले लामो समय ठेक्का लागेको थिएन। वन विभागले सडक विस्तारका लागि एक हजार ४३० वटा रुख कटानको अनुमति दिएपछि ८० करोड रुपैयाँको लागतमा सडक विस्तारको ठेक्का लागेको आयोजनाले जनाएको छ।

आयोजनाको प्रमुख शर्माका अनुसार यस क्षेत्रमा अहिले रुख कटानको काम भइरहेको छ। साढे चार किलोमिटरको दरले दुई खण्डमा ठेक्का लागेको उक्त सडकखण्डमा अहिलेसम्म ८०० वटा रुख कटान गरिएको छ। आँपगाछीदेखि सेउती खोलासम्म रौता कन्स्ट्रक्सन र सेउतीदेखि तीनकुनेसम्म हिम्डुङ एण्ड ठोकर प्यासफिकले ठेक्का पाएर काम अघि बढाएको छ। सम्झौताअनुसार तीन वर्षभित्र काम पूरा गर्नु पर्नेछ।

ठाउँपिच्छे फरक मापदण्ड

यस सडकखण्डको ठाउँपिच्छे फरक मापदण्ड तय गरिएको छ। रानीदेखि इटहरी हुँदै आँपगाछीसम्म काम भइरहेको स्थानमा कहीँ ३० मिटर त कहीँ ५० मिटर चौडाइको मापदण्ड कायम गरिएको छ। रानीदेखि दुहबी बजारसम्म सडक चौडाइ ३० मिटर कायम गरिएको छ। 

त्यसैगरी दुहबीदेखि इटहरी बजार क्षेत्र हुदै आँपगाछीसम्म ५० मिटर चौडाइ हुनुपर्ने मापदण्ड तोकिएको छ। मापदण्डमा एकरुपता नहुँदा इटहरी बजार क्षेत्रमा त्यसैलाई लिएर विवाद छ।

इटहरी बजार क्षेत्रमा सडक ५० मिटर चौडाइ हुनुपर्ने भएपछि स्थानीयले मापदण्डलाई लिएर सडक विस्तार कार्यलाई लामो समयदेखि अवरोध पुर्‍याउँदै आएको इटहरी-आँपगाछी खण्डको निर्माण ठेक्का पाएको कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर दिपक थिङले बताए।

‘सडक विस्तारका लागि पुग्दा मेसिन जलाइदिनेदेखि धरपकड गर्ने समेतको काम भयो,’ प्रोजेक्ट मेनेजर थिङले भने, ‘असुरक्षाका कारण काम गर्न असमर्थ भएपछि काम गर्न नसक्ने भन्दै आयोजनालाई जानकारी गराएका छौं। वातावरण तयार नहुञ्जेल काम अघि बढाउन सकिँदैन।’

किमाथांका सडकलाई सहयोगी

पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्त्वपूर्ण नाकाहरु छन्। तीमध्ये एउटा संखुवासभाको किमाथाङ्का नाका हो भने अर्को ताप्लेजुङमा पर्ने ओलाङचुङगोला नाका हो।

यी दुवै नाका भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्त्वपूर्ण ट्रान्जिट प्वाइन्ट हुन्। यी दुवै नाकालाई विराटनगरको रानी सीमामा जोगवनीसँग जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि गर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत बताउँछन्।

तिब्बतसँगको सिमाना किमाथांकाबाट पनि सडक निर्माणको काम अघि बढेको छ। जोगवनी नाकादेखि किमाथाङकासम्मको दूरी ३७६ किलोमिटर छ। यस सडकको ट्रयाक खोल्न ३४ किलोमिटर मात्रै बाँकी छ।

दुई वर्षभित्र तिब्बतको यो नाकालाई जोगवनीसम्म जोड्ने सरकारी लक्ष्य छ। भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.