|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनबीच बुधबार राति राष्ट्रपतीय निर्वाचन लक्षित पहिलो बहस सम्पन्न भयो। बहसमा दुवैले स्वास्थ्य‚ न्याय‚ नश्लीय विभेद तथा अर्थ व्यवस्थाबारे आ–आफ्नो धारणा राखे। दुवैले एकअर्काको चर्को आलोचना गरे।

कोभिड–१९ को महामारीबारे उठेको प्रश्नमा ट्रम्पले भने‚ ‘मेरो सट्टा बाइडन राष्ट्रपति भएको भए ठूलो संख्यामा अमेरिकीको मृत्यु हुने थियो।’ जवाफमा बाइडनले महामारीसँग लड्न ट्रम्पसँग कुनै योजना नै नभएको टिप्पणी गरे।

अमेरिकामा ७० लाख मानिसलाई कोरोना संक्रमण हुँदा दुई लाख मानिसको मृत्यु भइसकेको छ।

बाइडनले महामारीसँग जुध्ने क्रममा कमजोरी भएको भन्दै ट्रम्प प्रशासनको जमेर आलोचना गरे। ट्रम्पले राम्रो काम भएको भन्दै सरकारको बचाउ गरे। उनले भने‚ ‘हामीले मास्कको व्यवस्था गर्‍यौं‚ पिपिई किट र औषधिको व्यवस्था गर्‍यौं। केही सातामै कोरोनाको भ्याक्सिन पनि तयार हुँदैछ। मैले कम्पनीहरूसँग कुरा गरेको छु‚ भ्याक्सिन छिट्टै तयार हुँदैछ।’

साथै‚ ट्रम्पले भारत‚ रूस र चीनले कोरोनाका कारण ज्यान गुमाउनेहरूको तथ्यांक लुकाएको समेत आरोप लगाए।

मास्क र भौतिक दूरीको विषयमा चर्चा गर्ने क्रममा दुई नेताले एकअर्काको खिल्ली समेत उडाए। मास्क लगाउनेबारे गम्भीर नभएको भन्ने बाइडनको आरोपमा ट्रम्पले भने‚ ‘बाइडन २०० फिटको दूरीमा रहँदा पनि बडेमानको मास्क भिरेर आउँछन्।’

‘यस्तो कोरोना महामारीका बेला पनि ठूल्ठूला र्‍याली तथा सभा किन गर्नुभयो?’ भनी प्रस्तोताले सोधेको प्रश्नमा ट्रम्पले भने‚ ‘मैलेजति मान्छे जुटाउन सक्ने भए बाइडनले पनि त्यसै गर्थे।’

बाइडन राष्ट्रपति भएको भए १० करोड अमेरिकी कोरोनाका कारण मरिसकेका हुन्थे भन्ने ट्रम्पको टिप्पणीमा बाइडनले भने‚ ‘ट्रम्प झुटो बोल्छन् भन्ने दुनियाँलाई थाहा छ।’

ओहायोको क्लिभल्याण्डमा आयोजना गरिएको बहसमा दुवै नेताले एकअर्कालाई तल देखाउन सक्दो कोशिश गरे। बारम्बार एकअर्कालाई ‘सट अप’सम्म भने। बहसलाई बरालिन नदिन होस्ट क्रिस वालेसलाई हम्मेहम्मे परेको थियो। फक्स न्युजका ७२ वर्षीय न्युज एंकर बालेसले बहसलाई सक्दो सन्तुलित बनाए।

स्वास्थ्य प्रोटोकलका कारण ट्रम्प र बाइडनले एकअर्कासँग हात मिलाएनन्। कोरोनाको डरकै कारण बहसमा धेरै दर्शकलाई सामेल गराइएन। सामेल भएकालाई पनि पर्याप्त दूरी कायम हुने गरी राखिएको थियो।

ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडन‚ बाराक ओबामा राष्ट्रपति छँदा उपराष्ट्रपति थिए। उनी पाँच दशकदेखि राजनीतिमा सक्रिय छन्। विभिन्न निजी कम्पनीहरूले गरेको मत सर्वेक्षणमा बाइडन बलियो देखिएका छन्। आउँदो नोभेम्बर ३ का लागि चुनावको मिति तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.