काठमाडौं : मलेसियाको रोजगारीमा रहेका नेपालीलाई बन्धक बनाई रकम असुलेको अभियोगमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ।
मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालक मोरङको साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ स्थित कान्ति बाल अस्पताल अगाडिको सडकबाटै मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङको पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।
डेभिडले अपहरणपछि ती व्यक्तिका श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी आफ्नो नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन ६० हजार रिङ्गेट हाल्न लगाएका थिए।
मारिदिने धम्की दिएर फिरौती वापतको १५ लाख ९२ हजार रुपैयाँ खातामा जम्मा गर्न लगाएपछि अपहरित ती व्यक्तिलाई मुक्त गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
थप अनुसन्धान गर्ने क्रममा पीडितको राहदानी कब्जामा लिएर दुर्गाले नेपाल आउन नदिई अघोषित रुपमा बन्धक जस्तै बनाराइखेको खुलेको छ।
यो घटनापछि दुर्गा नेपाल आएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दुर्गालाई बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो।
दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली श्रमिकलाई धम्क्याई रकम असुली र कुटपिट गर्ने गरेको खुल्न आएको ब्यूरोले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।