बाबाजीको पूजामा सहभागी भए ४ लाख दिने सर्तमा लगेका थिए

|

विराटनगर : पैसाको प्रलोभन देखाई बलि दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र भण्टाबारीबाट युवतीद्वयलाई उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका उपरीक्षक कमल थापाका अनुसार सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षीया सुचिकला चौधरीको उद्धार गरिएको हो।

युवतीलाई भारत लाने क्रममा सिरहाको कृष्णसवण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी र लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षीय विवस कुमार साह पक्राउ परेका उपरीक्षक थापाले बताए।

नेपाल–भारत सीमा भण्टाबारी बीओपीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका अनुसार युवतीलाई लिएर सुनसरीको कोशी गाउँपालिका–८ पूर्वी टोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा उनीहरु समातिएका हुन्। 

प्रेमिका बनाएर सीमापार

भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन लगिएका युवतीलाई उनीहरुले प्रेमिका बनाएर लैजाने प्रयास गरेका थिए। प्रहरीका अनुसार घटनाका प्रमुख योजनाकारसमेत रहेका मन्सुरीले सुचिकलालाई प्रेमिका बनाएर सीमापार गर्ने योजना बनाएका थिए। सोहीअनुसार उनले प्रेमको जालमा फसाएर सुचिकार र उनकी साथी विपनलाई भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउने योजना बुनेका थिए। 

प्रहरीलाई उनीहरुले यही बयान दिएका छन्।  उपरीक्षक थापाले भने, ‘सुचिकलालाई मन्सुरीले प्रेमिका बनाएर फसाउन खोजेको अनुसन्धानबाट खुलेको छ।'

बाबाजीको पूजामा सहभागी भएपछि बाबाजीले ४ लाख रुपैयाँ दिने सर्तमा आफूहरुलाई सुनाएपछि दर्शन गर्न राजी भएको युवतीहरुले बताएका छन्।’ 

अविवाहित युवतीको खोजी

धार्मिक अन्धविश्वासको कारण भारतमा मानव बलि दिने चलन कायमै रहेकाले अविवाहित र कुनै पुरुषसँग संसर्ग नगरेको युवतीको खोजी गर्दै भारतीय गिरोहले आर्थिक लोभ देखाएर नेपाली नागरिकलाई नै परिचालन गरेको अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार विवशकुमार साह, महमद साहिल अन्सारीले प्रयोग गरेका २ थान मोबाइलमा अरु धेरै युवतीको तस्बिर र भिडियो फेला पारेको छ। उनीहरुलाई नेपाली युवतीहरुको खोजी गर्न भारतीय गिरोहले परिचालन गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

पक्राउ गरेको उनीहरुबाट बरामद मोबाइलमा राखिएका तस्बिर र भिडियोमा विभिन्न युवतीको उचाइ, हात खुट्टा र टाउकोका नापहरु लिँदै गरेको देखिएको छ।विपना र सुचिकलालाई उनीहरुले भीमनगरको कोसी ब्यारेज हुँदै भण्टाबारीबाट भारतीय सीमा कटाउन लागेका थिए। 

पक्राउ परेका साह र मन्सुरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा सुनसरीको हिरातसतमा राखिएको छ। उनीहरुले प्रयोग गरेको मोबाइलबाट कल डिटेल निकालेपछि युवतीको बलि दिन खोज्ने भारतीय गिरोहसम्मको सञ्जाल फेला पार्न सकिने प्रहरीले जनाएको छ। 

सीमा क्षेत्रबाट भारत लान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरे पनि भारतको कुन मन्दिरमा कुन बाबाजीले कस्तो पूजा गर्न लागेको भन्नेबारे प्रहरीले खुलाएको छैन। 

यसअघि मोरङ प्रहरीले पनि सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई विराटनगरको रानीस्थित सीमावर्ती क्षेत्रबाट उद्धार गरेको थियो।
गएको बुधबार (अविवाहित युवती) आवश्यक पर्ने पूजामा बस्दा टीका लगाएर पाँच हजार रुपैयाँ दक्षिणा दिने र एउटा मोबाइलसमेत किनिदिन्ने सर्तमा विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारततर्फ लिएर गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

यो पनि 

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.