गरीबको सेवामा जुटेको छु : मेयर प्रजापति

|

काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा ६ सय भन्दा माथिको हाराहारीमा बढिरहेका छन्। पछिल्लो केही दिन यता बढेको संक्रमित संख्याको ग्राफलाई नियाल्दा कोरोना केन्द्र उपत्यकाका तिनै जिल्ला बनेका छन्।

उपत्यकामा हालसम्म संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन्। भक्तपुरमा सबैभन्दा कम संक्रमित २ हजार १ सय २७ छन्।

पछिल्लो समय कोरोना नियन्त्रण गर्न तथा कन्टयाक ट्रेसिङ गर्ने सम्पूर्ण काम केन्द्र सरकारले मुलुकभरका स्थानीय तहलाई जिम्मा दिएको छ। हरेक स्थानीय तहले एक जना स्वास्थ्यकर्मीलाई कोरोना संयोजकत्व खटाएर कोरोना नियन्त्रण तथा परीक्षण र कन्टयाक ट्रेसिङको कार्यलाई तिव्रता दिइरहेका छन्।

कोरोना नियन्त्रण गर्नलाई सबैभन्दा बढी चुनौती स्थानीय तहलाई रहेको छ। कन्ट्रयाक ट्रेसिङको काम देखि संक्रमितको पहिचान गर्नेको जिम्मा स्थानीय तहलाई केन्द्रीय सरकारले सुम्पेको छ।

स्थानीय तहमा अभिभावकत्वको जिम्मा पाएका नगर प्रमुखहरु महामारीको समयमा यतिखेर नगरवासीलाई ढाडस दिदै हुनुपर्ने थियो। तर, केही नगर प्रमुखहरु आफै संक्रमित भइ होम आइसोलेसनमा बसेका, केही संक्रमण मुक्त भइ घरमा आराम गर्दैछन् र केही नगर प्रमुखहरु निरन्तर नगर बासीको सेवा र कार्यमा खटिरहेका छन्।   

यसै सन्दर्भमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा तीनै जिल्लाका मुख्य-मुख्य स्थानीय तहका नगर प्रमुखहरु के गरिरहेको छन भनी थाहाखबरले बुझ्ने प्रयास गरेको छ।

गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएका नगर प्रमुख  शाक्य  १३ औं दिनमा कोरोना जितेर घर फर्किएका थिए।

'कोरोना मुक्त भएपछि शाक्य एक दिन मात्र कार्यालय आए'

कोरोना मुक्त भएपछि महानगरमा गत साता बिहिबार मात्र नगर प्रमुख कार्यालयमा उपस्थित भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले जानकारी दिए। उनका अनुसार पुनः स्वास्थ्य अवस्था कमजोर भएकोले अहिले घरमा आराम गरिरहेका छन्।

नगर प्रमुख सचिवालय स्रोतका अनुसार दुई तिन दिनमा नगर प्रमुख शाक्य सार्वजनिक रुपमा नियमित काममा जान्छन्। पारिवारिक समस्या र स्वास्थ्यमा समस्या भएकोले शाक्य आराममा छन्।

सिङ्गो महानगरपालिका कोरोनाको महामारीको चपेटामा परिरहँदा पारिवारीक र व्यक्तिगत स्वास्थ्य समस्या देखाउँदै नगर प्रमुख विद्या सुन्दर शाक्य घरमा बस्दै आएका छन्।

'महर्जन होम आइसोलेसनमा'

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएपछि गत बिहिबारदेखि होम आइसोलेसनमा बसिरहेका छन्। सात दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन्। महानगरका प्रवक्ता राजु महर्जनले भने,' मेयर साबलाई १-२ दिन यता ज्वरो पुनः बढेको थियो। अहिले अवस्था सामान्य छ।'

नगरपालिकाको नियमित कामदेखि टाढा भएर बसेका छन्। स्वास्थ्य अवस्था सामान्य भएपछि नगर प्रमुख पुनः काममा फर्कने उनले जानकारी दिए।

'गरीबको सेवामा जुटेको छु'

कोरोना सुरु भएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको दैनिकी फेरिएको छ। महामारी सुरु भएपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएको निकै समय भएको नगर प्रमुख सुनिल प्रजापतिले सुनाउँछन्। उनले भने, ' मेरो सक्रियतामा सुविद्या सम्पन्न आइसोलेसन बनाएको छु। संक्रमितसँग दैनिक जसो भिडियो कल मार्फत संवाद गरिरहेको हुन्छु।'

भौतिक र सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले 'जुम' मिटिङ बाट कार्यपालिका सदस्यसँग छलफल गरिरहेको पनि उनी सुनाउँछन्। कार्यालयमा सिमित कर्मचारी राखेर काम भइरहेको उनको भनाइ छ।

'आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेद,जडिबुटी खान दिएको छ,' प्रजापतिले भने,' आइसोलेसनमा बसेका संक्रमित गरीब परिवारका छन्। हामीले सेवा गर्ने भनेको नै गरीब र अशक्त जनताको हो। धनी हरु आफै मँहगो होटलमा बस्न सक्छन्।'

उनी सामुदायिक विद्यालयका शिक्षकसँग 'जुम' बाट छलफल गरिरहेका छन्। विद्यार्थीको अवस्था र विद्यालय कहिले देखि सञ्चालनमा ल्याउन सकिन्छ त्यसको सम्पूर्ण विषयमा जानकारी लिने गरेको उनले सुनाए।

'होम आइसोलसनमा बसेका संक्रमितको कुरा सुन्छु'

त्यसैगरी,मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको दैनिकी  अन्य नगरप्रमुख भन्दा भिन्नै रहेको छ। बिहानै २ घन्टा होम आइसोलेसनमा बसेकाहरुको बारेमा उनी बुझ्ने गर्छन्।

कोरोना हुनुभन्दा अगाडि जस्तो दिनभर कार्यालयमा नबस्ने श्रेष्ठ बताउँछन्। उनले भने,' कार्यालयमा २ घण्टा बस्छु। पुनः दिउँसो फिल्डमा जान्छु। आइसोलेसन सेन्टर जान्छु। संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ त्यसको सबै विवरण लिने गरेको छु।'

उनका अनुसार अन्य दिनको तुलनामा यस नगरपालिकामा संक्रमितको संख्या घट्दै गएको छ। कन्टयाक ट्रेसिङ र परीक्षणलाई प्राथमिकतामा राखी काम गरिरहेका उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.