विश्लेषक भन्छन् : समझदारीलाई पालना नगर्दा समस्या देखियो

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी मुख्य सचिवदेखि राजदूतसम्म नियुक्त गरेपछि सत्तारुढ नेकपाभित्र नयाँ चरणको विवाद देखिन थालेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर बेलायतका राजदूतका लागि र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यति मात्रै नभइ त्यही मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्तिसमेत गरेको छ। त्यो नियुक्तिलगत्तै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि स्थायी कमिटीसम्मका नेताहरुले असन्तुष्टि जनाएका छन्।

फेरि दुर्घटना

यसअघि बसेको स्थायी कमिटी बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति दिँदा पार्टीमा परामर्श गर्न प्रधानमन्त्रीलाई कार्यादेश दिएको थियो। तर ओलीले पुनः एकलौटी ढङ्गले अघि बढ्न खोजेको उनीहरुको आरोप छ। नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको पछिल्लो कदमले पार्टीमा फेरि पुरानै विवाद बल्झिने बताएका छन्।

थाहाखबरसँग कुरा गर्दै नेता रावल अन्तरपार्टी निर्देशनअनुसार सरकार नचल्ने हो भने पार्टीमा निर्णय गर्नुको कुनै अर्थ नहुने बताउँछन्। पार्टी निकै ठूलो विवादको भुमरीमा परेका बेला भदौ २६ गतेको स्थायी कमिटी बैठकले छलफल गरी २९ गते अन्तरपार्टी निर्देशनको रुपमा जारी भएको निर्णयलाई प्रधानमन्त्रीले लत्याउन खोज्दा विवाद फेरि सतहमा आउने उनको तर्क छ।

‘भदौ २६ गतेको स्थायी कमिटी बैठकमा छलफल गरेर २९ गते अन्तरपार्टी निर्देशनको रुपमा जारी भएको निर्णयअनुसार सरकार नचल्ने हो भने त पार्टीको विवाद पुनरावृत्ति भइहाल्छ नि', नेता रावलले भने ‘ यसअघि पार्टीमा देखिएको त्यति ठूलो विवाद समाधान गर्न महाधिवेशनतिर जाने भनेर जुन निर्णय हामीले गर्‍यौँ, त्यसको कार्यान्वयन नहुने हो भने त फेरि पार्टी र देश ठूलो दुर्घटनातिर जाने अवस्था छ।’

नेम्वाङको फरक तर्क

नेकपाका संसदीय दलका उपनेता समेत रहेका अर्का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने राजनीतिक नियुक्ति सरकारको कार्यक्षेत्रभित्रको बिषय भएको तर्क गर्छन्।

‘प्रधानमन्त्री र मन्त्रिपरिषद्ले आफ्नो राजदूत नियुक्ति नगरे कसले सरकार चलाउने?', थाहाखबरसँग बोल्दै नेम्वाङले प्रश्‍न गरे, ‘यो सरकारको कार्यक्षेत्रभित्रको कुरा हो। प्रधानमन्त्री अर्का अध्यक्षसँग निरन्तर छलफलमा हुनुहुन्छ। यो सबै कुरालाई ध्यानमा राखेर उपर्युक्त निर्णय भएको हुनुपर्छ।’

नेता नेम्वाङको भनाइमा रावल विमति जनाउँछन्। 'यदि सरकार पार्टीको निर्देशनमा नचल्ने हो भने, स्थायी कमिटीमा किन निर्णय गरेको? दलीय व्यवस्था किन अपनाएको?', नेता रावलले प्रश्‍न गर्दै भने, ‘कुनै पनि ब्यक्ति, नेता, प्रधानमन्त्रीले पार्टीको मार्गनिर्देशनमा नचल्ने हो भने, त्यसको आवश्यकता नपर्ने भए किन स्थायी कमिटीले निर्णय गर्नुपर्थ्यो? त्यहाँ (बैठक) मा निर्णय गर्ने बेलामा गर्नुपर्दैन भनेको भए, त्यो निर्णय नगरेर अर्को निर्णय हुन्थ्यो नि।'

नेताहरुको अपमान 

अमेरिकाको लागि राजदूतमा सिफारिस डा. खतिवडातर्फ संकेत गर्दै नेता रावलले एउटै व्यक्तिलाई बारम्बार योजना आयोग, गर्भनर, अर्थमन्त्री, म्याद सकिए पनि फेरि अर्थमन्त्री, आर्थिक सल्लाहकार र फेरि राजदूत बनाउनुले नेकपामा ठूलो बलिदानी गरेका नेताहरुको अपमानसमेत भएको बताए। 

ओली हठले तनाव

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भने यो नेकपाको पुरानै रोग भएको बताउँछन्। पार्टीलाई विश्वासमा लिन नचाहने प्रधानमन्त्री ओलीको हठका कारण नेकपामा यस्तो विवाद आइरहने उनको विश्लेषण छ।

‘प्रधानमन्त्री ओली पार्टीसँग परामर्श गरेर निर्णय गर्ने पक्षमा नरहेको त फेरि पनि देखियो, उहाँ एकल निर्णय गर्न चाहनुहुन्छ, यसलाई पार्टीले कसरी लिन्छ, त्यसैमा भर पर्छ’, उनले थाहाखबरसँगको कुराकानीमा भने,‘घटनाक्रमलाई हेर्दा समझदारी गरेर फेरि उही कुरा दोहोर्याउने देखियो। यसअघि पनि यस्तै अवस्था दोहरिएकाले प्रधानमन्त्रीमा यिनीहरुले मेरो विरोध त गर्छन्, तर अन्त्यमा मेरो कुरा मान्‍न बाध्य हुन्छन् भन्‍ने छाप स्थापित भइसकेको देखिन्छ।’

प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले पार्टीलाई विश्वासलाई लिनुपर्ने मान्यता रहि आए पनि ओलीले त्यसो नगर्दा पटक-पटक विवाद बल्झिने गरेको उनको बुझाई छ।

‘पार्टीको विश्वास प्रधानमन्त्रीले लिनै पर्छ भनेर संविधानले त भनेको छैन', उनले भने, 'तर पार्टीले नै उहाँलाई प्रधानमन्त्री बनाएकाले पार्टीलाई विश्वासमा लिएर जाँदा  अवाञ्छित द्वन्द्व पुनर्जागृत हुने अवस्था आउँदैनथ्यो।' 

राजदूत नियुक्तिलाई संसदीय सुनुवाइ समितिले रोक्न सक्ने भए पनि सरकारको यो निर्णयले कोरोना महामारीका बेला देश र जनताको ध्यान फेरि विषयान्तर हुने देखिन्छ। 

तर कोरोनाको महामारीमा सरकारले गर्नुपर्ने काम नहुने उनको चिन्ता छ। उनले भने ‘यो घटनाले देश र जनताको ध्यान अन्यत्र मोडिन्छ, गर्नुपर्ने काम हुँदैन, राष्ट्रको समस्या झन् बढ्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.