एग्रोभेटले नक्कली धानको बीउ भिडाए

|

सर्लाही : धानको बालामा दाना नलागेपछि जिल्लाका किसानहरू मारमा परेका छन्। बागमती र बरहथवामा नगरपालिकामा किसानले लगाएको सयौँ बिघामा फल्ने बेलाको धानमा बाला लागे पनि दाना भने लागेका छैनन्। 

उन्नत जातको भनेर लगाएको धानमा बाला लागेको तर दाना नलागेको बागमती नगरपालिका–७ ईश्वरीटोल राजघाटका पानबहादुर लामाले गुनासो गरे। बीउ वितरकले प्रतिकठ्ठा ५÷६ मनसम्म फल्छ भनेर दिएको धानमा अहिले बालामात्र निस्किएको उनले बताए। 

चार बिघामा लगाएको धानको बालामा दाना लागेको छैन, सुकेर पगटो मात्र छ। ‘पटक पटक विषादी र महँगोमा मलखाद समेत हालें। लकडाउनले आर्थिक संकटमा परेको समयमा गरेको लगानी समेत डुब्यो। यसको जिम्मा कसले लिन्छ,’ किसानहरूले आक्रोशसमेत पोखेका छन्। एग्रोभेट संचालकले नक्कली बीउ दिएकाले धानमा दाना नलागेको किसानहरूको आरोप छ। 

बरहथवास्थित गौरव इन्टरप्राइजेज, आलोक रस्तोगी खाद बीज भण्डार, अंकित इन्टरप्राइजेज लगायतका एग्रोभेटबाट स्टार गोल्ड नामक धानको बीउ लगाएका किसानहरूले बताएका छन्।

तपेश्वर महतोले पनि खेतमा गोरखनाथ धानको बीउ नपाएपछि सधैं मलखाद, बीउ बिजन दिने गौरव एग्रोभेट संचालकले त्योभन्दा धेरै फल्छ भनेर स्टार गोल्ड लगाउन सुझाएका थिए। एग्रोभेट संचालकको सिफरिसबमोजिम उनले डेढ बिघामा त्यही धान लगाए। बिरुवा लहलह छ, हरियो पनि छ। बाला लागेको छ, तर दाना छैन। 'वर्ष दिन खाने अन्‍न नफलेपछि अब के खाने ?' उनले निरास हुँदै भने।

जिल्लामा लगाएको अधिकांश गोल्ड स्टार नामको धानमा दाना नलाग्ने समस्या देखिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले बताए। मौसममा आएको परिवर्तन र किसानले नबुझी एग्रोभेटहरूको सिफरिसमा धान लगाएका कारण समस्या भएको उनको भनाइ छ। यसबाट धान उत्पादनमा गिरावट आउने उनले बताए।

केन्द्रका अनुसार यस वर्ष समयमै राम्रो वर्षा भएकोले ४६ हजार हेक्टर बढी धान खेती भएको छ। उक्त धानको बीउ सर्लाहीमा ३ मेट्रिक टनसम्म खपत भएको नेपालमा बीउ भित्राएको एएस नेपाल एग्रिटेक प्रालिका सर्लाही कोअर्डिनेटर नन्द किसोर यादवले बताए।

उनका अनुसार जिल्लामा ३ सय बिघा क्षेत्रफलमा यो धान लगाइएको छ। भारतमा धानको बीउ उत्पादन गर्ने स्टार एग्रोटेक प्रालिले उत्पादन गरेको धानको यो बीउ रिसर्चको क्रममा ४ वर्षदेखि नेपालमा बिक्री वितरण भइरहेको कोअर्डिनेटर यादवले जानकारी दिए। 

उनका अनुसार किसानले व्यापक गुनासो गरेपछि आफू खेतमा अनुगमन गर्न पुगेको बताए। यस वर्ष मौसममा एक्कासि आएको परिवर्तन र किसानले समयमै पुतलीको औषधि नलगाएका कारण दाना नलागेको यादवले दाबी गरे। 

यो धानको बीउ नेपालको कृषि बीउ बिजन विभागमा समेत दर्ता नरहेको जिल्ला कृषि ज्ञान केन्द्रका मलंगवाका निमित्त प्रमुख रायको भनाइ छ। कम्पनीले जिल्लाका विभिन्न कृषि सहकारी तथा एग्रोभेटमार्फत किसानलाई बीउ बिक्री गर्दै आएको छ। महँगोमा बीउ किनेर लगाएको धानमा समेत दाना नलागेपछि किसानहरू लगानीसमेत कसरी उठाउने भन्ने चिन्तामा परेको गुनासो छ। 

जिल्लामा अवैध ढंगले संचालन भएका एग्रोभेटहरूले कमिसनको लोभमा नेपालमा सूचीकृत नै नभएका बीउ बिजन बेचिरहेका छन्। यसरी खुल्लम खुला नक्कली धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई नियमनकारी निकायले कारबाही नगर्दाको परिणाम भएको सरोकारवालको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.