|

नारायण भट्टराई ‘भट्टराई बन्धु’

मानिसलाई उसको विचार र कर्मले चिनाउँछ। आफ्नो समयका शीर्ष पुरुष, मृत्युपश्चात पनि मानिसको अन्तस्थ क्षमता, जीवनको विधान र नियम तथा सामाजिक तत्वज्ञान प्रतिको स्रोत-सम्मानका लागि मानिसको हृदयमा जीवन्त विपी कोइरालाको केही अघिमात्र १०७औं जन्मजयन्ती मनाइयो। 

उनका बारेमा कतिपय जानकारी कथा जस्ता भइसके। उनीलाई पनि देवत्वकरण र दानवीकरणको चक्रमा पारिँदैछ। यसले यथार्थलाई ढाकछोप नगरोस्‌ भन्नेतर्फ सबैले ध्यान दिनुपर्छ।

नयाँ युगको अभिलाषा, आकांक्षा, उद्देश्य प्रति स्पष्ट दृष्टिकोण र प्रसुप्त र निश्चेष्ट समाजलाई जागृत गराउन जनतन्त्र, जनतान्त्रिक संस्थाहरू केन्द्रित राजनीति विपीको पहिचान हो। 

व्यापक सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनकारी क्रान्तिको परम लक्ष्य मानिसको श्रेष्ठता स्थापित गर्नु थियो, सक्षम र स्वावलम्बी बनाउनु थियो। यिनै मानवीय स्वतन्त्रता, अस्तित्व र मूल्यसँग आवद्ध विपी-चिन्तन सन्दर्भमा जन्मजयन्तीका अवसरमा लेखिए, व्यक्त गरिएका छन्। 

विपीकालीन राजनीतिको समयमा आदर्श र व्यवहारलाई मन, वचन र कर्मले अनुशीलन गरिन्थ्यो। मुलुकको अवस्था र जनघनत्वको बसोवास ग्रामीण क्षेत्रमा थियो। गाउँको विकासलाई सर्वोपरि प्राथमिकता दिन योजना आयोगको सभाकक्षमा राजाको फोटोसँगै हलो जोतिरहेको किसानको फोटो पनि राखी योजना बनाउन उत्प्रेरित त्यसैले गरिएको थियो। 

गाउँ-समाजले विशेष सम्मान, इज्जत पाएको महसूस गरेको थियो। गाउँलेहरू भन्दा ठूलो मानिस मानिस बनेर होइन, सबै तह र तप्काका मानिससित समभाव राख्ने चरित्रको राजनीतिले राजालाई विष्णुको अवतार मान्ने समाजमा अनेक चुनौति थपिँदै –चुलिँदै जाँदा सत्र साल घटित भयो। 

तीन दशक प्रताडित हुनुपर्ने यो पनि एउटा कारक थियो। अहंकार र इर्ष्यामा आफ्नो हैसियत बिर्सिदिने प्रवृत्ति आडम्वरी बन्न पुग्दा आफ्नो स्वार्थपूर्तिका लागि विवेक गुमाउन सक्छ। जस्तोसुकै हतकण्डा अपनाउन तत्पर हुन्छ भन्ने दृष्टान्त त्यस घटनाले देखाएको छ। विपीको उत्साह आखिर सुन्दरीजलमा कैद हुन पुग्यो। 

मानिसको मूल्य र मान्यताको अपमान हुँदा असत्यको थुतुनो बलियो भएको हुन्छ। अन्याय, अत्याचार र भ्रष्टाचारको बोलवाला भएको देखियो, भोगियो। प्रतिगामी प्रवृत्तिलाई चमत्कारको जरुरत पर्नसक्छ, देवत्वकरणको लोभले आशक्त रहन्छ। यसले देशलाई मसान बनाउन सक्छ। 

थिचिएको-मिचिएको-लुटिएको-अशक्त-असहाय मानिसको वाणी बोल्ने विपी र जनतान्त्रिक पद्धति ढल्दा गाउँ रोएको हामीले देख्यौं। तर कुरा बुझ्न सकेका थिएनौं। विपीको मृत्यु पछिका चारदशक बिते। तर  सदैव उही छ। जन्म जयन्तीको वरिपरि उठेका देवत्वकरण, विपी-सुवर्ण सम्बन्ध र क्रान्ति सम्बन्धमा आफ्ना संस्मरण बाँड्न प्रयास गरेको छु।    

गाउँमा विपीलाई यसरी चिनियो 

हामीहरूले 'न न त त!'  गर्न थाल्दा नेपाल नयाँ युगमा प्रवेश गरेको थियो। त्यति बेला गाउँ-गाउँमा स्कूल खोल्ने लहर थियो। हाम्रो गाउँ बल्कोटमा राणाकालमै १९९० सालमा पीढी पाठशाला स्थापना भएको थियो। 

२०१६ सालमा मिडिल स्कूल खुलेपछि आधुनिक शिक्षाको मूल ढोका खुला भएको हो। हामीहरू आठ-दशका थियौं होला ! राजा र प्रधानमन्त्री श्री ५ महेन्द्र र विश्वेश्वरप्रसाद कोइराला २०१६ साल मङ्सिर महिनामा पश्चिमाञ्चल भ्रमणको क्रममा बल्कोट आउनु भएको थियो। हामी छात्र-छात्राहरू फूल-मालाका साथ स्वागतार्थ पङ्क्तिबद्ध थियौं। 

मूल बाटोकै छेउमा पाठशाला (पौवामा) थियो। नेपाली मौलिक संस्कृतिले सुसज्जित बल्कोट श्रीपरशुरामेश्वर पौवा र शिवालय अवलोकनका लागि राजा सवारी हुने अपेक्षा गरिएको थियो। तर हुन सकेन। गाउँलेहरू राजालाई विष्णुका अवतार मान्थे स राजालाई स्पर्श गर्न सक्नेहरू गति पर्ने समाजको मान्यता थियो। सोचेअनुसार भएन, खिस्रिक्क भयौं। 

प्रअ पण्डित अनिरुद्ध खनालले प्रमलाई मात्र भए पनि भित्र लैजाने प्रयास गर्नुभयो। तर राजाको सवारी नभएको ठाउँमा प्रधानमन्त्री मात्र पाठशालामा जानु उपयुक्त सम्झनुभएन क्यार ! पाठशालाको प्राङ्गणमा टेक्नु भएन। हामीहरू मूलबाटो मै आयौं। 

हँसिला-रसिला-फूर्तिला-चम्किला, एकटक हेरेर मनै नअघाउने अग्ला मानिस प्रधानमन्त्री हुनुहुँदो रहेछ। बाटोमा रोकिएर उहाँ घोडाबाट ओर्लिनुभयो। हाम्रो स्वागत ग्रहण गर्नुभयो। फूलमाला लिनुभयो। दुवै हातजोडी हामीले गरेको अभिवादन स्वीकार गर्दै हामीहरूलाई सुम्सुम्याएर ‘धन्यवाद!’ भन्नुभयो। हामी गद्‌गद् भयौं। उहाँको त्यो व्यवहार हामीहरूलाई औधी मनपर्‍यो। त्यसदिन उहाँहरूको मुकाम मथुरामा कायम गरिएको थियो। 

भोलिपल्ट हामीहरू पहिलो दिन जस्तै स्कूल ड्रेसमा मथुरा गयौं। त्यहाँ अपार जनसागर एकत्रित भएको थियो। प्रधानमन्त्रीले त्यो ऐतिहासिक जनसभालाई सम्बोधन गर्नुभयो। उहाँको संबोधन-भाषणको सारसंक्षेप ‘चिनारी’ मा प्रकाशित छ। 

पश्चिमाञ्‍चलको त्यो देश-दर्शन नेपालगन्ज पुगेर टुंगिएको थियो। प्रधानमन्त्रीको पूर्वनिर्धारित भारतको औपचारिक भ्रमणको तिथि नजिकिएकोले राजाको सवारी सम्बन्धी काम तुलसी गिरीलाई सुम्पिएर विपी दाङबाट काठमाडौं फर्किनु भएको थियो।

२०१७ सालको घटना 

उतिबेला धेरैजसोले राजाका कामहरू ईश्वर प्रदत्त मान्थे, देववाणी जस्तै। त्यही त्यान्द्रोमा झुण्डिएर राजाबाट सरकारले काम गरिरहेको स्थितिमा मुलुकको गतिलाई उल्टो बाटो हिँडाउन सत्र सालको दुर्घटना गराइयो। 

प्रधानमन्त्री-मंत्री-सांसद-नेताहरू सबै जेल परे, प्रजातान्त्रिक पद्धति नै खोसियो। नेपाल अस्तव्यस्त बन्यो। यत्र-तत्र सर्वत्र अन्योल, अविश्वास, सन्त्रासको वातावरणले देश त्राहिमाम बन्यो। नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरू या त गिरफ्तार गरिए या भागेर निर्वासनमा पुगे। गिरफ्तारीबाट बचेका नेता जनरल सुवर्णशमशेरको अगुवाइमा आयोजित नेपाली कांग्रेसको पटना सम्मेलनले विघटित संसद पुनःस्थापना गर्न राजासँग माग गर्‍यो, राजाबाट प्रस्ताव अस्वीकृत भयो। राजाको सैन्य कारवाहीका विरुद्ध पार्टीले सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो। 

कार्यवाहक सभापति वरिष्ठ नेता काशीनाथ गौतमबाट जारी गरिएको अपीलमा भनिएको थियो : 'राजा पनि हामी जस्तै मानिस हुन्, जनताको हक(अधिकार खोस्न पाउँदैनन्। तर हाम्रो अपील राजाले सुन्नु भएन। जनताको मौलिक हक पुनःस्थापनाका लागि सशस्त्र संघर्ष गर्दैछौं। यसलाई मन-वचन-कर्मले सघाउनुहुन हार्दिक अनुरोध गर्दछौं।' 

मुलुकभर विद्रोहको सञ्चार भयो। ठूलो संख्यामा राजाका सेना परिचालित भए। अर्घाखाँची-गुल्मी-प्युठान-चितवन लगायतका जिल्लाहरूमा गम्भीर वारदातहरू भए। त्यसै समयमा भारत-चीन बीचको युद्ध नेतृत्वका लागि पेचिलो बन्यो। नेपाली कांग्रेसले लक्ष्योन्मुख सशस्त्र विद्रोह स्थगित गर्न बाध्य भयो। 

जनाधार नभएका प्रजातन्त्र विरोधी गिरोहको बुई चढेर बडो तामझामका साथ महाराजाधिराजबाट नयाँ राजनीतिक दर्शनको नारामा पञ्‍चायती व्यवस्थाको संविधान जारी भयो। 

स्मरणीय छ-गान्धीको स्वराज अवधारणाको मूलभूत आदर्शको रुपमा भारतका जयप्रकाश नारायण र सर्वोदय नेता विनोवा भावेले त्यहाँको स्थानीय स्वायत्त शासनको लागि तयार गर्नु भएको निर्दलीय पञ्‍चायती अवधारणाको प्रारुप नेपालीमा रुपान्तरण गरी नेपालको हावा, पानी, माटो सुहाउँदो नयाँ राजनीतिक दर्शन भन्ने गरियो। 

दुई-चार जनाको भेला गराई खलनायकहरूले पञ्‍चायतको तल्लो निकायका लागि अमुक-अमुक व्यक्ति अमुक पदमा सर्वसम्मतिले चुनिएको घोषणा गर्दै गाउँ/नगर पञ्‍चायत गठन गरेको हामीहरूले देखे र भोगेका हौँ। 

योजनाबद्ध रुपले गठित यी निकायहरूमा अवसरवादी भगौडाहरू र पुस १ गते दीपावली गर्ने वामपन्थीहरूको वर्चस्व र हैकम कायम भयो। ती दिनहरू औंसीका रात थिए-प्रजातन्त्र र क्रान्तिकारीहरूका लागि।

अराष्ट्रिय तत्व भनिएको कांग्रेस 

अराष्ट्रिय तत्व घोषित नेपाली कांग्रेसमाथि प्रतिबन्ध लागेको थियो। चुक्लीको भरमा जो कोहीलाई पूर्जी नै नदिई विभिन्न आरोप लगाएर जेलमा कोच्नु सामान्य कुरा थियो। नेपाली कांग्रेस भनेर चिनिएको मान्छेलाई निम्छरो पारेर अनेकौं सांघातिक हमला हुन्थे। 

सांगठनिक रुपमा नेपाली कांग्रेस सुषुप्त थियो। तर ग्रामीणवासीमा विपीप्रतिको जीवन्त, अनुरागको मसिनो तर बलियो डोरीमा झुन्डिएर हाम्रो पुस्ता 'भित्ताका पनि कान हुन्छन्' भन्ने धारिलो सोच राखेर राती-राती एक गाउँबाट अर्को गाउँ जाने, भाइचारालाई बढाउने गर्न थाल्यौँ। निर्वाचित प्रधानमन्त्रीलाई थुनेर हुकुम चलाउने राजा ग्रामीणवासीको दृष्टिमा कायर थिए। तर सामर्थ्यका दृष्टिले हामीहरू संगठित हुन सकेका थिएनौं। 

पाँच-सात वर्ष जेल बसेर छुटेका नेताहरू पनि गुप्तचरको शिकार बन्ने डरले या त सम्पर्कविहीन रहनुभयो या मौन बस्न उचित सम्झनुभयो। प्रशासनको दवाबमा धेरैजसो स्थानीय नेताहरू पञ्च बन्नुभयो। त्यस्तो संकटमा पनि विपी आम मानिसको हृदयमा हुनुहुन्थ्यो। त्यस्तो जीवन्त तत्व के थियो ? वाराणसी पुगेपछि खुल्दुली मेटाउने अवसर पायौं।

विराटनगरमा सम्मान र भारत यात्रा

आठ वर्षको बन्दी जीवनबाट छुटेपछि विपी गृहनगर विराटनगर जानुभयो। औषधोपचारका लागि विरानगरबासीले डेढलाखको आर्थिक सहयोग (थैली) चढाएर सार्वजनिक समारोहमा विपीलाई सम्मान गरे। 

त्यतिबेलै ‘फ्रेन्डस् क्लब’ धरानले पनि उहाँको स्वागतमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो। भावी राजनीतिक कार्यक्रमबारे पत्रकारले राखेको जिज्ञासामा विपीले भन्नु भएको थियो, 'जन्मनुपर्ने प्रजातन्त्र (उहाँले शिशु शव्दको प्रयोग गर्नु भएको थियो) गर्भमै छ। शिशु सहज रुपले जन्मियोस् भन्ने हामी सबैको धारणा हो। यदि त्यसो हुन सकेन भने शिशु र आमा दुबैको सुरक्षाका लागि शल्यक्रियाको पनि आवश्यकता पर्न सक्छ। हामी त्यसो गर्न नपरोस् भन्ने चाहन्छौं।' 

त्यसको केही अन्तरालमा उपचारार्थ विपी टाटा क्यान्सर अस्पताल बम्बई (मुम्बई) जानुभयो। त्यहाँबाट सिधै कलकत्ता गएर जनरल सुवर्णशमशेरसित भेट्नु भएको समाचार ‘समीक्षा’ साप्ताहिकमा छापिएको थियो। त्यस बखत हामीहरू बल्कोटमा पढ्थ्यौं। 

जेलबाट छुटेपछि कलकत्तामा उहाँको पहिलो राजनीतिक भेटघाट थियो। कार्यवाहक सभापति सुवर्णले विपीलाई सभापतिमा निहित अधिकार सुम्पिन चाहनुभयो। तर विपीले सुवर्णकै उच्च मूल्यांकन गर्दै पूर्ववत् कार्यवाहक सभापतिको कामकाज गर्न आग्रह गर्नुभएको थियो। 

त्यसपछि उहाँ वाराणसी जानुभयो, जहाँ उहाँको परिवारले आश्रय लिएको थियो। विपीले त्यहीँ निर्वासित जीवन बिताउनु भयो। स्मरणीय के छ भने विपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि जेलबाट उपचारार्थ अमेरिका जानु भै फर्किँदा जनरल सुवर्णशमशेरबाट नेपाली कांग्रेसको सभापतिको कार्यभार ग्रहण गर्नुभयो। लगत्तै पटनामा भएको संक्षिप्त भेटघाट कार्यक्रममा कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको प्राधिकार सुम्पिनुभएको थियो। यसले विपी-सुवर्णको राजनीतिक अन्तर्य के थियो भन्ने बुझ्न सकिन्छ।

वाराणसीमा भेटिएका विपी

आफ्नो अधुरो पढाई पूरा गर्ने उद्देश्यका साथ म पनि वाराणसी पुगेँ। 

ढुण्डिराज शास्त्री वाराणसीमा हाम्रो सम्पर्कसूत्र हुनुहुन्थ्यो। त्यहाँको छात्र परिषद्को अध्यक्ष बनिसक्नु भएका शास्त्री प्रजातन्त्रानुरागीका अभिभावक हुनुहुन्थ्यो। उहाँका साथ विपी आवास, मुहमुरगंज गयौं। नेपालबाट आएका साथीहरूको भीड थियो। केहीछिन पछि भेट्ने समय पायौं। शास्त्रीले नेपाली कांग्रेसकै कार्यकर्ता जस्तोगरी परिचय गराउनु भयो।

विपीले मेरो रुचिको कुरा सोध्नुभयो। उतिबेला जोश थियो। 'सामाजिक-राजनीतिक क्षत्रमा रुचि छ' भनेपछि उहाँले प्रोत्साहित गर्दै भन्नुभयो, 'राम्रो,विचार ! तर राजनीति गर्नु भनेको जोगीजस्तै बन्नु हो। घर-परिवार, जीविकोपार्जनको स्रोत, अहिलेको अवस्था, बाबा-आमाको उमेर र जग्गा जमीनको खन-जोत र भाइ बहिनीको पठन-पाठन र घर व्यवहारमा असर पर्ने/नपर्ने सबै विचार गरेर परिवारलाई बोझ नहुने भएमा देशसेवामा लाग्नु उत्तम विचार हो।'

यस्तो गहिरिएर पारिवारिक स्थिति सोध्नुहोला भन्ने लागेको थिएन। जाने-बुझे जतिका सबै कुराको बेलीविस्तार बिसाएँ। हामीहरू फर्किँदा बाटोमा शास्त्रीलाई सबै कुरा बताएँ। उहाँले केही जिम्मेवारी दिने मन भएमा विपीले यसरी नै कार्यकर्ताको अभिलेख राख्ने गर्नुहुन्छ भन्नुभयो। विपीले कार्यकर्तासित कस्तो व्यवहार गर्नुहुन्थ्यो भन्ने दृष्टान्तका लागि यो कुरा प्रस्तुत गरेको हुँ। 

१२ वर्षपछिको त्यो भेट मेरो लागि चेतनामुलक भएको थियो। उहाँका विचारहरू सुन्ने उत्कण्ठाले जाग्न थालेको थियो। उतिबेला शैलजा आचार्य, ढुण्डिराज शास्त्री, चक्रप्रसाद बास्तोला, खगेन्द्र पुष्कर, अनुप सोल्टी, भागवत ज्ञवाली, अमर घिमिरे, अर्जुन सिंहहरू वाराणसीमा अध्ययनरत विद्यार्थीसित सघन सम्पर्कमा रहने गर्नुहुन्थ्यो। 

उहाँहरूले 'सप्ताहान्तमा सान्दाजुले साथीहरूका विचार सुन्न र केही जिज्ञासा आवश्यकता महसुस भए राजनीतिक कक्षा लिने विचार गर्नु भएको छ, सबै साथीहरू आउने गर्नु होला,' भन्नुभयो। हामीहरू त्यसैको पर्खाइमा थियौं। 

मुह्मुर्गंज आवासको छतमा चटाही बिछ्याएर बस्ने व्यबस्था गरिएको थियो। त्यहीँ हामीहरूलाई राष्ट्रियता प्रजातन्त्र र समाजवादका अतिरिक्त क्रमिकरुपले आगामी क्रान्तिमा तरुण-विद्यार्थीको भूमिका र विश्व घटनाक्रमको जानकारी गराउनु हुन्थ्यो। बहुतै रोचक हुने गरेको यो कक्षा विषय-वस्तु हेरी दुई-तीन घण्टासम्म चल्थ्यो। 

तरुणहरू र विद्यार्थीको दिलचस्पीको विषय प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद, साम्यवाद र नेपाली कांग्रेसमा देखिएको दुइधार विभाजनको संकेत हो कि ? आदि हुन्थे। प्रारम्भिक चरणमा हामीहरूले विपीका विचार यसरी बुझ्यौँ।

​मार्क्सवाद : मार्क्सको राजनीति मूलत: अर्थशास्त्र हो। उनले इतिहास र समयको आर्थिक दृष्टिले व्याख्या गरे। हेगेलको द्वन्द्ववाद, ब्रिटेनको अर्थशास्त्र र फ्रान्सको समाजवादी साहित्यको अध्ययन गरेपछि मूल्य तथा अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गरे। 

मार्क्सले भौतिक संसारकै सत्तालाई एकमात्र र अन्तिम सत्य मानेका छन्, जब कि इतिहासले मानिसको चिन्तनलाई सर्व श्रेष्ठ मानेको छ। मार्क्सको सिद्धान्त महत्वपूर्ण रहेको मान्दा-मान्दै मानिसलाई भौतिक सत्ताको दास मान्ने स्पन्दनहीन समाजवाद विपीलाई स्वीकार्य थिएन। 

प्रजातान्त्रिक समाजवाद आर्थिक पक्ष मात्र नभएर सामाजिक(सांस्कृतिक पक्ष पनि हो स मानिस ‘ब्रेडले होइन ब्रेनले संचालन हुन्छ’ भन्ने विपीको जिकिर रहन्थ्यो।

नेपाली कांग्रेसमा विपी र सुवर्णशमशेरको दुई धार 

नेपाली कांग्रेसका नेता सुवर्णजी र हामीबीच मतान्तर छैन। प्रजातन्त्र र प्रजातान्त्रिक संघर्षमा जनरल सुवर्णशमशेरको निर्णायक योगदान रहेको छ। संकटको बेला अधिनायकवादी कदमको विरुद्ध उहाँको नेतृत्वमा सशश्त्र विद्रोह भएको छ। प्रतिकूल अन्तर्राष्ट्रिय कारणले उत्कर्षमा पुगेको विद्रोह रोक्न विवश हुनु परेको यथार्थ जगजाहेरै छ। 

हाम्रो जस्तो भूपरिवेष्टित मुलुकमा लामो रिक्तता राजनीतिक हिसाबले हानिकारक हुने देखेर जनरल सुवर्णशमशेरले राजाको नियत परीक्षण गर्ने जुक्ति निकाल्नु भयो-एउटा संवेदनशील वक्तव्यद्वारा। 'महाराज ! प्रजातान्त्रिकरण गरिबक्सियोस्, हामी सेवामा हाजिर छौं। मुलुकलाई बरवादी हुनबाट रोकौँ।' भाषा शिष्ट थियो, तर भाव यही थियो। हामी जेलबाट छुटे पछि आफ्ना नेताको वक्तव्यको स्वागत गर्‍यौं। 

फ्रेन्ड्स क्लब, धरानको एउटा कार्यक्रममा विपीले भन्नुभयो : 'सुवर्णजीको भावलाई प्राथमिकतामा राखी स्पष्ट गरेको छु, शिशु जन्मिएको छैन। हामी स्वाभाविक जन्म होस् भन्ने चाहन्छौं। दुर्भाग्यवश,त्यसो भएन भने शिशु र आमालाई बचाउन शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। हामी त्यसो गर्छौं।' 

यो सन्दर्भ र सुवर्णजीको वक्तव्य समेतलाई दृष्टिगत गरेर तरुणलाई भनिसकेको छु, 'नेपाली कांग्रेसले एउटा धनुमा दुईवटा वाण राखेको छ। कुन वाण छोडिन्छ- परिस्थितिमा निर्भर गर्दछ।' शल्यक्रियाको प्रसंग क्रान्तिजनक वा क्रान्तिकारी धार हो भन्ने बुझिन्थ्यो।

दुई थरी कुरा किन ?  

पत्रकारहरू प्रश्न गर्ने गर्थे : नेपाली कांग्रेसमा दुई थरी कुरा किन ? विपी भन्नुहुन्थ्यो : परिस्थितिले नेपाली कांग्रेसलाई एउटा धनुमा दुईवटा बाण राख्नुपर्ने बनाएको छ। सुवर्णजी र म प्रजातन्त्र पुनःस्थापनाका लागि समान रुपले प्रयत्नशील छौं। हामीबीच कुनै मतान्तर छैन। हाम्रो परम लक्ष्य प्रजातन्त्र पुनःस्थापना हो।' साध्य प्राप्तिका साधनहरूको प्रयोग परिस्थितिजन्य हुन्छ, दुइ वाण यसैका प्रेरक हुन्।' उहाँले यो नीतिलाई समयको तकाजा भन्नुहुन्थ्यो। 

तरुण–विद्यार्थी

'उमेरको हिसाबले भन्दा पनि नयाँ विचारको ग्रहणशीलता, सामाजिक मूल्यहरू, राष्ट्रिय-अन्तर्राष्ट्रिय घटना, परिस्थिति र तिनका प्रभावप्रतिको सजगता जस्ता कुराबाट तरुणको पहिचान हुन्छ। जोश, होश र विवेकपूर्ण क्रान्तिकारी चरित्रले मुलुकको गति निर्धारण गरेको हुन्छ। 

मुलुकमा जब विकासको गति मन्द रहन्छ : बूढाहरू नेतृत्वमा हावी हुन पुग्छन्। यस्तो स्थितिमा समाजले दिशाबोध गर्न सक्दैन। उथलपुथल र अशान्ति बढ्छ। देश अस्तव्यस्त हुन पुग्छ। जीवन धान्ने ताजा पानी जस्तै राष्ट्रोत्थानका लागि चाहिने नवीनतम् संस्कृति संवाहक हुन सक्नुपर्दछ। 

माथिको दृष्टिकोणलाई आत्मसात् गरेको हुन्छ। आफ्नो जीवनमा प्रजातान्त्रिक भावना वा मनोवृत्ति निर्माणमा मन वचन र कर्मले समर्पित हुने चरित्र नै तरुण-विद्यार्थीहरूको विशिष्ट पहिचान हो।

तरुणहरूको साहस, शौर्य, तेज र त्यागको भावना अतुलनीय हुन्छ। उनीहरू आफ्नो उद्देश्यप्रति अटल औ समर्पित भावले उज्वल भविष्यको आशा जगाएको हुन्छ। तरुणहरू देशका भविष्य हुन्। तुलनात्मक रुपले जेष्ठतम नागरिकहरू शिथिल रहन पनि सक्छन्। तर तरुणहरू शिथिल रहँदा मुलुक ठप्प रहन्छ। त्यस्तोमा पुरातन सामाजिक आधारहरू सलबलाउन पुग्छन्। 

जीवन प्रवाहलाई गतिशील राख्ने प्रजातान्त्रिक समाजवादले आत्मसात् गरेको सामाजिक सांस्कृतिक  संवाहक शक्ति भनेकै तरुण हो।' यी विचारहरू राजनीतिक कक्षामा हामी विद्यार्थी माझ विपीले २०२६ सालमा भन्नुभएको थियो।

हामी जाँच सकिएपछि नेपाल फर्कियौँ। विद्यार्थीको रुचि र क्षमता हेरी पार्टीले जिम्मेवारी दिने गर्ने गरेको थियो। नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ वितरण गर्ने जिम्मा लिएर म बुटवल बस्न थालें। 

राजा महेन्द्रको निधनमा शोक

त्यतिबेलै,२०२८ साल माघमा, राजा महेन्द्रको देहावसान भयो। ढुण्डिराज शास्त्रीले राजाप्रति श्रद्धाञ्जली अर्पण गर्दा अञ्चलाधीशले खडा गरेको शोक पुस्तिकामा 'विश्वेश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरुन्' लेख्नु भएको थियो। यसले निकै चर्चा पायो। अञ्चलाधीशले बोलाएर सोधे : सम्पर्कमा रहने आदेश दिए। 

उहाँले सान्दाजुको प्रतिक्रिया बुझ्न मलाई वाराणसी पठाउनुभयो। सारनाथमा विपीलाई भेटेँ। उहाँले मुलुकभित्रको अवस्था जान्न चाहनुभयो। महेन्द्रको निधनपछि सान्दाजुको प्रतिक्रिया र अबको बाटो जान्ने जिज्ञासा नै मुलुकभित्रको चासो रहेको कुरा राखेँ। 

उहाँले राजा महेन्द्रको निधनमा दु:ख व्यक्त गर्दै राजा वीरेन्द्रसमक्ष समवेदना व्यक्त गर्नुभएको वक्तव्य पेपरमा आइसकेको रहेछ। समवेदना वक्तव्यमा नयाँ राजाबाट जनताको राजा बन्ने साहसिक कदम चालिने अपेक्षा राखेको भाव उल्लेख रहेछ-त्यस वक्तव्यमा।

'प्रजातान्त्रिक मुलुकमा दीक्षित राजा बिरेन्द्र प्रजातान्त्रिकरणतर्फ उन्मुख होलान् नहोलान्, त्यो समयले देखाउने कुरा हो। संसदीय पद्धतिमा विकासको गति ढिलो हुन्छ भनेर राजा महेन्द्रले अरुले सय वर्षमा गरेको काम १० वर्षमा पूरा गर्ने उत्कण्ठाले १७ साल पुस १ गतेको कदम चालेको कुरा जनतालाई भनेका थिए। राजाको त्यो कदम असंवैधानिक थियो, त्यो आफ्नो ठाउँमा छ। बाहिरबाट हेर्दा सामन्ती चरित्रका देखिए पनि महेन्द्र राष्ट्रवादी त थिए, तर किन हो कुन्नि प्रजातन्त्रप्रति चाहिं जलन राख्थे। राजाको कथनप्रति सन्देह नगरी त्यो उद्देश्य के कति सार्थक हुन सक्यो वा सकेन-समयले नै मूल्यांकन गर्नेछ। '

'अहिले सिंहासनमा आरूढ प्रजातान्त्रिक मुलुकमा शिक्षित राजाले आफ्ना पिताले सोचेजस्तो, उद्घोष गरेजस्तो काम हुन सक्यो कि सकेन ? नभएको भए किन भएन ? यी सबैप्रति दृष्टि पुराउन सके भने प्रजातान्त्रिकरणतर्फ उन्मुख हुनुपर्ने हुन्छ।” विपीले भन्नु भएको थियो। त्यतिबेला वाराणसी जानुको अर्थ विपीसँग भेटेको भन्ने अर्थ लाग्थ्यो।

मेलमिलापको नारा र जनमत संग्रह

परिस्थितिले स्वदेश प्रत्यावर्तन गरायो। विपी, गणेशमान, शैलजासहित नेताहरू २०३३ सालमा मेलमिलापको नारा बोकेर स्वदेश फर्किनुभयो। सबैलाई जेल पठाइयो। राजाबाट २०३६ सालमा नेपालमा बहुदलीय प्रणाली राख्ने कि निर्दलीय भन्ने विषयमा जनमतसंग्रह गर्ने घोषणा भयो। जनमत २०३७ साल बैशाख २० मा हुने भनेर तोकियो। 

यसबीच, जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा प्रचार-प्रसार गर्ने क्रममा २०३६ साल चैत १५ गते भैरहवाको गल्लामण्डीमा विपीले विशाल जनसभालाई सम्बोधन गर्नुभएको थियो। त्यसअघि भैरहवामा त्यस्तो जनसागर पहिले कहिल्यै देखिएको थिएन। त्यतिबेलाका सबै छापाहरूले त्यसलाई ऐतिहासिक जनसभा भनेका थिए। त्यसको रिपोर्टिंगका लागि ‘राष्ट्रपुकार’ सप्ताहिकबाट पुरुषोत्तम दाहाल भैरहवा पुग्नु भएको थियो। अन्य छापाहरूले पनि प्रतिनिधि पठाएका थिए। 

अर्को दिन रामकृष्ण ताम्राकारको वसन्तपथस्थित निवासमा उहाँको समुपस्थितिमा नीलाम्बर पन्थीको सभापतित्वमा रुपन्देही कांग्रेसको बैठक बस्यो। नेपाली कांग्रेसले आयोजना गरेको विशाल जनसभालाई ऐतिहासिक सम्बोधन गर्नु भएकोमा विपीप्रति आभार व्यक्त गर्दै रुपन्देही कांग्रेसले दिशानिर्देशका लागि अनुरोध गरेको थियो। 

उहाँले रुपन्देही कांग्रेसलाई धन्यवाद दिनुभयो र भन्नुभयो : 'विषम स्थितिमा विराट जनसभाको आयोजना गर्नु भएकोमा सबै साथीहरूलाई हार्दिक धन्यवाद ! तपाईंहरूको मिहिनेतबाट यो सम्भव भएको कुरा राम्ररी बुझेको छु। मलाई लागेको कुरा के भने यहाँ म देखिरहेको छु– धेरैजसो तपाईंहरू अर्को जिल्लाबाट आएर बसोबास गर्नुभएको छ। यहाँका आदिवासी थारु, मुस्लिम, यादव,कहार आदिको प्रतिनिधित्व देखिएन। यहाँका आदिवासीहरूलाई समेट्नुहोस्। 

स्थानीय आदिवासी जनताको सहभागिता बिना पार्टीको सन्देश किसानको झुपडीमा पुग्न सक्दैन। उनीहरूको परम्परा,भाषा र संस्कृति बुझ्न उनीहरूको सहयोग चाहिन्छ। ती किसानहरूलाई जागृत नगराई प्रजातन्त्र स्थापित हुन सक्दैन, कथम् आइहाल्यो भने पनि टिक्न सक्दैन। तिनै कठोर मिहिनेत गर्ने किसानहरू प्रजातन्त्र र राष्ट्रियताका आधारस्तम्भ हुन्।'

यादवनाथ आलोक र मैले निर्णय पुस्तिकामा उहाँका निर्देशनहरू उतार्‍यौं। विपीको निर्देश गहन थियो। पार्टी संगठन के हो ? कसरी संगठन गर्नुपर्छ ? राष्ट्रियता र प्रजातन्त्रको जग कहाँ रहेछ भन्ने मार्मिक निर्देशनलाई मनन गरी त्यसै दिनदेखि मैले आदिवासी जागेको सन्देश दिन 'सिद्धार्थ नारायण थारु' को नामले  लेख्न थालेको थिएँ। 

त्यतिबेला ‘राष्ट्रपुकार’ साप्ताहिकमा काम गर्ने गरेको थिएँ। होमनाथ दाहाल र सिके प्रसाईंले थारु नामबाट आउने समाचार, टिप्पणी र लेखहरूमा रुचि राख्ने गर्नुहुन्थ्यो। पुरुजीको हौसला विशिष्ट रह्यो। अर्को दिन तौलिहवाको जनसभालाई सम्बोधन गर्दै विपीले बहुदल स्थापित भएपछिको प्रधानमन्त्री परशुनारायण चौधरी हुने उद्घोष गर्नु भएको थियो। यो सोच र दृष्टिकोणको बहु-आयामिक रहेछ। हामीहरूले सिलसिलेवार रुपन्देही कांग्रेस पार्टीमा छलफल गर्ने गर्थ्यौं। यसको महत्व समयले यसको परख गर्ने छ।

विकास र योजनाबारे विपीको ढाँचा

माथिका प्रसंग २०१६ साल देखि २०३६ सम्मका हुन्। त्यति बेला ३० काटेको, ४० ननाघेको अवस्था थियो। दुहुनो गाई-एकहल गोरु, कमाई खान पुग्ने जमिन र आवासको प्रसंग देशको परिवेश र विश्व परिस्थितिको समुचित मूल्यांकन गरी नेपालको लागि उपयुक्त हुने मौलिक आर्थिक आधारशिलाको रुपमा विपीले एउटा युगको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक ढाँचा प्रस्तुत गर्नु भएको थियो। 

उत्पादनका साधन र सम्बन्ध राख्ने यो अवधारणा पुरानो भएको मान्ने नयाँ पुस्ताले निर्धा, असहाय, मिहिनेती मानिस केन्द्रित विचारको पुनर्व्याख्या वा परिभाषा कसरी गर्ला ? नेपाललाई स्वीजरल्याण्ड वा अन्य कुनै मुलुकजस्तो नभएर नेपाल नै बनाउने विपीको अठोटप्रति सबै संवेदनशील होलान् कि अहिलेको नेपाली कांग्रेसजस्तै अरुकै भाउतोमा लहसिने गर्ला ? 

जीवनपर्यन्त प्रजातन्त्रको लागि तीन-तीन राजाको शासनकालसम्म संघर्षरत रहनुभएका दिवंगत नेता विपीको सम्मानमा प्रयुक्त 'महामानव' देवत्वकरण गर्ने राजनीतिज्ञ प्रति नयाँ पुस्ताको कस्तो मूल्यांकन होला ? मानिस ब्रेडले होइन, ब्रेनले संचालित हुन्छ भन्ने विपीको मान्यता दैविक चिन्तन मानिएला वा दृष्टि र सृष्टि मौलिक अवधारणा ?

इतिहास, भूबनोट, संस्कृति, परम्परा र सामाजिक-आर्थिक-सांस्कृतिक पक्षलाई चिनाउने आधुनिक नेपाल निर्माण गर्ने विपीको भरोसालाई नयाँ युगले, नयाँ पुस्ताले कसरी आत्मसात गर्ला ? इतिहासले स्थापित गरेको यो जनतान्त्रिक बाटो नयाँ पुस्ताले नबिराउला भन्ने अपेक्षा राखौं।

(भट्टराई बन्धु अर्घाखाँची जिल्लाका बासिन्दा हुन्‌ ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.