अभिभावकदेखि धेरैथोक गुमाउनुपर्दा सयौँ परिवार पीडामा

|

काठमाडौं : कोरोना संक्रमणको कारणले दिनप्रतिदिन मृत्युदर बढिरहेको छ। संसारभर कोरोनाको कारणले मृत्यु हुनेको संख्या १० लाखभन्दा बढी पुगिसकेको छ। नेपालमा पनि संक्रमितको मृत्युदर बढ्दो क्रममा छ। नेपालमा पहिलोपटक कोरोनाकै कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो। पछिल्लो पटक ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

दिनप्रतिदिन विभिन्‍न रोग लागेर मानिसले मृत्युवरण गर्छन्। तर,यसपटक हर- जोकोही मृत्यु हुँदा समाचार बन्दै आएको छ, कारण एउटै हो, विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाले गर्दा ज्यान गुमाउनेको समाचार बन्छ। असोज महिनामा दैनिक सरदर ८ जनाको कोरोनाकै कारण मृत्यु भइरहेको छ।

संक्रमणबाट मृत्यु हुनेहरूमा सामान्य परिवारदेखि उच्च घरानासम्मका छन्। पूर्व-न्यायाधीश,वरिष्ठ चिकित्सक,व्यापारीदेखि गृहिणीसम्मले कोरोनाकै कारण अकालमा ज्यान गुमाएका छन्। केही संक्रमितले कोरोनासँग लड्दा लड्दै आफ्नो ज्यान गुमाए भने कसैले दीर्घ रोगी भएर घरमा आराम गर्दा गर्दै र कसैको अस्पताल लैजाँदै गर्दा बाटोमा पनि मृत्यु भएको छ।

थाहाखबरले कोरोनाका कारण मृत्यु भएका केही परिवारका सदस्यसँग सम्पर्क गरी परिवारमा कोरोनाबाट परेको असर र आफन्त गुमाउँदाको पीडा र असरबारे  लेख्‍ने प्रयास गरेको छ।

कोरोनाले धेरै कुरा गुमाए

गत वैशाखको २५ गते सिन्धुपाल्चोककी २९ वर्षीय सावित्री तिमल्सिनाको नेपालमै पहिलोपटक कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भयो। उनी त्रिवि शिक्षण अस्पतालबाट सुत्केरी भई घर गएकी थिइन्। भर्खरै जन्म दिएको छोराको कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ आएको थियो।

मृतकका छोरा यतिखेर पाँच महिनाका भए। श्रीमान् नवीन चालिसे २ छोराको स्याहार सम्भार गरेर बसेका छन्। उनी ठूलो छोराको विद्यालय खुलेपछि काठमाडौं आउने योजनामा छन्। कोरोनाका कारण आफूले  श्रीमती, व्यवसाय, जागिर र छोराहरूको शिक्षा सबै गुमाउनु परेको दुखेसो सुनाए। 

'लकडाउन र कोरोना नभएको भए यतिखेर काठमााडौंमा आफ्नो व्यवसाय तरकारी पसलमा बसिरहेको हुन्थें,' उनले भने,' जागिर र व्यवसाय छैन। दुवै सन्तानको सहारा बनेको छु।' नवीनले सात वर्षअगाडि नेपाली सेनाको जागिर छाडेका थिए। उनीहरू गोंगबु बस्दै आएका थिए। उनले भावविह्‍वल हुँदै भने,' जागिर छोडेँ आफैँले कोरोनाले मेरो २ सन्तानको आमालाई चुँडेर लगेपछि यिनै सन्तानको सहारा बनेर बसेको छु।' 

चिकित्सकले वास्तै गरेनन्

निरकुमार राजभण्डारी ६७ वर्षका सुनसरी धरानका पुराना व्यापारी थिए। उनको गत भदौ ७ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भयो। उनका एक छोरा र दुई छोरी छन्। सबैजना आ-आफ्नो व्यापार व्यवसाय सञ्चालन गरेर बसिरहेका छन्।

महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले गुमाएका बाबाको सधैँ सम्झिरहने प्रेरणादायी कुराहरू रहेको उनका छोरा नवीन राजभण्डारी बताउँछन्। हामीलाई उहाँको सम्झनामा पीडा र दुःखमा रहने उनले बताए। 'बाबाले काम गरिरहनुपर्छ र धैर्यता गुमाउनुहुँदैन जस्ता ऊर्जाशील भनाइहरू सधैँ बताइरहनुहुन्थ्यो,' उनले भने।

उनलाई रेमडेसिभर र प्लाज्माथेरापीको सबैको प्रयोग गरिएको थियो। अस्पतालमा राम्रोसँग उपचार भएन, निमोनिया मात्र भएको उनले जानकारी दिए। '१० घण्टासम्म बुबाको दिसा रोकिँदासम्म चिकित्सकले वास्तै गरेनन्, नजिकैबाट निगरानी गरेको भए मेरो बाबा अहिले जीवित रहनुहुन्थ्यो,' छोराले थाहाखबरसँग भने,' बुबाको कामलाई हामी निरन्तरता दिन्छौँ। अप्ठ्यारोमा परेका सबैलाई सहयोग गर्नुहुन्थ्यो। समाजसेवीका रूपमा विभन्‍न क्षेत्रमा सहयोग गर्नुभएको थियो।'

बुबाले व्यापारमा गर्नुभएको लगाव र लगनशीलतालाई निरन्तरता दिने गरी काम गर्ने उनको भनाइ छ। कोरोनालाई नेपालमा बढी हाउगुजीको रूपमा लिएको उनको दाबी छ। समयमा चिकित्सकले निगरानी गर्ने हो भने धेरै संक्रमितहरु बाँच्‍न सक्ने उनले विश्वास व्यक्त गरे।

न्यायकर्मी गुमायौँ

काठमाडौं महानगर ३ का पूर्व-न्यायाधीश माधवप्रसाद चालिसेको शहीद गंगालाल अस्पतालमा भदौ १६ गते मृत्यु भयो। उनका १ छोरा र ३ वटा छोरी छन्। न्याय क्षेत्रमा लामो समयसम्म काम गरी राष्ट्रलाई महत्त्वपूर्ण योगदान गर्नुभएको उनका भाइ कृष्णराज चालिसे बताउँछन्। कोरोना महामारी सुरु भएपछि घरबाट बाहिर ननिस्की बसेका थिए।

'न्याय क्षेत्रको न्यायकर्मी मात्र गुमाएनौँ हामीले राम्रो अभिभावक गुमाएका छौँ,' उनले भने,'कोरोना महामारी नभएको भए दाजु अझै केही वर्षसम्म बाँच्नुहुन्थ्यो।' ६९ सालमा रिटायर्ड भई घरमा आराम गरिरहनुभएको उनले जानकारी दिए। राज्यले यसभन्दा अगाडि कहिल्‍यै सम्झेन मृत्यु भएपछि मात्र समाचार बनेकोमा उनले गुनासो गरे।

आमा नहुँदा परिवारविहीन भयौँ

मोरङ बेलबारी नगरपालिकाकी दुखनीदेवी खवासको भदौ १२ गते कोशी अस्पतालमा मृत्यु भयो। किड्नी समस्या र रगतको कमी भएको कारण देखाउँदै अस्पतालमा उपचार भइरहेको थियो। आमालाई दुईवटा अस्पताल लगी उपचार गरिँदा आमाको मृत्यु भएको मृतकको छोरीले बताइन्।

उनको परिवारले सामान्य कृषि पेसा गर्दै आएको थियो। मृतकका घरमा २ छोरी,१ छोरा र श्रीमान् छन्। 'हामी आमा नहुँदा परिवारविहीन जस्तो भएको छौँ,' मृतककी छोरीले भनिन्,'अस्पतालले उपचारमा राम्रोसँग ध्यान नदिँदा आमाको मृत्यु भयो।'

नोट : मृतकका परिवारका सदस्यसँग अनुमति लिएर फोटो र नाम प्रकाशित गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.