बेड खाली नभएपछि बाहिरै राखिन्छ संक्रमित

|

काठमाडौं : उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहँदा सक्रिय संक्रमितलाई सरकारी कोभिड अस्पतालमा बेड अभाव हुन थालेको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लक्षण सहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ।

सोमबार रातिदेखि उपचारका लागि आएका पाँच संक्रमितलाई कोभिड उपचार केन्द्रमा बेड अभाव भएकोले बाहिरै राखेर उपचार गरिएको अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले जानकारी दिए।

संक्रमित डिस्चार्ज भएर गएमा उनीहरूलाई बेडको व्यवस्थापन गरी राखिने उनले बताए। कर्मचारी अभाव र अस्पतालमा बेड अभाव भएकोले संक्रमितलाई राम्रोसँग व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ।

'अस्पतालमा कार्यरत स्वास्थ्य कर्मचारी सबैमा कोरोना पुष्टि भएको छ,' दासले भने, '२ सयभन्दा बढी कर्मचारीलाई कोरोना देखिएको छ। अझै केही कर्मचारी उपचारकै अवस्थामा हुनुहुन्छ। कर्मचारी अभाव हुँदा संक्रमितलाई राम्रोसँग उपचार गर्न सकिएको छैन।' अस्पतालमा बेडको  पनि अभाव भइरहेको छ।

अस्पतालमा भर्ना भएका सबै बिरामीलाई अक्सिजन दिएर राखिएको उनले बताए। ३० जनाबाहेक सबै संक्रमितलाई गम्भीर ढंगले उपचार गरिएको छ। ४० देखि ६० वर्षसम्मका बढी संक्रमित पुरुषहरूमा बढी संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकलमा पनि बेड अभाव

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा पनि बेडको अभाव भइसकेको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्। उनका अनुसार अधिकांश संक्रमितहरू ६० वर्ष माथिका छन्। दीर्घरोगी भएका र मधुमेह, उच्च रक्तचाप भएका संक्रमितहरू छन्। हाल अस्पतालमा ५३ जना संक्रमित उपचाररत छन्।

दैनिकजसो ५ देखि ७ जना डिस्चार्ज भएर गए पनि त्यही संख्यामा अस्पतालमा भर्ना हुन आइरहेको राजभण्डारीले बताए।

सोर्स लगाउँदै अस्पताल भर्ना

संक्रमितलाई उपचार गर्नको लागि विभिन्न ठाउँबाट फोन गर्न लगाइ अस्पतालमा भर्ना हुने गरेको वीर अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कृष्ण कार्की बताउँछन्।

संक्रमण हुनासाथ सोझै अस्पतालमा भर्ना हुन नपाउने भएकोले फोन गर्न लगाइ आउने गरेको उनले बताए।

सञ्चारकर्मीदेखि अन्य पहुँच भएका संक्रमितहरू उपचारको लागि आउने गरेको उनले प्रस्ट पारे। 'उपचारका लागि सोर्स लगाइ आउनेहरूका कारण लक्षण भएका संक्रमितले बेड नपाउँदा समस्या भइरहेको छ,' उनले भने,' लक्षण नभएका संक्रमितहरू भरसक होम आइसोलेसनमा बसी उपचार गर्दा हुन्छ।'

वीर अस्पतालको आइसियुमा ८ जनासहित एक सयजना संक्रमितको उपचार भइरहेको पनि उनले जानकारी दिए। डा. कार्कीका अनुसार दैनिक १० देखि १२ जना संक्रमित डिस्चार्ज भएर जाने गरेका छन्। ६० वर्ष माथिका संक्रमितहरू बढी छन् सबैमा लक्षण देखिएको उनको भनाइ छ।

६० वर्ष माथिका संक्रमित बढी

त्यसैगरी, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ६० वर्ष माथिका संक्रमितहरू उपचार गरिरहेको अस्पतालका डा. प्रवक्ता प्रविन नेपालले जानकारी दिए। उपचारको लागि आएका संक्रमितलाई बेड पाउन गाह्रो भइसकेको उनी बताउँछन्।

'बेड खाली भए पनि २ देखि ४ घण्टाको लागि मात्र हुने गरेको छ,' डा. नेपालले भने,' संक्रमितमा लक्षण नदेखिनेबित्तिक्कै डिस्चार्ज गरिदिने गरेका छौँ।'

पुरुषभन्दा महिला कम संक्रमित रहेको उनले जानकारी दिए। भर्ना भएका अधिकांश संक्रमित ६० वर्ष माथिका छन्। गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्माथेरापी र रेमडेसिभर दिई उपचार गरिएको उनले प्रस्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.