|

म्याग्दी : धौलागिरि हिमालको काखैमा छ हरियाली रुवाचौर खर्क। खर्कको समथर ठाउँमा बनाइएको एउटा गोठमा निर्धक्कको जिन्दगीसँगै उदात्त हाँसो हाँसिरहेका भेटिन्छन् एक युवा।

सहर र ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको त्रासले गाँजीरहेको समयमा वनमै रमाएका यी युवालाई न कोरोनाको डर छ न कसैको भर। भेडाबाख्राको बथानसँगै उदात्त जिन्दगी बाँचिरहेका यी युवा हुन् म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्काबाङका देवान छन्त्याल।

उनको वास्तविक नाम हिमबहादुर छन्त्याल हो। दुई दशक लामो वैदेशिक रोजगारी र त्यसपछिका केही वर्षको पोखरा बसाइलाई बिट मारेर उनी धौलागिरि हिमालको आधार शिविरतिर भेडा लिएर उक्लिएका हुन्।

उनका पुर्खाले यही खर्क र पाखा पखेरामा भेडाबाख्राका बथान डुलाउँदै जिन्दगी गुजारेका थिए। आफ्ना पुर्खाका तिनै पदचापलाई पछ्याउँदै देवान पनि शहरको रमझमपूर्ण रंगिन जिन्दगीलाई छोडेर दुई वर्ष अघि पुर्खाहरुले पसिना बगाएको थलोमा फर्किएका थिए।

मल्काबाङको खर्कका २ वर्ष अघि ६० लाख रुपैयाँको लगानीमा भेडापालन शुरु गरेका छन्त्यालको दैनिकी अहिले जंगल र खर्कहरुमा नै बित्ने गरेको छ।

उनको गोठमा अहिले करिब ५ सय भेडाबाख्रा छन्। रु ४० लाख लगानीमा ३५० भेडाबाख्रा खरिद गरी भेडापालन सुरु गरेका छन्त्यालले गत वर्ष थप रु २० लाख लगानी गरि अन्य भेडिगोबाट भेडाबाख्राको संख्या बढाएका छन्।

‘वर्षामा बेशी झरेका भेडिगोठ अहिले लेकमा छन, हिमालकै फेदीसम्म चरनको लागि गोठ पुर्‍याउनुपर्छ, जंगल, भिर पहरा र बुकी गोठका साथी हुन्’–छन्त्यालले भने।

घनघोर जंगल पार गरेर हिमालको फेदीको सम्मो फाँटमा चरण गर्दै गरेका भेडाबाख्राको लर्कोको सुन्दर दृष्यले भेडिगोठको दुखलाई भुलाईदिने गरेको छ।

‘दुई दशक बढी समय विदेशमा बिताएँ, पुर्खाहरुकै पेशालाई व्यावसायिक बनाउन सकिन्छ कि भनेर ठूलो लगानीमा जोखिम मोलेर भेडाबाख्रा पालन थालेको हुँ, गोठमा हुने सबै सकसलाई सहर्ष स्वीकार गरेको छु’–छन्त्यालले भने। उनले गोठमा विताउने बाहेकको समयलाई आफ्नो पुरानै पेशा कम्प्युटर डिजाईनिङमा समेत लगाउने गरेका छन्।

न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ। अनकन्टार घनघोर जंगल र पहाडहरुमा उनले कठिन तर आफ्नै रहरको दैनिकी बिताइरहेका छन्। ‘बर्षात, हिमपात, केहि भन्न पाइदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अबश्य छ, तर यहाँको प्राकृतिक भू–बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासंगको दैनिकीले सबै दुख बिर्साइदिने रहेछ’– छन्त्यालले अनुभव सुनाए।

एक÷दुई महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै उनले विश्वको गतिविधि बुझ्छन र फेरी आफ्नै दुनियामा फर्कन्छन्। यो क्रम विगत दुई बर्षदेखि उनको जीवनमा चलिरहेकै छ। आफु बाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले विर्सदै गएको भेडापालनलाई आफुले अंगाल्न पाउनुलाई अवसर र चुनौतिको रुपमा लिएको बताउँछन्।

‘हिजो हाम्रा पुर्खाले यहिँ पसिना बगाए, कतिको यिनै गोठहरुमै जीवन बित्यो, तर आज यो पेशा नै संकटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले अँगाल्न नसक्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ’–उनले भने।

धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेशालाई अंगालेको छन्त्याल बताउँछन्।

पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि विक्रि गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ।

यस क्षेत्रमा अहिले करिब ८ वटा भेडीगोठ रहेका छन्। धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार, ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन्। धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुँदै आएको छ।

बेसीदेखि धवलागिरिको आधार शिविर सम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ। तर यस पटक भने केही गोठहरु आधार शिविर पुगेपछि बिच बाटोमा बिषण पहिरो खसेकाले केहि गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताए।                                        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.