नियमित उडान रोकिँदा निगमलाई नोक्सान

|
फाइल फोटो

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय उडान पुन:सञ्चालन गरेपछि वैदेशिक रोजगारमा जाने नेपाली कामदारले कोरोना परीक्षण गर्ने गरेका छन्। रोजगारीका लागि विदेसिने अधिकांश  नेपाली कामदारहरू यतिखेर निजी प्रयोगशालामा कोरोना परीक्षण गरी विदेश यात्रामा गइरहेका छन्।

काठमाडौं उपत्यकाको सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षण हुने भएकोले बढी भीडभाड हुँदा रोजगारीमा जानेले निजी प्रयोगशालामा परीक्षण गरिरहेका छन्। उपत्यकाका १० भन्दा बढी निजी प्रयोगशालामा कोरोना परीक्षण गरिँदै आएको छ। 

गत शुक्रबार नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सको ए ३२० जहाजमा गएका ६ जना कोरोना पुष्टि भएको थियो। संक्रमित भेटिएपछि निगमको जहाजलाई हङकङ सरकारले एक साताभन्दा बढी समयसम्मका लागि उडानमा रोक नै लगाएको छ।

नेपालमा परीक्षण गराउँदा कोरोना नेगेटिभ देखिएका यात्रु हङकङमा परीक्षण गर्दा संक्रमित रहेको पाइएपछि यहाँका प्रयोगशालाको पीसीआर परीक्षणमा प्रश्न उठेको छ। एउटै मानिसको साता दिनमा परीक्षण गर्दा फरक-फरक रिजल्ट आएको छ, कसरी त्यस्तो हुन्छ ? भनी थाहाखबरले केही चिकित्सकसँग बुझ्ने प्रयास गरेको छ।

'परीक्षण गरेपछि पनि संक्रमण फैलन सक्छ'

शरीरको दुई ठाउँबाट स्वाब निकाली कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने गरिएको छ। विशेषगरी नाक र मुखबाट स्वाब संकलन गर्ने विधि भरपर्दो नहुन पनि सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्।

परीक्षण गर्दा नेगेटिभ देखाएपनि सो व्यक्ति त्यस अवधिमा अन्य गतिविधिमा संलग्न भएको हुनसक्ने र पछि परीक्षण गर्दा पोजिटिभ देखिइन सक्ने उनले बताए। स्वाब संकलन गरेपछि घरमा कसरी बसेको छ र यात्रा अवधिमा संक्रमितले कस्तो स्वास्थ्य मापदण्ड अपनाएको छ, त्यसले पनि संक्रमित हुने/नहुने निर्धारण गर्ने राजभण्डारीको भनाइ छ । उनका अनुसार स्वाब संकलन पछि पनि मानिसमा भाइरस सर्न सक्छ।

'परीक्षण गर्नासाथ र कोरोना नेगेटिभ आउँदा पुनः कोरोना पोजिटिभ नदेखाउने भन्ने हुँदैन,' डा. राजभण्डारीले भने, '४० प्रतिशतमा कोरोना पोजिटिभ देखिएपनि ६० प्रतिशतमा कोरोना नेगेटिभ हुने गर्छ। तर, केही समय पश्चात ४० प्रतिशतमा रहेका कोरोना पोजिटिभ स्थानान्तरण हुने गर्छ।'

कोरोना परीक्षणको लागि पीसीआर परीक्षण भरपर्दो नभएको राजभण्डारीको दाबी छ। उनले भने, 'विदेश जानका लागि धेरै मानिसलाई प्रयोगशालाले कोरोना निगेटिभ रहेको रिपोर्ट दिएको पनि सुन्‍नमा आएको छ, यहाँबाट गएका व्यक्ति हङकङमा संक्रमित देखिनुका पछाडि सोही कारण पनि हुन सक्छ।'

'फेक रिजल्ट दिएका छैनौं'

कोरोना परीक्षण गर्नको लागि दैनिक सय जनाको हाराहारी आएपनि विदेश जानको लागि पाँचदेखि १० जना परीक्षणको लागि आउने गरेको विध ल्याब प्रयोगशालाका एक कर्मचारीले बताए।

परीक्षण गर्दा नेगेटिभ आएपनि आइसोलेसनमा बस्दाको गतिविधिले पनि त्यसमा भर पार्ने गरेको उनको भनाइ छ। पूर्ण रुपमा परीक्षण गरी रिजल्ट दिने गरेको उनले बताए। अहिलेसम्म परीक्षण नै नगरी कसैलाई पनि नेगेटिभ रहेको रिजल्ट नदिएको उनको दाबी छ।

'यात्रुलाई कोरोना देखिँदा निगमलाई विश्वास नगर्न सक्छन्‌'

यात्रुमा कोरोना देखिनुमा वायु सेवा निगम जिम्मेवार नभएको निगमकी प्रवक्ता अर्चना खडका बताउँछिन्। यात्रुको पीसीआर परीक्षणको रिजल्ट हेरेर मात्र उडान भर्ने गरेको उनले बताइन्। पोजिटिभ देखिएकालाई विमानस्थल प्रवेश गर्न नदिने तथा तापक्रम परीक्षण, मास्कको प्रयोग र स्यानिटाइजरको प्रयोगमा कडाइको साथ नियम लागू गरिएको उनले सुनाइन्।

यात्रुलाई कोरोना देखिँदा हङकङ सरकारले निगमलाई विश्वास गर्न नसक्ने उनले बताइन्। उनले भनिन्‌,' यात्रुमा कोरोना देखिँदा निगमले कमजोरी गरेको हुनसक्ने उनीहरुलाई लाग्न सक्छ। नियमित उडान रोकिँदा निगमलाई घाटा भइरहेको छ।'

नेपाल वायुसेवा निगमले हङकङमा साताको दुई पटकको उडान भर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.