|

पर्वत : मुस्ताङका कृषकहरू यतिखेर स्याउ र गोलभेँडाको सुकुटी बनाउन व्यस्त छन्। 

बगैँचामा पाकेका स्याउ टिपेर बजार पठाउनका लागि प्याकिङ हुने बेलामा दाग लागेका, साना दाना भएका वा ग्राहकको रोजाइमा नपर्ने दानालाई सुकुटी बनाएर बेच्ने गरिएको छ।

स्याउ उत्पादक कृषक आङदेन गुरुङले बगैँचामा भएका स्याउ टिपेर प्याकिङ गर्ने काम चलिरहेको बताए। अर्का कृषक अङ्ग्या गुरुङले पनि बजारमा नपठाइने दाना कुहिएर जाने भएकोले ती दानालाई पातलो गरी काटेर सुकाएपछि सुकुटी तयार हुने जानकारी दिए।

असोज महिना स्याउ टिप्‍नका लागि उत्तम भएकोले यही बेलामा नै स्याउको सुकुटी तयार हुने गरेको छ। ‘स्याउ खेती गरेका लगभग सबैजसो कृषकको धेरै थोरै सुकुटी बनिहाल्छ। राम्रोसँग सुकेपछि प्याक गरेर बेच्नका लागि तयार पारिन्छ,’ अङ्‌ग्याले भने, ‘मुस्ताङमा स्याउको सुकुटी यति नै परिमाणमा बन्छ भन्ने तथ्यांक त खासै भएको जस्तो लाग्दैन। लगभग घर-घरै सुकुटी बनाएर बिक्री गरिन्छ।’

कृषकहरूका अनुसार तयारी सुकुटीलाई प्रति एक सय ग्रामको ८०/९० रुपैयाँमा बिक्री गर्ने गरिएको छ। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक सबैले मुस्ताङको प्राकृतिक स्वादको सुकुटी किनेर फर्किने गरेका छन्। घुम्न गएका धेरैले आफ्नो ठाउँमा फर्किँदा परिवार र छिमेकीलाई पनि स्वाद चखाउन भन्दै सुकुटी किन्ने गरेको कृषक केशर गुरुङको भनाई छ। 

सुकुटी बनाउन प्रयोग नगरिएका स्याउबाट मदिरा तयार पारिन्छ। मुस्ताङे स्याउबाट बनेको मदिरा पनि घुम्न जानेहरूले खरिद गर्ने गरेका छन्। अखाद्य वस्तुको प्रयोग नगरी सफा तरिकाले बनाइएको स्याउको मदिराको स्वाद र नशा फरक हुने भएकोले मदिरा नपिउनेले समेत अरूको लागि मुस्ताङको मदिरा उपहारका रूपमा किन्ने गरेको व्यपारीहरू बताउँछन्। 

मुस्ताङका अधिकांश ठाउँमा स्याउ फल्छ भने मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङ लगायतका ठाउँ स्याउ उत्पादनमा अगाडि छन्।

मुस्ताङका कृषकहरूले व्यापारिक प्रयोजनको लागि नभई घरमै प्रयोग गर्नका लागि टमाटरको सुकुटी पनि बनाउने गरेका छन्।

कृषकहरूका अनुसार यो बेलामा मुस्ताङमा टमाटरको उत्पादन राम्रो हुन्छ, तर हिउँदमा टमाटर नपाइने भएकोले सुकुटीका रूपमा तयार पारेर भण्डारण गरेर हिउँदका लागि जोहो गर्ने गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.