|

दाङ : लुम्बिनी प्रदेशको राजधानी बनेको दाङको भालुबाङ बजारको स्वरुप नै फेरिएको छ। बुधबार  नेपालको झन्डाहरु लगाइएको छ,भने स्वागतद्वारसमेत  बनाइएको छ।

साथै उत्सव तथा स्वागत कार्यक्रम गरिएको छ। अहिले प्रदेश ५ (लुम्बिनी) को राजधानी दाङमा आइसकेपछि भालुवाङका नागरिक धेरै खुसी छन्। तर, राजधानीसँगै भौतिक पूर्वाधारसँगै त्यहाँ रहेका स्थानीयका समस्या समाधान कहिले हुन्छ भन्ने पखाइमा छन्।

कतिपय नागरिकलाई भौतिक पूर्वाधार विकासको चिन्ता छ। उद्योगी ब्यवसायलाई औद्योगिक विकासको चिन्ता छ, भने लालपुर्जा नभएकालाई लालपुर्जाको चिन्ता छ। त्यति मात्र नभई विद्यार्थीलाई सुविधा सम्पन्न स्कुल तथा कलेजको चिन्ता छ।

यस्तै, समस्याको समाधान भालुवाङका नागरिकहरुले चाहेका छन्। स्थानीय रत्ना श्रेष्ठले स्थायी राजधानी भालुवाङमा भनेर नपुग्ने भन्दै २०३४ सालदेखि बसोबास गर्दै आएका यहाँका नागरिकहरुलाई लालपुर्जाको ब्यवस्थादेखी धेरै कामहरु गर्नुपर्ने उनले बताइन्। ‘भालुबाङ व्‍यापारी केन्द्र बनेको छ। तर अहिलेसम्म हातमा लालपुर्जा छैन्,’ उनले भनिन्,‘ हामीले यहाँ राजधानी आउँछ, भनेर पनि बसेका होइनौँ। तर अब सबै समस्या समाधन हुन्छ भन्ने विश्वास छ।’

त्यस्तै, अर्का स्थानीय दशरथ घिमीरेले लुम्बिनी प्रदेशको राजधानी दाङ बनेकोमा सबै खुशी भएको बताए। उनले राजधानी तोकिए पछि यही ठाउँबाट सेवा दिनु पर्ने बताए। ‘राजधानी त दाङको भालुवाङ भयो , तर यहाँ अहिले  भौतिक संरचना छैनन् भने, पुरानै ठाउँबाट सेवा दिए। त्यो राजधानी कागजमा मात्र हुन सक्छ,’उनले भने,‘ त्यसैले नयाँ ठाउँमा आएको राजधानीसंगै भौतिक संरचनाहरु पनि सँगसँगै बनाउनुपर्छ। ’ यस ठाउँमा राजधानी  भएको हुँदा अब यस ठाउँको मुहार फेरिनेसमेत उनले बताए।

धेरै कुराहरूको सुधार हुने विश्‍वास

त्यस्तै, अर्की स्थानीय गीता न्यौपानले अब यस ठाउँको धेरै कुराहरु सुधार हुनेमा विश्वस्त रहेको बताइन्।  शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको विकास हुने र जसले गर्दा यहाँका किसानका छोराछारीहरु उच्च शिक्षाको लागी बाहिर जान बाध्यता हट्ने समेत उनले बताइन्।

त्यसैगरी, प्रदेशको राजधानी दाङको भालुबाङमा हुँदा  प्रदेश सरकारले सबै जनतालाई न्याय गरेको जस्तो भएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए। त्यसैगरी उनले प्रदेशको राजधानी भएको ठाउँले मात्र नभई प्रदेशका नाम लुम्बिनी  हुँदा १२ वटै जिल्लाका जनतामा खुसियाली छाएको समेत बताए।

‘अहिले दंगालीलाई भाँडा बनाउन काँचो माटो दिएको र यसबाट कस्तो भाँडा कति राम्रो बनाउने भन्ने चुनौती थपिएको छ,‘ उनले भने।

असोज २० गते नाम र स्थायी राजधानीबारे प्रदेशसभाबाट बहुमतले पारित भयो। अब काम कसरी गर्ने भन्नेमा सांसद लागेको र एक वर्षभित्रै डिपिआर गरी काम अगाडि बढाउने प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए।

‘एक वर्षभित्र गुरुयोजना तयार हुन्छ, अर्को वर्षबाट भौतिक पूवार्धार निर्माण हुन्छ,’उनले भने, ‘स्थायी राजधानी निर्माण गरिसकेपछि मुख्यमन्त्री पोखरेलले भने जस्तै नयाँ आधुनिक शहर बन्नेछ। प्रशासन क्षेत्र, शिक्षा, होटल, स्वास्थ्य, ब्यापार,ब्यवसाय, पर्यटक, कृषि जस्ता क्षेत्रहरुलाई ब्यवस्थित बनाएर निर्माण हुन्छ।’

 १२ वटै जिल्लालाई पायक पर्ने दाबी

त्यस्तै, प्रदेदसभा सदस्य दामा शर्माले करिब ३ वर्ष पछाडि १२ वटै जिल्लाका नागरिकहरुलाई पायक पर्ने ठाउँमा प्रदेशको राजधानी भएको बताइन्। ‘प्रशासनिक सुगमता, सबैको हात-हातमा सत्ता, सबैलाई सम्बृद्धि दिनको लागि यो ठाउँमा आइपुगेका छौँ,’उनले भनिन्,‘ दाङको भालुबाङमा आइपुग्दा सबैले मेरो प्रदेश भन्ने फिल गर्नुभएको छ। त्यसैबाट सबैलाई धेरै ऊर्जा र उत्साह थपिएको छ।’

त्यसैगरी, सांसद शर्माले प्रदेशका ६ वटा उपमहानगरलाई मिलाएर ३ वटा महानगरपालिका बनाउने मेगा सिटीको अवधारणा प्रदेश सरकारले लिएको समेत बताइन्। त्यसैगरी प्रदेश सकारले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रहरुमा समानुपाति र समन्यायिक हिसाबले विकास गर्दै आएको समेत उनको भनाइ छ।

त्यसैगरी उनले भालुवाङको विकासमा धेरै समय नलाग्नेसमेत बताइन्। उनले भनिन्, ‘अहिले राजधानी तोकिएको ठाउँमा कास फूलेर सेताम्मे बनेको छ। राप्तीको दुईतिरको किनारलाई तटबन्ध गरी हरियाली क्षेत्र निर्माण गरेर र त्यसको बचेको ठाउँमा राजधानी बनाउने भनेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.